ब्यांकिङ प्रणालीको तरलतामा केही सुधार, पुसको तीन सातामा कर्जाको तुलनामा निक्षेप वृद्धि
लगानीयोग्य कर्जा रकम अभाव खेप्दै आएका वाणिज्य ब्यांकमा तरलताको स्थितिमा केही सुधार आएको छ।
नेपाल ब्यांकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार, पुसमा ब्यांकबाट बाहिरिने रकमका तुलनामा भित्रिने रकम धेरै छ। २३ पुससम्म ब्यांकहरूमा रु. ७० अर्ब निक्षेप थपिएको छ भने कर्जा रु. २४ अर्बले मात्रै बढेको छ।
कर्जाका तुलनामा निक्षेप ज्यादा थपिएपछि ब्यांकहरूको तरलताको चापको स्थिति सुधारतिर गएको हो। पछिल्ला महीनामा ब्यांकिङ प्रणालीमा लगानीयोग्य कर्जा रकमको अभाव चर्किएको थियो। ब्यांकहरूसँग लगानीयोग्य रकमको अभाव भएपछि ब्यांक तथा वित्तीय संस्थामा जानेहरूले ऋण पाउनै मुस्किल पर्दै आएको छ।
नेपाल राष्ट्र ब्यांकले आयातमा कडाई गरेपछि तथा बजारमा विभिन्न उपायले रकम प्रवाह गरेका कारण तरलताको स्थितिमा सुधार आएको पूर्व ब्यांकर परशुराम कुँवर क्षेत्रीको भनाइ छ। उनले केही दिन अगाडिसम्म ९२ प्रतिशत हाराहारीमा रहेको सीडी रेसियो (कर्जा-निक्षेप अनुपात) २१ पुससम्म आउँदा ९० प्रतिशतभन्दा तल ओर्लिएको पनि उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
ब्यांकर्स संघका अनुसार, २३ पुससम्म वाणिज्य ब्यांकहरूले रु. ४३ खर्ब ७ अर्ब निक्षेप जम्मा गरेर रु. ४१ खर्ब ८ अर्ब कर्जा प्रवाह गरेका छन्।
पुस मसान्तमा सरकारको राजस्व बुझाउनुपर्ने कारणले गर्दा यो साता भने ब्यांक तथा वित्तीय संस्थाको निक्षेप केही घट्ने अनुमान गरिएको छ। तर, अब क्रमशः सरकारी पुँजीगत खर्च बढ्दै जाने हुँदा तरलताको चाप घट्दै जाने सरकारी अधिकारीहरूको भनाइ छ।
सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पनि माघपछि तरलताको स्थिति सहज हुने बताएका छन्।