कहिले गुड्ला जनकपुरको रेल?
भारतबाट किनेर जनकपुर ल्याएको एक वर्ष बितिसक्दा पनि रेल सञ्चालनको चाँजोपाँजो मिलेको छैन।
जयनगर-बर्दिवास रेल्वे खण्डको कुर्थासम्म रेल्वेको सम्पूर्ण संरचना तयार भएको भएको छ। रेल खरीद गरेर ल्याएको पनि एक वर्षभन्दा बढी भइसकेको छ। तर, रेल कहिले सञ्चालन हुन्छ?
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरन्जन झा भन्छन्, “छिट्टै चल्छ।” रेल्वेका अधिकारीले छिट्टै चल्छ भन्न थालेको पनि एक वर्ष भइसकेको छ।
किन ढिलाइ भइरहेको छ? यसको जवाफ महाप्रबन्धक झासँग पनि छैन। उनी भन्छन्, “रेल्वे सञ्चालन र उद्घाटनको जिम्मेवारी दुई देशको उच्च कूटनीतिक माध्यमबाट नै हुने भएकाले हामी यति मात्र भन्न सक्छौं, रेल्वे संचालनमा हुन्छ।”
यो रेल दुई वर्षअघि नै खरीद भएको थियो। खरीद भएको एक वर्षपछि कुर्थासम्म ल्याएर परीक्षण गरिएको थियो। सबै प्राविधिक विषय पूरा गरेर नेपाल सरकारलाई जिम्मा लगाइएको छ। त्यसयता रेल जनकपुरमै थन्किएको छ।
अहिले नेपालसँग रेल चलाउने प्राविधिक छैनन्। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महाप्रबन्धक नियुक्त भएका गुरु भट्टराईले १५० जना कर्मचारी नियुक्त गरेको थियो। ति सबैको नियुक्त खारेज गरी अहिले ६० जना कर्मचारी नियुक्त गरिएको छ। उनीहरूलाई तालिम दिन लागिएको रेल्व कम्पनीले जनाएको छ।
जसमा २६ भारतीय र ३४ नेपाली छन्। अहिले लो प्यालट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट गरी तत्काल ६० कर्मचारीलाई तालिम दिन लागिएको जनाइएको छ।
कानूनी जटिलताका कारण समस्या देखिएपछि अध्यादेश मार्फत त्यसलाई फुकाएर कर्मचारी नियुक्त गरिएको कम्पनीले जनाएको छ। महाप्रबन्धक झाले रेज सञ्चालनका लागि सबै तयारी भइरहेको बताए। “१० फेब्रुअरीभित्रै रेल गुडाउने हाम्रो तयारी छ,” झाले भने, “रेलको इन्जिनको अवस्था, रेल्वे ट्रयाकको अवस्था आदि परीक्षणका लागि रेल गुडाइएको छ। सबै ठीक देखिएको छ।” २३ पुसमा रेल्वे कम्पनीले फेरि परीक्षण गरेको हो।
कम्पनीले सबै तयारी पूरा गरेको भए पनि मिति भने नेतृत्व तहबाट निक्र्योल हुने उनको भनाइ छ। “दुई देशबीच सहमतिपछि रेल गुडाउने मिति तय हुन्छ,” उनले भने, “दुई देशको प्रधानमन्त्रीले नै रेलको उद्घाटन गर्ने भएकोले समय लागेको हो।”
१९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लग्नका लागि रेल्वे लाइन विस्तार गरेको थियो। त्योवेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो।
पछि भारत सरकारले १८ वटा बगी सहित वाष्प इन्जिन सहयोग गरेको थियो। २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल संचालनमा आएको थियो। २०६१ माघ रेल बन्द भएको थियो।
अहिले नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ। त्यसअनुसार, तयारी गरिएको छ। पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्ने योजना रहेको महानिर्देशक बलराम मिश्रले बताए।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ। परियोजनाको प्रथम चरणमा जयनगर-कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ।
जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम चलिरहेको छ।