पशुपति धर्मशालालाई होटल बनाएको विषयमा छानबिन गर्न समिति गठन
पशुपति मैत्री धर्मशालालाई होटल बनाएको विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा समिति गठन भएको छ।
शुक्रबार संस्कृति मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। नेपाल-भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।
पाँच सदस्यीय समितिमा परिषद् सदस्य आशा पाण्डे, विश्वकरण जयन तथा देवीप्रसाद बराल सदस्य रहेका छन्। त्यस्तै, मन्त्रालयका लेखा उपसचिव सदस्य-सचिव रहेका छन्।
छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको सत्यतथ्य छानबिनका लागि समिति गठन गरिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताए।
धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालि (बतास समूह)लाई भाडामा दिएको थियो। बतास समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ।