नयाँ संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामै
आज थपिएका कोरोनाभाइरस संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना देखिएको छ। त्यसमध्ये काठमाडौं उपत्यकामा ४८१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, देशभर थपिएका संक्रमितमध्ये एक तिहाइृभन्दा बढी काठमाडौंमा पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३६२, ललितपुरमा ९२ र भक्तपुरमा २५ जनामा कोरोना देखिएको छ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। शनिबारसम्म सक्रिय संक्रमितको संख्या काठमाडौंमा एक हजार ६७६, ललितपुरमा ७२३ र भक्तपुरमा ५७६ रहेको छ।
काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी कञ्चनपुरमा ५१ जनामा संक्रमण देखिएको छ। जसमध्ये अधिकांश भारतबाट आएका नागरिक रहेका छन्।
त्यस्तै, कास्की २०, मोरङमा १६, मकवानपुरमा १३, कैलाली १० र पर्सामा १० जनामा संक्रमण पुष्टि भएको छ। योसँगै देशभर रहेका सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ।