महाभारा: 'युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा'
पत्रकार एवं लेखक बसन्त बस्नेतको नयाँ उपन्यास ‘महाभारा’ लोकार्पण गरिएको छ।
काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित कार्यक्रममा लेखक बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरिन्।
कार्यक्रममा पुस्तकबारे बोल्दै कवि उपेन्द्र सुब्बाले युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको बताए। सुब्बाले भने, “मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो।”
कार्यक्रममा लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारुले संवाद गरिन्। कोभिड-१९ महामारीपछिको बन्दाबन्दीमा पाएको समयमा उपन्यास लेखनलाई गति दिएको बस्नेतले बताए। उनले भने, “एउटा कथानक धेरै अघिदेखि हृदयमा गुम्सिरहेको थियो, जुनसुकै वेला ल्यापटपमा तप्किन तयार।”
संवादमा रिदम कँडेलले साङ्गीतिक प्रस्तुति दिएका थिए। कँडेलको प्रस्तुतिपछि कवि नवराज पराजुलीले कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा लोचन रिजालले साङ्गीतिक प्रस्तुति दिएका थिए। त्यस्तै, गायिका झुमा लिम्बू र उनको रैथाने समूहले पुस्तकमा आधारित भएर साङ्गीतिक प्रस्तुति राखेको थियो। त्यस्तै, टोमस कारोस्को र मनीष गन्धर्वको पनि प्रस्तुति थियो।
प्रकाशन संस्था फाइनप्रिन्टका अजित बरालले स्मरणीय पात्रहरू, हास्यरसको प्रचुरता र नेपाली आख्यानमा विरलै पाइने संवादले ‘महाभारा’लाई पछिल्लो समयमा प्रकाशित राम्रा आख्यानको पङ्क्तिमा दरिलोसँग उभ्याउनेमा आफू विश्वस्त रहेको बताए।