सिक्किमेली वनस्पतिको नेपाल नाता
नेपालमा पाइने अधिकांश जीव सिक्किममा पाइन्छन्। यसको कारण हो, सिक्किम र नेपालको सिमाना जोडिएको छँदै छ, भौगोलिक विषमता पनि उस्तै छ।
भारतीय राज्यहरूमध्ये क्षेत्रफलका हिसाबले गोवापछि दोस्रो सानो प्रान्त हो, सिक्किम। नेपालको सिमानासँग करीब ९९ किलोमिटर जोडिएको सिक्किमको क्षेत्रफल हाम्रो सबैभन्दा सानो प्रदेश २ भन्दा कम छ। तर, वनस्पति प्रजातिको विविधतामा नेपालमा पाइनेमध्ये करीब ८० प्रतिशत सिक्किममै छ। यिनै विविध वनस्पतिबारेको सचित्र पुस्तक हो, फ्लोरा अफ सिक्किमः अ पिक्टोरियल गाइड।
सिक्किम सरकारको वन तथा वातावरण विभाग र भारतीय वनस्पति सर्वेक्षण (बोटानिकल सर्भे अफ इन्डिया)बाट सन् २०२१ मा प्रकाशित पुस्तक राजीव गोगोई, नोर्बु शेर्पा, जेएच फ्राङ्कलिन बेन्जामिन, दिनेशकुमार अग्रवाल, सुन्दरकुमार राई र सुधांशु शेखर दासले लेखेका हुन्। जसमा एक हजार ३०० वनस्पति प्रजातिका तस्वीर समावेश छन्।
पुस्तक अनुसार, सिक्किममा हालसम्म वनस्पतिका २०५ परिवार, १,४९१ जाति, ४,८५० प्रजाति, ५२ उपप्रजाति, १५५ भेराइटी, २ फर्मा र ९ ठिमाहाको अभिलेख रहेछ। यो सङ्ख्या भारतको कुल वनस्पतिमध्ये करीब ४५ प्रतिशत हिस्सा हो।
सिक्किममा पाइने वनस्पति पूर्वी तथा मध्य नेपालमा विशेषतः पहाडी तथा हिमाली भेगमा प्रशस्त पाइन्छ। यस आधारमा नेपालको वनस्पति पहिचान सम्बन्धी अध्येता र शोधकर्ताका लागि यो पुस्तक महत्त्वपूर्ण सामग्री हो। पहिले नेपालको वनस्पति पहिचान गर्न द फ्लोरा अफ ब्रिटिश इन्डिया (भोलम १-७ः सन् १८७२-१८९७) र फ्लोरा अफ भुटान (भोलम १-३ः सन् १९८३-२००२) अध्ययन गर्नुपर्थ्यो।
त्यसपछि फ्लोरा अफ चाइना (भोलम १-२५ः सन् १९९४-२००४) प्रकाशन भयो। उल्लिखित पुस्तकहरूभन्दा फ्लोरा अफ सिक्किमको सबल पक्ष चाहिं रङ्गीन तस्वीरहरू हुन्।
यसअघि सिक्किमकै वनस्पतिबारे सन् २०१९ मा पिक्टोरियल ह्यान्डबूक अन फ्लावर्स अफ सिक्किम (भोलम वान) प्रकाशन भएको थियो। भरतकुमार प्रधान र पेमा ग्याल्त्सेन भुटियाले लेखेको उक्त पुस्तकमा ७५ वनस्पति परिवार र २२७ जाति अन्तर्गत जम्मा ३७२ प्रजातिका तस्वीर समावेश छन्।
फ्लोरा अफ सिक्किममा वनस्पतिका साथै सिक्किमको भौगोलिक अवस्था र संरक्षित क्षेत्रहरूको बारेमा पनि चर्चा गरिएको छ। कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा क्षेत्रमा सूचीकृत भइसकेको छ भने सिक्किममा रहेका सात वटा ‘वाइल्डलाइफ स्याङचुरी’ मध्ये दुई वटा गुराँससँग सम्बन्धित छन्। नेपालमा भने गुराँसको एउटा पनि ‘वाइल्डलाइफ स्याङचुरी’ छैन।
