‘संविधानमाथि बारम्बार आक्रमण भइरहेको छ’
‘अहिले लोकतान्त्रिक गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशिता छ। लोकतन्त्रको यत्रो ठूलो आँगन छ, जसमा सबैले खेल्न पाउँछन्।’
म देशमा राणाकाल भएको वेला जन्मिएँ। पञ्चायती व्यवस्था भोग्दै लोकतन्त्रमा आए। अहिले गणतान्त्रिक व्यवस्थामा छौं। यहाँसम्म पुग्न, दुइटा धार- कांग्रेस र कम्युनिष्टको भूमिका छ।
दोस्रो विश्वयुद्धपछि जुन वेला संसारमा परिवर्तन लहर चलेको थियो, उपनिवेशनवाद पछाडि हट्दै थियो, त्यही वेला नेपालमा कांग्रेस र कम्युनिष्ट पार्टीको स्थापना भयो। नेपाली समाजलाई कसरी परिवर्तन गर्ने भन्दै दुवै धार अगाडि बढ्दै गए। फलस्वरूप २००७ सालको क्रान्ति, २०४६ को जनआन्दोलन, २०६२-६३ परिवर्तन हुँदै हामी यहाँसम्म आएका छौं।
यी दुवै धारले नेपाललाई, नेपाली समाजलाई यहाँसम्म ल्याए। दुवै धारले ल्याएको लोकतान्त्रिक गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशिता छ। लोकतन्त्रको यत्रो ठूलो आँगन छ, जसमा सबैले खेल्न पाउँछ। त्यो जुनसुकै विचारको होस्।
आखिर मार्क्सवाद किन? अन्य वाद किन? समाजलाई परिवर्तन गर्दै, राष्ट्रलाई व्यवस्थापन गर्दै अगाडि बढ्न। नेपाली समाजलाई उन्नत समाज बनाउन, सभ्य समाज बनाउन होला।
अहिले हामीले जुन व्यवस्था ल्याएका छौं, त्यसलाई व्यवस्थित गर्दै लोकतान्त्रिक समाजवादतर्फ जानु छ। जुन हामीले संविधानमा पनि लेखेका छौं।
यो संविधानमाथि बारम्बार आक्रमण भइरहेको छ, यो चार वर्षमा। त्यसमा पनि एक वर्षदेखि दुई-दुई चोटि संविधानमाथि आक्रमण भएको छ। सदनमाथि आक्रमण भएको छ। प्रधानमन्त्री, राष्ट्रपति लगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे। राजनीतिक दल कहाँ-कहाँ गए? के-के भयो? त्यो विषय होइन।
म भन्न चाहन्छु- जुन संस्था खडा गरेका छौं, ती संस्थालाई पौष्टिक आहार दिने, मजबूत बनाउने हाे।लोकतन्त्रका तीन वटा संस्था जुन पिलर हुन्, तिनमा बारम्बार प्रहार गरियो। पाँच वटा पार्टीले, नागरिक समाजले, बुद्धिजीवीले, नेपाली जनताले, अदालतले त्यसलाई कुनै न कुनै प्रकारले बचाए ।
त्यो न्यायालयलाई अहिले कसरी ‘होस्टेज’ बनाएको छ! अदालतको त्यो स्थिति छ, संसद्को त्यो स्थिति छ।
यो व्यवस्थालाई बचाएर हामीले लग्ने कि नलग्ने? यहाँ राष्ट्रपतिको के कर्तव्य छ? सरकारको के कर्तव्य छ? सरकार प्रमुखको दायित्व छ। राजनीतिक दलहरूलाई एक ठाउँमा राखेर, छलफल गरेर कसरी अदालत चलाउने? कसरी संसद् चलाउने?
सम्पूर्ण समस्याको सम्बोधन गर्ने थलो त्यही संसद् हो। त्यसलाई बन्धक बनाएर राखिएको छ। त्यसलाई सञ्चालन गर्न राष्ट्रपतिको कर्तव्य के छ? सरकारको कर्तव्य के छ? राजनीतिक दलको कर्तव्य के छ? नागरिक समाजको कर्तव्य के छ? तपाईं-हामी सर्वसाधारण नेपाली जनताको कर्तव्य के छ? त्यो कर्तव्य निर्वाह गर्ने कि नगर्ने?
यो सबैलाई व्यवस्थापन गरेर उन्नत समाज बनाउन, समाजवादतर्फ लग्न कोशिश गर्ने कि नगर्ने? त्यही चिन्ता छ।
म राष्ट्रपति भएको वेला चन्द्रदेव जोशीजीलाई बोलाएर, अरू नेताहरूलाई बोलाएर छलफल गर्थें। कसरी जाने? कसरी पार्टीहरूलाई मिलाउने? कसरी संविधान बनाउने? कसरी देशमा शान्ति स्थापना गर्ने? कसरी हतियार व्यवस्थापन गर्ने? कसरी अगाडि बढ्ने? सबै विषयमा छलफल गर्थें।
अहिले राजनीतिक पार्टीहरूमा पनि विचलन आएको छ। त्यो कम्युनिष्ट होस् कि कांग्रेस वा अरू पार्टी हुन, विचलन देखिन्छ, भ्रष्टीकरण भएको छ। जुन नेताहरूको चालचलन छ, त्यससँग नेपाली समाज सन्तुष्ट छैन, म पनि सन्तुष्ट छैन।
म भन्छु, जोशीजीको सादगी, सरल जीवन, इमानदारीबाट केही सिकौं।
(पूर्व राष्ट्रपति यादवले चन्द्रदेव जोशीको पुस्तक मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन लोकार्पण कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश।)