कोरोनाको सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन्। उनले बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए।
तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए। उनले सीमामा तेस्रो लहरको सङ्क्रमणको चुनौती रहेकाले सीमा नाकामा कोरोनाभाइरसको परीक्षण दर बढाउन पनि निर्देशन दिए।
प्रधानमन्त्री देउवाले भारतसँग सीमा जोडिएका नाकामा होल्डिङ सेन्टर पनि चाँडै स्थापना गर्नुपर्ने बताए। “भारत सीमाबाट आएका सबै व्यक्तिलाई परीक्षण गर्नुपर्छ,” उनले भने, “परीक्षण गर्दा सङ्क्रमण भेटिए आइसोलेशन र होल्डिङ सेन्टरमा राखेर उपचार गर्नुपर्छ।” उनले तेस्रो लहरको ओमिक्रोन भेरियन्ट छिटो फैलिने भएकाले खतरा रहेको र समयमै रोकथाम र नियन्त्रणका लागि आवश्यक काममा लाग्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री देउवाले बुस्टर डोज लगाएपछि तेस्रो लहरको खतरा कम हुने भएकाले सबैलाई बुस्टर डोज लगाउने गरी व्यवस्थापन समेत गर्न निर्देशन दिए। उनले तेस्रो लहरको सम्भावित जोखिम हुन नदिन अस्पतालमा अक्सिजन र शय्याको व्यवस्थापन गर्नुपर्ने बताए।
नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएको भन्दै प्रधानमन्त्री देउवाले सबैको सहयोगले सम्भावित तेस्रो लहरलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे। “अक्सिजन नै नपाएर मानिस मर्नु हुन्न,” उनले भने, “त्यसैले सबै मिलेर कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि युद्धस्तरमा काम गर्नुपर्दछ।”
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्टको रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको बताए। उनले ओमिक्रोन भेरियन्टबाट ठूलै डर सिर्जना हुने नठानेर पहिलेको अनुभवबाट नै नियन्त्रण गर्न सकिने धारणा राखे। मन्त्री खतिवडाले अहिले तेस्रो लहरको हल्लासँगै खोप लगाउनेको सङ्ख्या पनि बढेको भन्दै खोप अभियान नै सञ्चालन गरिने बताए।