यस्तै, सिक्किममा सुनाखरी संरक्षणका लागि ‘स्लिङ डोङ फइरिएनम अर्किड कन्जरभेसन रिजर्भ’ स्थापना गरिएको छ। नेपालमा सुनाखरी व्यवस्थापनमा यस्तो प्रयास नभएकाले हाम्रो निम्ति यो पनि राम्रो उदाहरण हो।
नेपालमा पाइने अधिकांश जीव सिक्किममा पाइन्छन्। यसको कारण हो, सिक्किम र नेपालको सिमाना जोडिएको छँदै छ, भौगोलिक विषमता पनि उस्तै छ।
कालीगण्डकी सीमा
नेपाल र सिक्किम दुवैतिर पाइने वनस्पति विश्वका विभिन्न भागमा केही करोड तथा लाखौं वर्षअघि उद्विकास भएका हुन्। थाकल (साइकस पेक्टिनाटा), मौवा (इङ्गेल्हार्डिया स्पिकाटा), लामपाते (डुवाबाँगा ग्रान्डीफ्लोरा), आँप (म्यान्जीफेरा इन्डिका), टोटला (आरोजाइलम इन्डिकम्) जस्ता चौडापाते वनस्पति मलेशियातिर उद्विकास भएका हुन्। तिनलाई साउथ इस्ट एशियन-मलेशियन इलेमेन्ट्स भनिन्छ।
चीनका हिमालय क्षेत्रदेखि जापानसम्म फैलिएका वनस्पतिलाई सिनो हिमालयन जापानिज इलेमेन्ट्स भनिन्छ। प्राचीन ल्याटिन र ग्रीक भाषामा चीनलाई सिन्ना र सिनाइ भनिन्थ्यो र त्यसैका आधारमा वनस्पति विज्ञले चीनको भन्ने अर्थमा सिनो शब्द प्रयोग गर्छन्। हामीकहाँ पाइने भोजपत्र, उतिस, बूढो ओखती, जटामसी, जमाने मान्द्रो आदि सिनो हिमालयन जापानिज इलेमेन्ट्स हुन्।
दक्षिणएशियाको समुद्री किनारमा उद्विकास भएका वर, पीपल, करीपत्ता (मुराया कोइनिजी), चित्तु (प्लुम्बागो जेइलानिका), धयेंरो (वुडफर्डिया फ्रुटिकोसा) आदिलाई पेनिन्सुलर इलेमेन्ट्स भनिन्छ। तिब्बतमा उद्विकास भएका डालेचुक (हिप्पोफा टिबेटना), सोमलत्ता (इफेड्रा जेरार्डियना) टिबेटन इलेमेन्ट्स हुन्।
वनमारा दक्षिण अमेरिकामा उद्विकास भएको हो। यस्तै, घाँस वर्गका वनस्पति यूरो-साइबेरियन इलेमेन्ट्स, आर्किटक-एल्पाइन इलेमेन्ट्स पनि सिक्किम र नेपाल दुवैतर्फ छन्। सिक्किममा रैथाने वनस्पति भने करीब तीन प्रतिशत छन्।
सिक्किमको उत्तरी सीमाबाट उत्तरतर्फको वनस्पति सोझै हिमाली शृङ्खला पार गरेर यता आइपुग्ने वातावरण छैन। नेपालको हिमाली तथा उच्च पहाडी भेगमा कालीगण्डकीभन्दा पश्चिम क्षेत्रमा पाइने धेरैजसो वनस्पति खाडी मुलुकतिर उद्विकास भएका हुन्। तिनीहरू अफगानिस्तान, पाकिस्तान, उत्तर-पश्चिम भारत भएर फैलिंदै उच्च हिमाली भेगमा कालीगण्डकीसम्म विस्तार भए।
