कोभिड–१९ को तेस्रो लहर सँघारमा, सीमा नाका र अस्पतालमा के भइरहेको छ?
जीवाणु वैज्ञानिकहरू सङ्क्रमणको विस्तार थाहा पाउन दुई साताको तथ्याङ्क विश्लेषण गर्नुपर्ने बताउँछन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रस्तुत गरेको यही अवधिको तथ्याङ्कले पनि राम्रो सङ्केत दिएको छैन।
२८ मंसीरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १३ हजार ७०९ जनामा परीक्षण गर्दा २९० जना सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गर्यो। त्यसको ठीक एक सातापछि १७ हजार ८९ जनाको परीक्षण गर्दा २९० सङ्क्रमित भेटिए।
जीवाणु वैज्ञानिकहरू सङ्क्रमणको विस्तार थाहा पाउन दुई साताको तथ्याङ्क विश्लेषण गर्नुपर्ने बताउँछन्। यो अवधिको तथ्याङ्कले महामारीको भविष्य निर्धारण हुने उनीहरूको भनाइ छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रस्तुत गरेको दुई साताको तथ्याङ्कले पनि राम्रो सङ्केत दिएको छैन।
१७ हजार परीक्षण गर्दा २९० सङ्क्रमित भेटिएको दुई साता नपुग्दै २३ पुसमा १४ हजार ९७१ नमूना परीक्षणमा ९६८ जना सङ्क्रमित भेटिए। दुई साता अघिभन्दा थोरै नमूना परीक्षण गर्दा पनि चार गुणा बढी सङ्क्रमित भेटिनु तेस्रो लहरको सङ्केत रहेको जीवाणु वैज्ञानिक डा. सुदीप खड्का बताउँछन्।
जनस्वास्थ्यविद् डा. शरद वन्त भारतको पछिल्लो अवस्था र नेपालमा बढेको सङ्क्रमणको रफ्तारले फेरि अर्को उभारको सङ्केत दिएको बताउँछन्। “समुदायमा भाइरस रहुन्जेल सङ्क्रमण बढ्ने, नयाँ नयाँ भेरियन्ट भेटिने क्रम चलिरहन्छ यसलाई स्वाभाविक मानेर राज्यले योजना बनाउनुपर्छ,” उनी भन्छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल हाल लुम्बिनी प्रदेशको विभिन्न ठाउँको अवस्था बुझ्न पुगेका छन्। उनका अनुसार, अधिकांश ठाउँमा पछिल्लो साता सङ्क्रमित दोब्बर/तेब्बर बढेका छन्, जसमा भारतबाट आउनेहरू धेरै छन्। “देशभरको तथ्याङ्क र सीमा नाका नजिकको गाउँको अवस्था हेर्दा हामी तेस्रो लहरको नजिक रहेको प्रष्ट हुन्छ,” डा. पौडेल भन्छन्।
उपत्यकाका अस्पतालमा बिरामी बढ्दै
स्वास्थ्य मन्त्रालयका अनुसार, २३ पुसमा मात्रै २४ जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। नेपालमा डेल्टा सँगसँगै ओमिक्रोनको भेरियन्ट देखिंदा अस्पतालमा सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको हो।
वीर अस्पतालमा गत सातादेखि कोरोना सङ्क्रमितका कारण भर्ना हुन आउनेको सङ्ख्या बढेको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेत बताउँछन्। उनका अनुसार, अस्पतालमा भर्ना हुनेको सङ्ख्या गत साताको तुलनामा तीन गुणाले बढेको छ। यसअघि हरेक दुई, तीन दिनमा एक जना सङ्क्रमित भर्ना भइरहेकामा अहिले एकै दिन चारदेखि पाँच जना भर्ना हुन थालेको छन्।
वीरमा जस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोना परीक्षणसँगै सङ्क्रमण पुष्टि हुने दर बढ्न थालेको छ।
यसरी सङ्क्रमित बढ्दै जाँदा अबको एक महीनामा विगतको जस्तै अवस्था आउने बस्नेतको आकलन छ। “गत साता आठ जना कोरोना सङ्क्रमित अस्पतालमा उपचाररत थिए, अहिले २३ जना छन्,” बस्नेत भन्छन्।
वीरमा जस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोना परीक्षणसँगै सङ्क्रमण पुष्टि हुने दर बढ्न थालेको छ। अस्पतालका प्रशासन प्रमुख नवराज गौतमका अनुसार, भर्ना हुन आउनेको सङ्ख्यामा धेरै वृद्धि नभए पनि पीसीआर परीक्षण गर्न आउने व्यक्तिमा सङ्क्रमण पुष्टि हुने दर भने बढेको छ।
अस्पतालमा हरेक दिन ६० देखि ९० जना पीसीआर परीक्षणका लागि आउने गरेका छन्। उनीहरूमध्ये करीब १० प्रतिशतमा सङ्क्रमण पुष्टि हुन थालेको छ। २१ पुसमा ८४ जनामा परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको थियो। २२ पुसमा ६० जनाको परीक्षण गर्दा १० जना सङ्क्रमित भेटिएका थिए। टेकु अस्पतालको आईसीयूमा हाल चार जना र एचडीयूमा आठ जना उपचाररत रहेको गौतम बताउँछन्।
पाटन अस्पतालमा बिरामीको सङ्ख्या अहिलेसम्म नबढेको अस्पतालका निर्देशक डा. रवि शाक्य बताउँछन्। अहिले अस्पतालमा सङ्क्रमितको सङ्ख्या उस्तै रहेको तर जनवरी महीनाको अन्तिमसम्म बढ्न सक्ने उनको अनुमान छ। त्यसकै लागि अस्पतालले तयारी गरिरहेको छ। “कोरोना आउँदैन भनेर ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तयारी अघि बढाएका छौं,” डा.शाक्य भन्छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अघिल्लो साताभन्दा अहिले ‘केस’ बढ्न थालेको कोभिड फोकल पर्सन डा. निरज बम बताउँछन्। उनका अनुसार, बिरामी बढ्न थालेपछि नन्-कोभिड बिरामी राखिएका वार्ड खाली गर्ने तयारी गरिएको छ भने अक्सिजन र अन्य सामग्री थप गरिएको छ। “आजसम्मको स्थिति हेर्दा ‘केस’ बढिसकेको छैन। तर, तयारीमा जुट्नुपर्ने सङ्केत भने दिएको छ,” डा. बम भन्छन्।
नाका नै सङ्क्रमण विस्तारको कारण
मंसीर तेस्रो साता त्रिभुवन विमानस्थलबाट भित्रिएका ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपालीमा सङ्क्रमण देखिएपछि नेपालमा ओमिक्रोन भेरियन्ट भेटिएको पुष्टि भएको थियो।
यसअघि डेल्टा भेरियन्टले ठूलो क्षति गरेकाले ओमिक्रोनबाट पनि सतर्क रहनुपर्ने महामारी विज्ञ डा. केदार बराल बताउँछन्। उनका अनुसार, यस्ता आयातीत महामारीबाट बच्न सीमा नाकामा नै कडाइ गर्नुपर्छ।
यसअघि डेल्टा भेरियन्टले ठूलो क्षति गरेकाले ओमिक्रोनबाट पनि सतर्क रहनुपर्ने महामारी विज्ञ डा. केदार बराल बताउँछन्। उनका अनुसार, यस्ता आयातीत महामारीबाट बच्न सीमा नाकामा नै कडाइ गर्नुपर्छ। “भारतमा सङ्क्रमण बढ्न थालेपछि सीमा नाकामा कडाइ गरेको भए यति छिटो यति धेरै ‘केस’ बढ्ने थिएनन्,” उनी भन्छन्।
महामारी विज्ञ बरालले भने झैं प्रदेश–२ का विभिन्न सीमा नाकामा २३ पुसमा ४३ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। जसमध्ये पाँच भारतीय र ६ जना नेपाली हुन्। यसरी नाकामा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आएका भारतीयलाई उतै फर्काइएको र नेपालीलाई होम आइसोलेशनमा रहन निर्देशन दिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झा बताउँछन्।
२० पुसमा गौर नाकाबाट नेपाल छिरेका २७ जनामा नमूना परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको थियो। सोही दिन सिरहामाडर नाकाबाट नेपाल छिरेकामध्ये ८४ नमूनाको परीक्षण गर्दा तीन जना सङ्क्रमित भेटिए।
स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार, कृष्णनगर सीमा नाकामा यो साता ४९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ। पाण्डेले महामारी नियन्त्रणका लागि संघीय सरकारले कुनै सहयोग नगरेको गुनासो गरे। “ठूलो नाका भएकाले संघीय सरकारले व्यवस्थापनमा सहयोग गर्नुपर्ने हो। तर, खासै केही गरेको छैन,” उनले भने।
सुदूरपश्चिममा नाका पनि अस्तव्यस्त
सुदूरपश्चिम सीमा नाका भएर भारतबाट नेपाल फर्कनेहरूमा पनि सङ्क्रमण देखिन थालेको छ। सुदूरपश्चिममा प्रदेशमा २३ पुसमा एक हजार ३८५ जनाको परीक्षण गर्दा १९८ जनामा सङ्क्रमण देखियो। जसमा भारतबाट नेपाल फर्केका मात्रै ९७ जना छन्।
२२ पुसमा गौरीफन्टा नाका भएर नेपाल छिरेका ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण देखिएको थियो। सोही दिन सुदूरपश्चिमभर १२० जना सङ्क्रमित भएका थिए।
२२ पुससम्मको तथ्याङ्क हेर्दा कैलालीमा सबैभन्दा बढी १३८, कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा २, बझाङ, बाजुरा र डडेल्धुरामा एक-एक जना सक्रिय सङ्क्रमित रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयको तथ्याङ्क अनुसार, २१ पुसमा गौरीफन्टा, गड्डाचौकी र झुलाघाट नाकाबाट फर्किएका एक हजार ३५ जनाको परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भयो। गौरीफन्टा नाका भएर फर्केका ३१ र गड्डाचौकी नाकाबाट फर्किएका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
२२ पुससम्मको तथ्याङ्क हेर्दा कैलालीमा सबैभन्दा बढी १३८, कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझाङ, बाजुरा र डडेल्धुरामा एक-एक जना सक्रिय सङ्क्रमित रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ।
यसै गरी, मंगलबार गड्डाचौकी, झुलाघाट र गौरीफन्टा नाकामा ८७६ जनाको परीक्षण गर्दा गड्डाचौकीमा ३१ जनामा सङ्क्रमण देखिएको छ।
त्यस्तै, बेलिया नाकाबाट छिर्ने ३३४ जनामा परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण देखियो। त्यसै गरी, बाँकेको नाकाबाट छिर्ने ६१५ जनामा परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण देखियो। दार्चुला नाकाबाट छिर्ने ५७ जनामा सङ्क्रमण देखिएको छ। यसरी नाकाबाट छिर्ने सङ्क्रमितहरूमा ओमिक्रोन भेरियन्ट नै हुन सक्ने इडीसीडीका निर्देशक डा. पौडेलकाे अनुमान छ।
कस्तो छ तयारी?
प्रदेश–२ मा भारतसँगको खुला सीमाका कारण दैनिक उपभोग्य वस्तु किनमेल गर्न आवातजावत अत्यधिक हुने गरेको छ। जहाँ ३८ प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, २४ घण्टाभन्दा बढी समय भारतमा बसेका व्यक्तिलाई मात्रै परीक्षण गरिन्छ। पर्साको वीरगञ्ज, महोत्तरीको जलेश्वर, सिरहामाडर र रौतहटमा ‘हेल्थ डेस्क’ सञ्चालनमा छन्।
निर्देशनालयका प्रमुख झा सङ्क्रमण बढ्न थालेपछि आवश्यक तयारी थालिएको बताउँछन्। उनका अनुसार, ३४६ आइसोलेसन बेडमध्ये ९१ आईसीयू, १९२ एचडीयू र ६३ भेन्टिलेटर तयारी अवस्थामा छन्। त्यस्तै, १९५६ अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएका छन्। सर्लाही, बारा रौतहट बाहेकका जिल्लामा अक्सिजन प्लान्टको स्थापना भइसकेको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोनाको जोखिम रोक्न सीमामै परीक्षण गर्ने र पोजेटिभ आएकालाई होम आइसोलेशनमा सुरक्षित बस्न निर्देशित गरेको जनाएको छ। सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेकाले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध मिलाइएको निर्देशनालयको भनाइ छ।
इडीसीडीका निर्देशक डा. पौडेल प्रदेश–२, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य मन्त्रालयले समुदाय स्तरमै परीक्षण गर्न प्रदेश निर्देशनालयलाई निर्देशन दिएको बताउँछन्। समुदाय स्तरमा विस्तार नरोके थेग्न नसकिने भएकाले सबै स्थानीय तहमा परीक्षणको लागि एन्टिजेन किट पठाएको उनको भनाइ छ। “पहिलाको गल्तीबाट सिक्दै रणनीति बनाइरहेका छौं, समुदाय स्तरमा परीक्षण गरेर आइसोलेट गरियो भने दोस्रो लहरको जस्तो स्थिति नहोला,” उनी भन्छन्।
परीक्षण बढाउन जरुरी
सङ्क्रमणको व्यापक विस्तार भइरहेको वेला परीक्षण बढाएर सङ्क्रमितलाई आइसोलेटेड नगर्ने हो भने महामारी नियन्त्रण गर्न गरिएको प्रयास सफल नहुने जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन्। पछिल्लो समय बढिरहेको सङ्क्रमणमा नयाँ भेरियन्टको प्रभाव कति छ भन्ने थाहा पाउन विस्तृत परीक्षण आवश्यक रहेको उनको भनाइ छ। सीमा नाकाबाट आएका, लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेका सबैलाई राज्यले परीक्षण गर्नुपर्ने बताउँदै उनी भन्छन्, “फेरि एक पटक समुदाय स्तरमा परीक्षण गरेर महामारी कुन हदसम्म गएको छ भन्ने यकिन गरेर नयाँ योजना बनाउनुपर्छ।”
सङ्क्रमणको ग्राफ बढेको वेला ठूलो सङ्ख्यामा परीक्षण गर्दा सङ्क्रमित आइसोलेट हुने भएकाले धेरैलाई सङ्क्रमण सार्ने सम्भावना कम हुने जीवाणु वैज्ञानिक डा. खड्का बताउँछन्। सङ्क्रमित पहिचान भएकालाई घरमै आइसोलेट हुन सम्भव नहुनेका लागि संस्थागत आइसोलेसन र क्वारेन्टिनमा व्यवस्थापन गर्न शुरू गर्नुपर्ने उनको भनाइ छ। “डेल्टा भेरियन्टको जस्तो ओमिक्रोनले मृत्यु गराउने देखिएको छैन। तर, अत्यन्त छिटो धेरैमा सङ्क्रमण विस्तार गर्ने भएकाले अस्पतालमा बिरामीको चाप भने बढ्न सक्छ,” उनी भन्छन्।
सामान्यतया सङ्क्रमण बढेको दुई सातापछि त्यसको क्षति देखिन थाल्ने भएकाले त्यही अनुसार तयारी गर्नुपर्ने डा. खड्का बताउँछन्। उनका अनुसार, दोस्रो लहरमा धेरै मृत्यु हुनुको कारण एकै पटक ह्वात्तै सङ्क्रमितको सङ्ख्या बढ्दा गम्भीर लक्षणका बिरामीलाई चाहिने बेड, अक्सिजन र उपचारका लागि जनशक्ति अभाव हुनु हो। “यो लहरमा पहिलाको अनुपातमा जनशक्ति, पूर्वाधार, खोप र स्वास्थ्य प्रणालीको आत्मविश्वास बढेकाले पनि पहिले जस्तो ठूलो क्षति हुँदैन, त्यसो भन्दैमा राज्यले हात बाँधेर बस्नु भएन,” उनी भन्छन्।