मस्टा: नेपालका मौलिक देउता
मस्टोलाई हिन्दू धर्मको बृहत्तर भाष्यमा समेटिंदै जाँदा यसको रैथाने मर्म विलीन भएको मात्र होइन, स्थानीय कथा, मौलिकता र ऐतिहासिकता पनि मेटिंदै छ।
सेतो दौरा लगाएका थुप्रै पुरुष दमाहाको तालमा कामिरहेका थिए। कम्मर मुनिसम्म लत्रिएका उनीहरूका टुप्पी चाँदीका ससाना बेरुवाले बेरिएका देखिन्थे। भीडले घेरिएका उनीहरूसँगै एकाध महिला पनि काम्न थाले।
निकै बेर यसरी कामेपछि महिलाको टोलीले ‘माँगल’ गाउँदै धामीहरूको अभिषेक गर्यो। माँगलमा देउताको बयान गरिंदो रहेछ- जहाँ बाइस पाटन घुमेर आएका बाह्र भाइ मस्टा र नौ दुर्गा भवानीलाई स्वागत गरिएको वर्णन थियो। महिलाहरूले माँगल गाएपछि धामीहरूमा देवता अवतरित भएको मानिंदो रहेछ।
दृश्य थियो- जुम्लाको पिगी गाउँको। म सन् २०१६ मा घुम्दै पत्रकार कृष्णमाया उपाध्यायसँग त्यहाँ पुगेकी थिएँ। उनैले मलाई स्थानीय मस्टा देवताको पैठमा ती मानिस भेला भएको बताइन्। लोहासुर पनि भनिने त्यो मस्टोका मूल धामी परु शाही रहेछन्। उनीबाट हामीले मस्टो परम्पराबारे जानकारी लियौं।
मस्टो नामले चिनिने थुप्रै देवता कर्णालीमा निकै प्रचलित छन्। यस्तै संस्कृति सुदूरपश्चिमका बझाङ, अछाममा पनि पाइन्छ। यी मस्टाबारे कुनै पौराणिक ग्रन्थ वा ऐतिहासिक सामग्रीमा खासै उल्लेख छैन, त्यसैले लोकमा अनेक मतमतान्तर छन्।
मस्टाको प्रभाव रहेका ठाउँमा प्रत्येक कुल वा गाउँका आ-आफ्नै देवता पाइन्छन्। मस्टाको कुनै निश्चित मूर्ति हुँदैन। कतै-कतै एउटा शिला राखिएको हुन्छ। प्रायः चाहिं त्रिशूल, घण्टा, ध्वजा पताका राखेर पूजा गरिन्छ। मस्टाको पूजा वर्षको पाँच चोटि पैठ भनिने यस्तै अवसरमा गरिन्छ, खास गरी भदौ महीनामा। कतिले यसलाई तीन वर्षको एक पटक कुलपूजा वा देवाली भनेर मनाउँछन्।
राक्षसहरूले नौ बहिनीमाथि हमला गर्दा मस्टाले शिर (मस्तक) थापेर लडेकाले उनीहरूलाई मस्टा भनिएको एकथरी राय छ। त्यस्तै, मस्टालाई मरुत्को अर्थ लगाएर यी वायुदेवता रहेको बताउनेहरू पनि छन्।
शास्त्रमा उल्लेख नभएकैले कतिपयले मस्टा पौराणक/वैदिक देवता नरहेको र यिनीहरूको हिन्दू धर्मसँग पनि सम्बन्ध नरहेको तर्क गर्छन्। जनगणनामा केहीले धर्ममा हिन्दूको सट्टा मस्टो लेखाउने प्रयास पनि गरेका छन्।
मस्टाको व्युत्पत्ति
कतिपयले मस्टो धर्म कर्णालीमै उत्पत्ति भएको बताए पनि विभिन्न अध्येताले त्यसको खण्डन गरेका छन्। ‘मस्टो’ शब्दको अर्थ वा व्युत्पत्तिबारेमै मतभेद छन्। पहिले त यसको सही हिज्जे नै ‘मस्टा, मस्टो, मष्ट वा मस्ट’ के हो, स्पष्ट छैन। लोकबोलीमा यसलाई मत्थ, मद, मद्द, भयाँर/भुँयार समेत भनिएको पूर्णप्रकाश नेपाल ‘यात्री’ ले प्रज्ञा पत्रिकाको ९१ अङ्कमा लेखेका छन्। यद्यपि, ‘मस्टो’ एकवचन र ‘मस्टा’ बहुवचन भएकोमा थुप्रै विद्वान्को एकमत छ।
राक्षसहरूले नौ बहिनीमाथि हमला गर्दा मस्टाले शिर (मस्तक) थापेर लडेकाले उनीहरूलाई मस्टा भनिएको एकथरी राय छ। त्यस्तै, मस्टालाई मरुत्को अर्थ लगाएर यी वायुदेवता रहेको बताउनेहरू पनि छन्।
यस विषयमा खस साम्राज्यको इतिहास पुस्तकका लेखक बालकृष्ण पोखरेलको मतलाई धेरै नेपाली विद्वान्ले सदर गरेको देखिन्छ। उनले मस्ट शब्द फारसीहरूको जोरोआस्ट्रियन देवता अहुर माज्दाबाट आएको र मस्टको पूरा नाम ‘असुर मस्टा’ भएको दाबी गरेका छन्। फारसीमा माज्दाको अर्थ हुन्छ, बुद्धिमान्।
मध्यपूर्वमा पाँच हजार वर्षअघि आर्य समुदायका विभिन्न बगाल छुट्टिने क्रममा केही पूर्व र केही पश्चिम लागेर जोरोआस्ट्रियन/यूरोपियन बनेको मानिन्छ। ती पूर्व लागेका बगालमध्येमा केही वैदिक र केही अवैदिक थिए।
देव कि असुर?
जोरोआस्ट्रियन ग्रन्थ जेन्द अवेस्ता र हिन्दू ग्रन्थ ऋग्वेदलाई समकालीन मान्दै केही विद्वान्ले यिनको समानान्तर अध्ययनको प्रयास गरेका छन्। त्यति वेला असुरको अर्थ खलनायक नभई ‘शक्तिशाली’ भएको र इन्द्र लगायत थुप्रै वैदिक देवतालाई यो विशेषण प्रयोग गरिएको पाइन्छ। वैदिक आर्य र जोरोआस्ट्रियन आर्यको समूह छुट्टिएपछि बिस्तारै वैदिक आर्यले देवलाई नायक र असुरलाई खलनायक बनाए।
यस क्रममा जोरोआस्ट्रियनहरूले चाहिं असुरलाई नायक र देवलाई खलनायक मान्न थाले। जोरोआस्ट्रियन ग्रन्थका देवतामध्ये इन्द्रको पनि एकाध पटक उल्लेख पाइन्छ। त्यस समुदायले ‘श’ लाई ‘ह’ उच्चारण गर्ने भएकाले वेदका असुर नै जेन्द अवेस्ताका अहुर रहेकोमा यस विषयका अध्येताहरू एकमत देखिन्छन्। बालकृष्ण पोखरेलको मतमा तिनै अहुर माज्दाको रूप नेपालका असुर मस्टा हो, जसमा असुर भन्न बिर्सिइएको हो।
मस्टा असुर हुन् भने ती हिन्दू देवताका शत्रु हुन् त? प्रचलनमा रहेका कतिपय नामले यसतर्फ इङ्गित गर्छन्। जस्तै- मैले भेटेको लोहासुर मस्टो। बालकृष्ण पोखरेलले बान्नी मस्टोलाई असुर बान्नीपाल भनेका छन्। बाबिरो मस्टो भने मध्यपूर्वको बेबिलोनबाट आएको उनको मत छ। उनका अनुसार, मस्टो धर्म हिन्दूभन्दा जोरोआस्ट्रियन धर्मसँग नजिक छ/छैन भन्ने कुरा अनुसन्धेय छ।
कतिपय मस्टाका नाम हिन्दू देवीदेवतासँग मिल्दाजुल्दा रहेकाले सबै शत्रु नै हुन् भन्न मिल्दैन। रत्नाकर देवकोटाले प्रज्ञा पत्रिकाको अङ्क ९७ मा सङ्कलन गरेका मस्टाका १०९ नाममध्ये लोहासुर मात्रै होइन, रामपाल, लामा-विष्णु, जगन्नाथ, भैरो, शम्भु, रुद्र जस्ता हिन्दू नाम पनि छन्। सम्बन्धित देवीका नाम पनि कालिका-मालिका आदि छन्।
यूरोप र एशियाभरि भारोपेली भाषासँगै फैलिएको आर्य संस्कृतिमा एउटा समूहभित्र पनि विविध समुदायले छुट्टाछुट्टै लोकदेवता मान्ने गरेका थिए। जस्तै- समानान्तर ग्रीक, नोर्स र हिन्दू मान्यतामा पाइने दर्जनौं देवता।
हिन्दूकै देवता कि छुट्टै धर्म?
नेपालका मस्टा अनुयायी कुनै समय मध्यपूर्वका मूल आर्य समूहबाट छुटेका बगाल हुन् जसले ‘देव’ को हिन्दू मान्यता र ‘असुर’ को जोरोआस्ट्रियन मान्यता दुवै बोकिरहेका छन्। मस्टो नेपाल (कुमाउँ-गढवाल लगायतमा पनि) मा बस्न पुगेका आर्य समुदायका नितान्त मौलिक लोकदेवता रहेको मेरो बुझाइ छ। भिन्नाभिन्नै समुदायले छुट्टाछुट्टै देवीदेवता मान्नु नै आर्य संस्कृतिको इतिहास हो।
यूरोप र एशियाभरि भारोपेली भाषासँगै फैलिएको आर्य संस्कृतिमा एउटा समूहभित्र पनि विविध समुदायले छुट्टाछुट्टै लोकदेवता मान्ने गरेका थिए। जस्तै- समानान्तर ग्रीक, नोर्स र हिन्दू मान्यतामा पाइने दर्जनौं देवता। इसाई लगायत आधुनिक पश्चिमा धर्मको जस्तो यिनीहरूको कुनै केन्द्रीय ग्रन्थ र एउटै देवता हुनुपर्छ भन्ने छैन।
समकालीन हिन्दू धर्मको अभ्यासमा देखिन्छ- प्रत्येक समुदाय र जातजातिको आ-आफ्नै रीतिरिवाज, मान्यता र देवता हुन्छन्। तर, अहिले हिन्दू धर्मका विविधतालाई एउटै शास्त्रीय सूत्रमा जोड्ने प्रयास भइरहेको छ, जुन सर्वथा अवाञ्छनीय छ। यो धर्मको सकारात्मक पक्ष भनेकै यसको विविधता हो।
एउटै धर्मभित्र पनि परस्पर विरोधी अभ्यास, मान्यता र देवता हुनु नै यसको विशेषता हो। शाकाहारी र मांसाहारी अनि मदिरा वर्जित गर्ने र मदिराले पूजा गर्ने परस्पर विरोधी परम्परा हिन्दू धर्मभित्रै अटाएका छन्।
वेद, महाभारत, रामायण, पुराण जस्ता ग्रन्थ र मान्यताले जोड्नुअघिको हिन्दू धर्मको हामी कल्पना गर्न सक्छौं, जहाँ प्रत्येक समुदायको आफ्नै देवता, विश्वास, मूल्य-मान्यता र परम्परा हुन्थे। वैदिक आर्य तीमध्येको एक समुदाय मात्र हो जुन कालान्तरमा लोक परम्परालाई गाभ्दै विशाल र प्रभुत्वशाली हुन पुग्यो।
तिनै विविध समुदायमध्ये एक हो, मस्टा मान्ने अवैदिक आर्य समुदाय जुन नेपालमा उत्तर-पश्चिमबाट प्रवेश गरेको मानिन्छ। दक्षिणबाट आएका वैदिक आर्यभन्दा यिनीहरूको भिन्न इतिहास छ। “युफ्रेट्सबाट (आजभोलि इराक) मानव जाति मेसोपोटामियाबाट युराल पर्वत आइपुग्दछ र अफगानिस्तानबाट खैवर भञ्ज्याङ (हाल पाकिस्तान र अफगानिस्तानको बीचमा छ) एउटा शाखा गङ्गाको मैदानमा ओर्लिन्छ। अर्को शाखा काश्मिरमा जान्छ। त्यस ठाउँमा खस्किल भन्ने पर्वत छ। प्रकारान्तले खस्किल भन्ने पर्वतमा बस्ने मान्छे नै खस जाति भएको हो भन्ने भनाइ छ।