यसै कारण कालीगण्डकीलाई पूर्व र पश्चिममा उद्विकास भएका वनस्पति विस्तारको सीमा मानिन्छ। उदाहरणका लागि, लौठसल्लाको उच्च हिमाली भेगमा पाइने दुई प्रजातिमध्ये ट्याक्सस वालिचियना दक्षिणपूर्वी एशियाबाट र ट्याक्सस कन्टोर्टा अफगानिस्तानदेखि कालीगण्डकीसम्म विस्तार भएको छ।
खट्किएका कुरा
पुस्तकमा केही बिझाउने पाटा पनि छन्। यसभित्र जुन प्रजातिको तस्वीर समावेश छ, त्यो नाम वनस्पतिको सूचीमा हाइलाइट गरिएका छन्। तर, अति सङ्कटापन्न नौ प्रजातिको सूची राखिएकोमा एउटैको पनि तस्वीर छैन। यस्तै, तस्वीर राम्रा भए पनि साना फूलका लागि म्याक्रो फोटोग्राफी नहुँदा फूलको बनावट थाहा पाउन कठिन देखिन्छ।
कतिपय वनस्पतिको पुराना नाम प्रयोग गरिएका छन्। जस्तै, जमाने मान्द्रोको वैज्ञानिक नाम माहोनिया नापाउलेन्सिस् लेखिएको छ। जबकि, यसको पछिल्लो सही नाम बरबेरिज नापाउलेन्सिस् हो। यो पुस्तकमा वनस्पति वर्गीकरण गर्ने पुरानो प्रणाली अनुसरण गरिएका कारण समय सान्दर्भिक नभएको हो।
सन् १९९८ मा आनुवंशिक तह अध्ययनबाट वनस्पतिको वर्गीकरण प्रणाली एन्जिओस्पर्म्स् फाइलोजेनी ग्रुप्स (एपीजी) शुरू भएपछि यसले पुराना वर्गीकरण प्रणाली विस्थापित गरेको छ। सन् २०१६ मा यसको चौथो संस्करण आइसकेको छ।
पुस्तकमा सिमल (बम्बाक्स सेइबा)को वनस्पति परिवार बम्बाकेसी लेखिएको छ। तर, यो माल्भेसी परिवारको वनस्पति हो। यस्तै, क्लेरोडेन्ड्रम कोर्डाटम्लाई भर्बेनेसी वनस्पति परिवारमा राखिएको छ। जबकि, यो तुलसी परिवार अर्थात् ल्यामेसी परिवारको वनस्पति हो। यी उदाहरणले फ्लोरा अफ सिक्किममा लेखिएका वनस्पतिका वैज्ञानिक नामहरू अद्यावधिक नभएको देखाउँछन्। भारतीय वनस्पति सर्वेक्षण जस्तो वनस्पति क्षेत्रमा एशियाकै अग्रज संस्थाबाट यस्तो कमजोरी हुनु अपेक्षित होइन।
केही कमजोरीका बावजूद यो पुस्तक नेपालमा वनस्पति पहिचान सम्बद्ध अनुसन्धाता, विद्यार्थी र आम वनस्पतिप्रेमीका लागि उपयोगी छ। पुस्तकको प्रकाशनबाट सिक्किम सरकार वनस्पति अनुसन्धानमा गम्भीर रहेको स्पष्ट हुन्छ। हाम्रा प्रदेश सरकारले पनि यसको सिको गर्नुपर्छ।
पुस्तक: फ्लोरा अफ सिक्किमः अ पिक्टोरियल गाइड
प्रकाशकः सिक्किम सरकार र भारतीय वनस्पति सर्वेक्षण
पृष्ठः ५६४ मूल्यः ५५०० (भारु.)