आज १३ हजार स्वाब परीक्षण गर्दा ९४४ मा कोरोना
केही दिनदेखि बढ्दै आएको कोरोनाभाइरस संक्रमितको संख्या आज पनि उकालो लागेको छ। परीक्षण घटे पनि त्यस अनुपातमा संक्रमितको संख्यामा कमि आएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार २६४ स्वाब परीक्षण गर्दा ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार १४ हजार ९७१ स्वाब परीक्षण गर्दा ९६८ जनामा कोरोना देखिएको थियो।
शनिबार ९ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ६९६ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, ३ हजार ५०२ जनाको एन्टिजन परीक्षण गर्दा २४८ जनामा पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको ज्यान गएको छ। अहिलेसम्म कोरोनाबाट ११ हजार ६०२ जनाले ज्यान गुमाएका छन्।
शनिबार २९७ जना निको भएका छन्। अहिलेसम्म निको हुनेको संख्या आठ लाख १४ हजार ६ पुगेको छ।
त्यस्तै, आज देशभर दुई लाख ४३ हजार ४६० जनाले खोप लगाएका छन्। योसँगै एक करोड ५० लाख ३७ हजार ६५५ जनाले पहिलो डोज लगाएका छन्। पूर्ण खोप लगाउनेको संख्या पनि एक करोड ११ लाख ११ हजार ४६८ पुगेको छ।