१५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सरकारले देशभरका विद्यालय तीन साता बन्द गर्ने निर्णय गरेको छ।
आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण रोक्नका लागि विद्यालय बन्द गर्ने निर्णय भएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले बताइन्।
बालबालिका सबैले खोप लगाउन नपाएकाले अहिले १५ माघसम्मका लागि विदा गर्ने निर्णय भएको उनले जानकारी दिइन्। “अहिले देशभर विद्यालय बन्द गर्ने निर्णय गरेका छौं। कुनै स्थानीय तहले संक्रमण छैन भनेर समन्वय गरेमा विद्यालय सञ्चालन गर्न पाइनेछ,” उनले भनिन्।
केही दिनयता देशभर कोरोना संक्रमण बढेको छ। त्यससँगै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको पनि संक्रमण देखिएको छ।
आज देशभर ११६७ जनामा संक्रमण पुष्टि भएको छ। शनिबार ९४४ जनामा कोरोना देखिएको थियो।