त्यसपछि कुमाउँ गढवाल आउँछ। छैटौं शताब्दीमा खस जातिको अस्तित्व कर्णालीमा देखिन्छ। त्यसको ४०० वर्षअघि कुमाउँ गढवालमा खस जातिले राज्य गरेको देखिन्छ। त्यसैले त्यस ठाउँमा पनि मष्टादेवता पुज्ने गरिन्छ,” ललितबहादुर सिंह सेतोपाटीमा लेख्छन्।
अर्कातिर मस्टालाई हिन्दू धर्मको मूलधार वा बृहत्तर भाष्यमा समेट्ने प्रयास नौलो होइन। आज भारतमा हिन्दू धर्मले मूलधारलाई परिभाषित गरेको देखिए पनि त्यहाँ यही प्रक्रियाबाट विभिन्न लोक परम्परालाई गाभ्दै मूलधार सशक्त बनेको हो। बुद्ध वा येशुलाई विष्णुको अवतार मान्नु त्यसका केही उदाहरण हुन्।
उडिसाको जगन्नाथपुरी मन्दिरबारे लामो अध्ययन गरेका बीएन पटनाइकले मूलधारको हिन्दू धर्मले ओझेल पारेको उक्त मन्दिरको एउटा प्रसङ्ग उल्लेख गरेका छन्। “कात्तिक महीनामा जगन्नाथलाई राधा दामोदरको भेषमा राखिन्छ। तर, केही पुराना मानिसले त्यसलाई राई दामोदर भन्छन्। पुरानो कथा खोज्दा जगन्नाथ र स्थानीय केटी राईको सम्बन्ध भेटिन्छ। राईका पिता जगन्नाथका भक्त थिए। उनको अनुरोधमा जगन्नाथले राईसँग विवाह गरे। राईले जगन्नाथको काखमा बसेर उनीसँगै भक्तको पूजा र मिष्ठान्नको आनन्द लिने वर मागिन्। त्यही वर पूरा गर्दाको सन्दर्भलाई जोडेर राई-दामोदर भन्न थालियो। तर, हिन्दू धर्मको भाष्यमा यो कथा गाभिंदा राईलाई राधा भनियो। अझै पुरानो कथा खोतल्दा जगन्नाथ आफैं लोकदेवता थिए। कृष्णको रूप पनि पछि थोपरिएको थियो भन्ने खुल्छ,” पटनाइक भन्छन्।
नेपालमा त हामीले आँखै अगाडि लोकदेवताको शास्त्रीकरण भइरहेको देखेका छौं। मस्टासँग सम्बद्ध विभिन्न लोकदेवीका स्थानलाई आज ‘सतीदेवीको फलानो अङ्ग पतन भएको’ भनेर चिनाइन्छ। देवीले वध गरेका कुनै पनि दानवलाई मैखासुर (लोकबोलीमा महिषासुर) भनिएको हुन्छ। तर, ती देवीका खास अनुयायीसँग कुरा गर्दा शास्त्रसँग मेल नखाने स्थानीय कथा सुनाउँछन्।
सन् २०१९ मा बाजुराको बडिमालिका पुगेकी थिएँ। त्यहाँ गाइने माँगलमा एक हात नभएको बिरा राक्षसले बडिमालिकाको बाटो छेकेको र उनले आफ्ना गहना दिएर मनाएको प्रसङ्ग भेटिन्छ। बडिमालिका पुग्नुभन्दा अघिल्लो रात त्रिवेणीमा भक्तजनले यो गीत गाएका थिए।
त्यही क्रममा केहीले ‘देवीले महिषासुर लगायत दानवलाई संहार गरेर विजयोत्सव मनाएको ठाउँ’ भनेर त्रिवेणीलाई चिनाए। शास्त्रीय स्रोतमा उल्लेख नभएको राक्षस बिरा माँगलमा आजसम्म सुरक्षित छ। तर, माँगल गाउने मान्छे हराए यो पक्कै महिषासुरमा परिणत हुनेछ। उसै गरी बडिमालिका दुर्गा मानिनेछिन्।
