राजकीय सत्ता र धर्म
नेपाली सत्तालाई सधैभरि एउटै धर्मलाई काखी च्यापेको आरोप पछिल्ला दिन लाग्दै आए पनि शासकहरू स्वयं चाहिं कहिल्यै धर्मप्रति निष्ठावान् देखिएनन्। बरु धर्मलाई आफ्नो स्वार्थ अनुकूल गिजोलिरहने ‘अधार्मिक’ कृत्य गरिरहे।
परापूर्व कालदेखि जबसम्म पश्चिमी रहनसहनको प्रभाव परेन तबसम्म धर्मको नियम अनुसार नेपाल राज्य चलेको थियो भन्ने आम धारणा छ। तर, इतिहासको सुदीर्घ कालमा धार्मिक नियमको प्रतिकूल गएर पनि राजकीय सत्ताले काम गरेको नपाइने होइन। यस विषयमा लामै शोध गर्न सकिने भए पनि अहिलेका लागि दृष्टान्तका रूपमा एउटा सानो लेख लेखी चित्त बुझाएको छु।
~~~ ~~~ ~~~
अनुश्रुतिलाई सयौं सय वर्षपछि लिपिबन्ध गरिएको नेपालको इतिहासलाई मान्ने हो भने तात्कालिक लिखित इतिहास भएको लिच्छविवंशले नेपालमा राज्य गर्न थाल्नुभन्दा अगाडि तीन थरी वंशले क्रमशः राज्य गरेको देखिन्छ। तिनमा पहिलो गोपालवंश, दोस्रो महिषपालवंश र तेस्रो चाहिं किरातवंश हो। गोपाल भनेको गाई पाल्ने र महिषपाल भनेको भैंसी पाल्ने भन्ने भएकाले अघिल्ला दुई राजवंश पशुपालनसँग सम्बद्ध रहेको कुरा तिनीहरूको वंशनामबाटै थाहा हुन्छ। अहिले पनि काठमाडौंमा ज्यापू जातिको भेदविशेषमा सापु अर्थात् गोपाल र मेय्पु अर्थात् महिषपाल भएको कुरा यस प्रसङ्गमा सम्झन पुगिन्छ।
वर्णव्यवस्था अनुसार पशुपालकहरू सामान्यतया वैश्यवर्णमा पर्ने हुनाले नेपालका दुई आदिम राजवंश वैश्य रहेछन् कि भन्ने देखिन आएको छ। वंशावली अनुसार गोपालवंशका राजाहरू क्रमशः आठ जना भए र उनीहरू सबैको नाउँमा गुप्त जोडिएको देख्दा पछि लिच्छवि शासनमा राजाहरूका भारदार भई उदाएका गुप्तहरू क्रमशः राजा जस्तै भएको कुराको सम्झना आउँछ। ती गुप्तहरू वैदिक यज्ञयागादि गर्ने भए पनि तिनीहरूमध्ये कसैकसैको नाउँमा ‘गोमी’ शब्द जोडिएको र त्यसको अर्थ ‘गाई भएको’ भन्ने हुनाले तिनीहरू मूलतः गोपाल नै हुन् भन्ने देखिन्छ।
गोपालवंशलाई हराई महिषपालवंशले राज्य गरेको र ती महिषपालहरू तीन जना राजा भएको कुरा वंशावलीमा लेखिएको छ। गोपालवंशीहरूको नाउँको पछाडि ‘गुप्त’ जोडिए जस्तै महिषपालहरूको नाउँको पछाडि ‘सिंह’ जोडिएको कुरा पनि यहाँनिर भन्नुपर्छ। शास्त्रीय वचन (उदाहरणका लागि, विष्णुपुराण २।१०।८-९) अनुसार ब्राह्मणको नाउँमा शर्मा, क्षत्रियको नाउँमा वर्मा, वैश्यको नाउँमा गुप्त र शूद्रको नाउँमा दास जोड्ने नियम भएकाले पशुपालन गर्ने गोपालवंशीलाई हामीले वैश्य भनेको कुराको पुष्टि उनीहरूको नाउँमा ‘गुप्त’ जोडिएकोबाट पनि हुन्छ।
हिषपालवंशलाई हराई ३२ जना किरात राजाले क्रमशः राज्य गरेको कुरा वंशावलीमा लेखिएको छ। किरातहरू वर्णव्यवस्थाभन्दा बाहिरका भएकाले उनीहरूको जातिको विषयमा लेख्नुपरेन। गोपालवंशी र महिषपालवंशी राजाहरूको नाम पूरै संस्कृत भाषाको र किरातहरूको चाहिं संस्कृतभन्दा पूरै फरक भाषाको भएको पनि यहाँनिर सम्झनुपर्छ।
यसरी नेपालको इतिहासको प्रारम्भदेखि नै क्षत्रिय राजा हुने भन्ने धर्मशास्त्रीय व्यवस्थाको पालन नभएको देखा पर्छ। किरातपछि नेपालमा राज्य गर्ने लिच्छविहरूले आफूलाई सूर्यवंशी रघुवंशी भन्ने दाबी गरे पनि उनीहरूलाई धर्मशास्त्रको सर्वमान्य ग्रन्थ मनुस्मृति (१०।२२) ले व्रात्य क्षत्रियका सन्तान मानेको कुरा यहाँनिर भन्नुपर्छ। व्रात्य क्षत्रिय भनेको जात्युचित संस्कार नभएको क्षत्रिय हो।
त्यसै गरी लिच्छविपछि नेपालमा राज गर्ने मल्ललाई पनि मनुस्मृतिले त्यही श्रेणीमा राखेको स्मरणीय छ। यति मात्र होइन, पश्चिम नेपालको सिँजामा राजधानी खडा गरी नेपालमा आफ्नो राज्यलाई साम्राज्य भनी दाबी गर्ने एक मात्र वंश पनि नेपालखाल्डोमा मूल अर्थात् राजधानी भएको मल्लवंश जस्तै मल्ल नै थियो। अझ, तिनीहरूको नाउँमा थरको रूपमा पछि ‘मल्ल’ जोडिए पनि पहिले ‘चल्ल’ जोडिने गरेको थियो। त्यो ‘चल्ल’ मनुस्मृतिमा व्रात्य क्षत्रियका सन्तानमा गनिएको ‘झल्ल’ को अल्पप्राणीकृत रूप हो भनी मैले अन्त लेखिसकेको छु।
हुँदा हुँदा, पश्चिम नेपालका ती मल्लहरू तिब्बती मूलका हुन् भन्ने कुरा उनीहरूको अभिजन अर्थात् मूल थलो पश्चिमी भोट भएको, उठानउठानका ती राजाहरूको नाउँ पनि तिब्बती भाषामा भएको र पछिसम्म पनि त्यस वंशका राजाहरू तिब्बती बौद्ध धर्मका उपासक भएकोबाट बुझिन्छ। यति भन्नाको मतलब गोपालदेखि मल्लवंशसम्मको शुद्ध क्षत्रियत्व प्रमाणित गर्न हामीसँग साधन छैन भन्ने हो।
गोरखाली राजाहरूले आफूलाई राजस्थानबाट आएका रजपूत भन्ने दाबी गरे पनि त्यो दाबी प्रमाणकोटीमा त्यति चढ्न सकेको छैन। गोरखाली राजालाई पछि कठपुतली बनाएर राजकाज अँठ्याउने कुँवरवंशले आफूलाई गोरखाली शाह जस्तै रजपूत साबित गर्न शाह राजाबाट लालमोहर गराएर लिए पनि त्यो वंश ठकुरी हो भनी सिद्ध गर्न झनै गाह्रो छ।
यति भन्नाको मतलब के हो भने, शुद्ध क्षत्रियवंशमा जन्मेको नै राजा हुनुपर्छ भन्ने धारणा नेपालमा त्यति दरो नभएको स्पष्ट देखिन्छ।
~~~ ~~~ ~~~
पाश्चात्त्य भावनाले जरो गाड्नुभन्दा अगाडि यहाँ धर्मको दुहाई निकै दिइन्थ्यो। मूलतः शैव मार्ग अर्थात् अहिलेको भाषामा हिन्दू धर्म र बौद्ध मार्गका अनुयायीमा प्रजाहरू बाँडिएका थिए। राजाहरू विष्णु वा शिवका भक्त भए पनि बौद्ध धर्मको विषयमा उनीहरू अनुदार थिएनन् भन्ने कुरा उनीहरूले बौद्ध धर्मका लागि दानदातव्य गरेको र कुनै कुनै राजाको नाउँमा विहार नै खडा गरिएकोबाट थाहा हुन्छ। अलि पछिल्ला राजालाई त ‘धर्मनिधिद्वयैकजलधि’ अर्थात् ‘दुवै धर्मरूपी रत्न अटाएको एउटा समुद्र (शैव र बौद्ध धर्म मान्ने)’ भनी लेखिएको छ।
नेपालमा कहिल्यै धार्मिक कलह भएन भन्ने व्यापक प्रचार छ र त्यही प्रचार हाम्रा पाठ्यपुस्तकमा पनि प्रतिबिम्बित छ। वस्तुस्थिति भने यसको उल्टो छ। जमीनमुनि खनेर निकालिएका ध्वंसावशेष अर्थात् आजभोलिको भाषामा उत्खनन र पुस्तौं पुस्तादेखि चलेर आएका अनुश्रुतिको वास्ता नगरे पनि लिखित प्रमाणको आधारमा भन्ने हो भने धार्मिक द्वन्द्व भएको थाहा नहुने होइन।
ढुङ्गे खामोमा कुँदिएका, सम्राट् अशोक (आसन्न राज्यकाल वि.पू. २११-१७५) का अभिलेख नगन्दा नेपालभूमिमा पाइएको सबभन्दा पुरानो अभिलेख राजा जयवर्माको शालिकको पादपीठमा कुँदिएको {शक}संवत् २०७ तदनुसार विसं ३४२ को अभिलेख हो। त्यो अभिलेख ऐहलौकिक अर्थात् आजभोलिको भाषामा धर्मनिरपेक्ष भएकाले त्यसबाट यहाँको धार्मिक स्थितिमा केही प्रकाश पर्दैन। त्यसपछि झण्डै पौने दुई सय वर्षको अन्तरालमा पशुपतिको पटाङ्गिनीमा राखिएको, {शक}संवत् ३८१ तदनुसार विसं ५१६ को, ढुङ्गे खामोमा कुँदिएको अभिलेखबाट चाहिं त्यो अभिलेख शैव धर्मसँग सम्बद्ध देखिन्छ। तर, त्यो अभिलेख धेरै ठाउँमा फुटिसकेकाले सबै कुरा स्पष्ट छैन।
यसपछि {शक}संवत् ३८६ तदनुसार विसं ५२२ देखिका अभिलेखबाट तात्कालिक नेपालमा वैष्णव, शैव, बौद्ध र शाक्त मतको प्रचलन देखिन्छ। तर, यहाँनिर सम्झनुपर्ने कुरा के छ भने, वैष्णव र शैव जस्तो बौद्ध र शाक्त मतको उपासना गद्दीनशीन राजा र राजपरिवारले गरेको देखिएको छैन। तर, बौद्ध मत निकै प्रबल थियो भन्ने कुराको अनुमान हाँडिगाउँको सत्यनारायणको मन्दिरमा राखिएको ढुङ्गे खामोमा कुँदिएको, वैष्णव धर्मका अनुयायी अनुपरमले रचेको द्वैपायनस्तोत्र अर्थात् महाभारतका कर्ता वेदव्यासको स्तोत्रमा बौद्धहरूको तीव्र निन्दा गरेकाले बुझ्न सकिन्छ।
‘कुमति अर्थात् खराब बुद्धि भएका, अंहसावृत अर्थात् पापले ढाकिएका, कुतार्किक अर्थात् खराब तर्क गर्ने सौगत अर्थात् बौद्धहरूबाट बाधा पुगेको वेदले जताततै वचन फैलिएको हजुर प्रभुमा नदीले समुद्रमा आश्रय पाए जस्तै आश्रय पाएको छ’
यस अभिलेखमा तिथिमिति नभए पनि अनुपरम परलोक भएपछि उनकी पत्नीले पतिको उद्धारका लागि पतिको नाउँको पछाडि ईश्वर शब्द जोडी अनुपरमेश्वर नाउँले स्थापना गरेको शिवलिङ्ग {शक}संवत् ४६२ तदनुसार विसं ५९८ को भएकाले अनुपरमको अभिलेख त्योभन्दा केही अगाडिको हो भन्न सकिन्छ। ‘कुमति अर्थात् खराब बुद्धि भएका, अंहसावृत अर्थात् पापले ढाकिएका, कुतार्किक अर्थात् खराब तर्क गर्ने सौगत अर्थात् बौद्धहरूबाट बाधा पुगेको वेदले जताततै वचन फैलिएको हजुर प्रभुमा नदीले समुद्रमा आश्रय पाए जस्तै आश्रय पाएको छ’ भनी त्यहाँ लेखिएको कुरा यसको एउटा दृष्टान्त हो।
यता वैष्णव र शैव मतमा पनि कम कलह थिएन। त्यसैले ती दुई सम्प्रदायमा मेल गराउन आधा विष्णु र आधा शिव जोडेर मूर्ति बनाई अर्चना गर्ने चलन चलाइएको थियो। त्यस्तो संयुक्त मूर्ति शङ्करनारायण, मुरारीश्वर, केशवशङ्कर वा अर्धशौरीश्वर भन्ने नाउँले चिनिन्छ। त्यस्तो मूर्तिको पहिलो दृष्टान्त नेपालमा {शक}संवत् ४८७ तदनुसार विसं ६२३ को पाइएको छ। शङ्करनारायणको त्यो मूर्ति अनुपरमका छोरा, अभिषिक्त किंवा गद्दीनशीन राजा नभए पनि त्यस वेलाका हर्ताकर्ता भौमगुप्तका उपजीवी अर्थात् आश्रित स्वामिवात्र्तले शैव र वैष्णवको फाटो हटाउने कोशिश गरी स्थापना गरेका हुन्।
माथि लेखिएका यिनै कुरा प्रकारान्तरले भन्दा तात्कालिक नेपालमा बौद्ध र वैष्णवमा तथा वैष्णव र शैवमा द्वन्द्व चल्दा बाबु अनुपरमले बौद्ध मत निरस्त गर्ने उद्योग गरेका थिए भने छोरा भौमगुप्तका आश्रितले चाहिं शैव र वैष्णवको फाटो हटाउने कोशिश गरेका थिए।
~~~ ~~~ ~~~
१३३२ सालमा जन्मी १३७६ सालमा राजा भएका अरि मल्ल १४०१ सालमा बितेपछि गद्दीमा राख्न शुद्ध जातको हकवाला नपाइँदा झण्डै तीन वर्ष गद्दी खाली रह्यो। पछि विवश भई दुवै राजवंश अर्थात् देवान्तनामधारी र मल्लान्तनामधारीको सल्लाह अनुसार आनन्ददेवका ल्याइतेपट्टिका छोरा राजदेव (विसं १३७३-१४१७) लाई विसं १४०४ मा गद्दीमा राखियो।
उता तिरहुतको आफ्नो राज्य विसं १३८२ मा टुटेपछि नेपालखाल्डोतिर आउँदै गर्दा राज्यच्युत राजा हरसिंहदेव बाटोमै बितेकाले उनकी रानी देवलदेवी छोरा जगत्सिंह समेत भक्तपुर आई राज्यका हर्ताकर्ता रुद्र मल्ल (विसं १३५२-१३८३) को शरणमा बस्न थालिन्। यसै बीचमा १३८३ सालमा रुद्र मल्लको मृत्यु भयो। रुद्र मल्ल भएकै वेलामा उनका दुवै छोरा सानैमा बितेकाले बाबु मर्दा रुद्रकी उत्तराधिकारिणीका रूपमा छोरी नायकदेवी मात्र बाँकी थिइन्।
रुद्रसँग उनका चारै रानी सती गएकाले बाबुआमा दुवै बिती टुहुरी भएकी नातिनी नायकदेवीलाई रुद्रकी आमा पदुमलदेवीले देवलदेवीको सहयोगमा हुर्काइन्। अनि पदुमलदेवीले नातिनीको विवाह काशीका राजाका वंशज हरिश्चन्द्रदेवसँग १३८६ सालमा गरिदिइन्।
यसको तीन वर्षपछि १३८९ सालमा ६७ वर्षको उमेरमा पदुमलदेवी परलोक भएपछि देवलदेवीको प्रभाव बढेर गयो। राज्यकी उत्तराधिकारिणी नायकदेवीका पतिको हैसियतले हरिश्चन्द्रदेवको पनि राजकाजमा रजगज बढ्दै गएको थियो। त्यो सहन नसकी केही भारादारहरू मिली १३९२ सालमा विषप्रयोग गरी हरिश्चन्द्रदेवलाई मारिदिए।
पति हरिश्चन्द्रदेव मारिई विधवा अवस्थामा रहेकी नायकदेवी र देवलदेवीका छोरा जगत्सिंह एउटै परिवेशमा रहेकाले उनीहरू बिस्तारै नजिकिंदै गए। त्यसको परिणाम के भयो भने, उच्च क्षत्रियवंशमा विधवाविवाह नचल्ने भएकाले जगत्सिंहले नायकदेवीलाई भित्रिनी बनाई राखे। त्यही सम्पर्कबाट १४०३ सालमा राजल्लदेवीको जन्म भयो। राजल्लदेवीलाई जन्माएको १० दिनपछि नायकदेवीको मृत्यु भयो।
मातृविहीन राजल्लदेवीलाई बज्यै देवलदेवीले हुर्काइन् र आमा नायकदेवीको ठाउँमा मल्लवंशकी उत्तराधिकारिणी उनी भइन्। आठ वर्ष मात्र पुगेकी राजल्लदेवीको विवाह बाहिरबाट ल्याइएका स्थितिराज मल्लसँग १४१२ सालमा भयो। त्यसपछि देवान्तनामधारी पुरानो राजवंशलाई बिस्तारै पूरै उखेली मल्लान्तनामधारी वंशको घरजुवाइँको हैसियतले स्थितिराज मल्लले राज्य चलाउन थाले। त्यो राज्य पृथ्वीनारायण शाह (विसं १७७९-१८३१, राज्यकाल विसं १७९९-१८३१) ले नेपालखाल्डो विजय नगरेसम्म झण्डै चार सय वर्षसम्म एक टङ्कारले चल्यो।
यी सबै कुरा भन्नुको अर्थ के हो भने, राज्यका हकदार रुद्र मल्लकी विधवा छोरीले दोस्रो पतिवरण गरी पाएकी छोरीको पाणिग्रहण गरेको नाताले विदेशी स्थितिराजले नेपालको सिंहासनमा हक जमाई राज्य चलाउँदा पनि कसैले औंला उठाउन नसकेको मात्र नभई उनलाई अष्टलोकपाल र रामचन्द्रका अवतार भनी मसीजीवीले तारीफ गरेको कुराको सम्झना सहसा हुन्छ।
~~~ ~~~ ~~~
शास्त्रीय नियम अनुसार निषिद्ध भए पनि गोरखाली राजा राम शाह (निश्चित राज्यकाल विसं १६७१-१६९३) ले भाउजू बेहोरेका थिए। त्यस सम्पर्कबाट तीन जना छोराको जायजन्म भएको थियो। ती सबै छोरालाई राम शाहले चौतरिया बनाएका थिए। तीमध्ये जेठा छोरा प्राण शाहको प्रतिष्ठा गोरखाली राजकाजमा भतिजा कृष्ण शाहका नाति पृथ्वीपति शाह (निश्चित राज्यकाल विसं १७२४-१७७३) को पालामा पनि थियो।
~~~ ~~~ ~~~
भातभान्साको आआफ्नो जात अनुसारको नियम नेपालमा पश्चिमा हावा नचलेसम्म चलिरहेको थियो। लडाइँ गर्न जाँदा पनि सैनिकहरू आआफ्नो जात मिलाई सहभोजन गर्थे, धोती फेरेर खाने जातले धोती फेरेर खान्थे। १८१८ सालको कुरा हो, काहुलेको ठानामा कुरुवा बसेका गोरखाली सैनिकहरू धोती फेरी भात पकाइरहेका थिए।
त्यसै वेला काठमाडौंका राजा जयप्रकाश मल्ल (विसं ?-१८२६, राज्यकाल विसं १७९२-१८२५) को फौजले त्यहाँ छापा मार्दा धोती फेरिरहेकै अवस्थामा गोरखाली सैनिकहरूले त्यस फौजसँग मुकाबिला गरी सेनापतिलाई नै पक्रेर ल्याए। आङमा लुगै नलगाई भात पकाइरहेको मौका छोपेर विजय हासिल गर्न सकिन्छ भन्ने विचारले शत्रुले हमला गर्दा यस पाला पराजित गर्न सकिए पनि पछि के होला भन्ने संशयले गर्दा पृथ्वीनारायण शाहले अबदेखि लडाइँमा खटिएदेखि लडाइँ बन्द नभएसम्म चोखो तिहुन पकाई लुगै लगाएर खाए हुन्छ, यसमा प्रायश्चित्त गर्नुपर्दैन भनेकाले त्यस दिनदेखि लडाइँमा धोती फेरेर खाने चलन हट्यो भनी वंशावलीमा लेखिएको छ। एउटा राजाज्ञाबाट जुगानुजुगदेखि चलेर आएको नियम तोडिएकाले राजकीय सत्ताको अगाडि धर्मको केही नलाग्ने अर्को दृष्टान्त पाइएको छ।
~~~ ~~~ ~~~
गोरखा, लमजुङ, कास्की आदि गरी आठ राज्यमा एउटै शाहवंशको राज्य चलेको थियो। एउटै वंशका ती राजाहरू सामूहिक रूपले आठ टीका कहिन्थे। तिनीहरूको गोत्र भारद्वाज थियो। विजययात्रा गर्दै जाने क्रममा ‘सात टीकालाई एकै टीका गर्नाको मनसुवा’ भएका पृथ्वीनारायण शाहले लडाइँमा गोत्रहत्या हुन सक्ने हुनाले आफ्नो गोत्र फेरी काश्यपगोत्र लिएर गोत्रहत्याको प्रत्यवायबाट बच्ने उद्योग गरे। यो पनि राजकीय सत्ताको अगाडि धर्मलाई झुकाइएको अर्को उदाहरण हो।
गोरखा, लमजुङ, कास्की आदि गरी आठ राज्यमा एउटै शाहवंशको राज्य चलेको थियो। एउटै वंशका ती राजाहरू सामूहिक रूपले आठ टीका कहिन्थे। तिनीहरूको गोत्र भारद्वाज थियो।
~~~ ~~~ ~~~
