सरकारी कार्यालय, ब्यांक तथा होटलमा जाँदा खोप लगाएको प्रमाणपत्र अनिवार्य
कोभिड-१९ को संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा जाँदा खोप लगाएको प्रमाणपत्र देखाउनु पर्ने व्यवस्था गरेको छ।
आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले सार्वजनिक स्थलमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने निर्णय गरेको हो। ३ माघबाट लागू हुने गरी यस्तो निर्णय गरिएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले बताइन्।
उनका अनुसार होटल, रेस्टुरेन्ट, सपिङ मल, ब्यांक तथा सरकारी कार्यालय लगायतका सार्वजनिक स्थलमा जाँदा खोप लगाएको प्रमाणपत्र देखाउनु पर्नेछ। खोप पर्याप्त मात्रामा भए पनि लगाउनेको संख्या कम रहेकाले यस्तो निर्णय गर्नु परेको उनको भनाइ छ।
“खोप लगाएको प्रमाणपत्रको फोटोकपि वा मोबाइलमा फोटो देखाउन सकिनेछ,” उनले भनिन्। यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सिफारिश गरेको छ।
त्यस्तै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ। सम्भावित तेस्रो लहरबाट जोगिन सभा, समारोह, भेलामा भीडभाड गर्न रोक लगाउनु परेको उनको भनाइ छ।