रणबहादुर शाह (विसं १८३२-१८६३, राज्यकाल विसं १८३४-१८५५) को विधवा ब्राह्मणी कान्तवती (विसं १८३३-१८५६) सँग भएको विवाह विधवासँग भएको प्रतिलोमविवाह हो। उच्च जातिमा विधवाविवाह यसै वर्जित भएकोमा त्यसमाथि रणबहादुरले विधवा ब्राह्मणीसँग प्रतिलोमविवाह मात्र गरेनन्, त्यस विवाहबाट जन्मेको छोरा गीर्वाणयुद्ध (विसं १८५४-१८७३, राज्यकाल विसं १८५५-१८७३) लाई राजा समेत बनाए।
विधवासँग उनको प्रतिलोमविवाह मात्र अधार्मिक नभई त्यस्तो विवाहबाट जन्मेको छोरालाई राजा बनाउनु अझ अशास्त्रीय भएकाले पछि विरोध होला भन्ने डरले उनले ९५ जना आफ्ना भाइभारदार र गुरुपुरोहितलाई गीर्वाणयुद्धलाई राजा मान्छौं भनी धर्म भकाएका थिए। त्यस्तो अधार्मिक काम गर्दा समेत राजगुरु गजराज मिश्र छोडेर अरू कसैले विरोध गर्ने आँट गरेनन्।
रणबहादुरको सनकी स्वभावबाट त्रस्त दैवज्ञशिरोमणि लक्ष्मीपति पाँडे (विसं १८१५-१८८८) ले त गीर्वाणयुद्धको जन्मको टिपोट आफ्नो पात्रोमा गर्दा पनि आफूले मात्र बुझ्ने गरी लेखेको कुरा यस प्रसङ्गमा सम्झिइन्छ। रणबहादुरको यस्तो अधार्मिक कामबाट जायजन्म भई राजगद्दीमा समेत राखिएका गीर्वाणयुद्धको हातबाट नैष्ठिक ब्राह्मणहरूले पनि दान थापेको देख्दा ‘धर्मस्य तत्त्वं निहितं गुहायाम्’ अर्थात् ‘धर्मको तत्त्व त गुफामा पो राखिएको छ’ भन्ने सुभाषितको याद आउँछ।
~~~ ~~~ ~~~
पहिले पहिलेदेखि चलिआएका नीतिनियमलाई संहिताबद्ध गरी १९१० सालमा लागू गरिएको मुलुकी ऐनमा ‘पानी नचल्ने, छोए छिटो हाल्नुनपर्ने जात’ मा धोबी, कसाईं, कुस्ले आदिसँग मुसलमान र म्लेच्छ पनि परेका छन्। ‘मुसलमान’ भनी तोकिसकेपछि फेरि ‘म्लेच्छ’ भनेर लेखिएकाले यूरोपियनहरूलाई यस शब्दले बुझाएकोमा शङ्का छैन। जातको सिंढीमा यूरोपियनहरू पानी नचल्ने, छोए छिटो हाल्नुपर्ने जात अर्थात् सार्की, कामी, दमाई, गाइने, पोडे, च्यामेभन्दा एक तहमाथिको मात्र तात्कालिक जातिव्यवस्थाले मानेको यताबाट देखिन्छ।
गोभक्षक म्लेच्छ अक्टरलोनीको छोरासँग आफ्नो छोराको मीत लगाउन गोरक्षक क्षत्रिय अमरसिंहलाई अप्ठ्यारो नलागेकाले जातिव्यवस्थाको पालनामा त्यति कट्टरपना थिएन भनी भन्न नसकिने होइन।
यस्तो व्यवस्था हुँदाहुँदै पनि डेभिड अक्टरलोनी (विसं १८१४-१८८२) का छोरासँग आफ्नो छोराको मीत लाउन बूढाकाजी अमरसिंह थापा (विसं १८०८-१८७३) लाई छेकेन। अर्को शब्दमा भन्दा, गोभक्षक म्लेच्छ अक्टरलोनीको छोरासँग आफ्नो छोराको मीत लगाउन गोरक्षक क्षत्रिय अमरसिंहलाई अप्ठ्यारो नलागेकाले जातिव्यवस्थाको पालनामा त्यति कट्टरपना थिएन भनी भन्न नसकिने होइन।
~~~ ~~~ ~~~
सेन राजाहरूले जस्तो गोरखाली राजाहरूले हिन्दूपतिको उपाधि नलिए पनि पृथ्वीनारायणले आफ्नो राज्यलाई ‘यो असल् हिन्दुस्थाना हो’ भनी बोलेका छन्। त्यसै गरी, १९१० सालमा लागू भएको मुलुकी ऐनमा ‘हिन्दु राज गोहत्या नहुन्या स्त्रीहत्या नहुन्या ब्रह्महत्या नहुन्या एस्तो ऐन भयाको दर्बार हिमवत्खण्ड वासुकिक्षेत्र आर्यातीर्थ ज्योतिर्मय श्रीपशुपतिलिङ्ग श्रीगुह्येश्वरीपीठ यस्तो पुण्यभूमि आफ्नो मुलुक’ भनी नेपालको माहात्म्य गाइएको छ।
यस्तै आदर्शबाट अनुप्राणित भएर मोतीराम भट्ट (विसं १९२३-१९५३) ले यवन्ले राज् गर्दा कति पतित हिन्दुस्थल भयो फगत् यो नेपाल्को मुलुक बचि कञ्चन् रहि गयो भन्ने उद्गार पोख्न सके। तर यो हिन्दूत्व त्यस वेलासम्म कायम रहन्थ्यो, जबसम्म शासकलाई मर्का पर्दैनथ्यो। श्री ३ जङ्गबहादुर राणा (विसं १८७४-१९३३ शासनकाल विसं १९०३-१९३३) कै चरित्रबाट एउटा दृष्टान्त लिऔं।
कुरा के भने, अङ्ग्रेजसँग सम्बन्ध मजबूत पार्न उनलाई बेलायत जानुपर्ने भयो। शास्त्र अनुसार समुद्रपारको यात्रा कलिवर्ज्य अर्थात् कलियुगमा निषिद्ध भएकाले जङ्गबहादुरलाई आपत् पर्यो। त्यो गाँठो फुकाउन कलकत्ता संस्कृत कलेजका प्रोफेसर तर्कवाचस्पति तारानाथ भट्टाचार्य (विसं १८६९-१९४२) को मद्दत उनले लिए। भारतबाट छापिएको वर्णानुक्रम अनुसारको कोषमध्ये दोस्रो प्रसिद्ध वाचस्पत्यका कर्ता तारानाथले संस्कृत वाङ्मयको व्यापक पढाइ हुने त्यस जमानामा पाठ्यपुस्तक छापी अकुत सम्पत्ति कमाएका थिए।
नेपाल राज्यका सर्वेसर्वा जङ्गबहादुरलाई समुद्रपार गर्ने अनुमति शास्त्रीय परिबन्द मिलाई तारानाथले दिंदा तराईका रूख काटी भारतमा रेलको लीगमा ओछ्याउने काठको ठेक्का जङ्गबहादुरले उनैलाई मिलाइदिए। यताबाट हाम्रा चार थरी पुरुषार्थमध्ये धर्म र अर्थको समन्वय हुँदा जङ्गबहादुरले धर्म अनुसार नै समुद्र तर्ने अनुमति पाए भने तारानाथले चाहिं बृहद् अर्थसङ्ग्रह गर्ने अवसर पाए।
~~~ ~~~ ~~~
धर्मको प्रतिकूल गएर राजकाज गरिएका घटना पक्कै पनि यति मात्र होइनन्। यो त यस विषयमा लेख्न बस्दा मनमा अनायास आएका कुराको लिपिबन्ध मात्र हुन्। यही पद्धति अनुसार नेपालको इतिहासका आकर अर्थात् स्रोत केलाउँदै जाने हो भने यस विषयमा लामै निबन्ध तयार हुन सक्छ जस्तो मलाई लाग्छ।
(पुराविद् पन्त संशोधन-मण्डलका सदस्य र इतिहास-प्रधान पत्रिका पूर्णिमाका सम्पादक हुन्। हिमालको २०७८ पुस अंकबाट।)