जुम्लाको कनक सुन्दरी मन्दिरमा पनि यस्तै छ। तत्कालीन सिँजाका राजाहरूकी यी इष्टदेवीले शुम्भ-निशुम्भको संहार त्यहीं (सिँजामै) गरेको भन्ने कथाहरू थपिएका रहेछन्। यसो हुँदा तिब्बतबाट आएकी कनक नामकी राजकुमारीको कथा भने ओझेल परिसकेछ। डोटीको घटाल थानमा रानी मौलाले कुमाउँबाट लिएर आएको लोकदेवता घटालको कथा अहिलेसम्म जीवितै छ। तर, धेरैतिर घटाललाई महाभारतको घटोत्कच भनेर चिनिन थालेको छ।
मस्टालाई शिवको रूप मान्ने पनि धेरै छन्। तर, फेरि मस्टाका नौ बहिनी भवानीमध्ये दुर्गा वा लोकबोलीमा दुरुगा/धुर्का भेटिन्छन्।
शास्त्रीयकरणको प्रयास
हिन्दू धर्मको मूलधार लोकविश्वासहरूलाई गाभेर आफ्नो विस्तार गर्न चाहन्छ। अर्कातर्फ लोकदेवताका अनुयायी पनि आफ्नो धर्म प्रचलित र शक्तिशाली मानिएका देवीदेवतासँग सम्बन्धित रहेको भनी चिनाउन लालायित देखिन्छन्। त्यसो गर्दा मस्टो पनि मूलधारका देवता जत्तिकै प्रतिष्ठित हुनुपर्ने आशय पाइन्छ। जस्तै, एउटा फाग (गीत) मा मस्टो “इन्द्रका पुत हुन्” भनिएकै आधारमा मस्टोलाई इन्द्रपुत्र जयन्तका रूपमा स्थापित गर्ने प्रयास भएको देखिन्छ। मस्टाका बाह्र भाइलाई छोटकरीमा बारमण्डली भनिन्छ। कति कुलका देवता नै “बारामण्डली” छन्। तर, त्यसलाई शास्त्रीयकरण गरेर वराह मण्डली भन्ने गरिएको छ।
मस्टालाई शिवको रूप मान्ने पनि धेरै छन्। तर, फेरि मस्टाका नौ बहिनी भवानीमध्ये दुर्गा वा लोकबोलीमा दुरुगा/धुर्का भेटिन्छन्। नवै भवानीलाई खासमा पार्वतीको रूप मानिन्छ। शिव र दुर्गाबीच दाजु-बहिनीको सम्बन्ध त हुन सक्दैन। यो प्रश्न श्याम खड्काले पनि आफ्नो पुस्तक मस्टा संस्कृति र परम्परामा उठाएका छन्। खड्काले वैद्यनाथका शिवजी मानिने देवता र उनका बहिनीहरू कालिका र मालिकाबीचको संवाद सङ्कलन गरेका छन्।
त्यसमा वैद्यनाथ दुई बहिनीलाई विवाह गरेर हिमालय पर्वतमा जान आग्रह गर्छन्। तर, दाजु चाहिं पञ्चपुरी पाटनमा बसेर आफूलाई कठिन ठाउँमा पठाएको भन्दै बहिनीहरूले गुनासो गर्छन्। यस गीतमा वैद्यनाथ र कालिका-मालिकाको दाजु-बहिनीको सम्बन्ध देखिन्छ।
“नाम वैद्यनाथ दिइए पनि ती त्यसतर्फका शक्तिशाली देवता मस्टो हुन् भनी अनुमान गर्न सकिन्छ। केही व्यक्तिले मस्टो र शिव एउटै हुन् भन्ने मानेका छन्। तर, ती दुवै अलग दैवी शक्ति हुन्,” खड्का लेख्छन्।
यही कथाको समानान्तर प्रसङ्ग मैले बाजुरामा भेटेकी थिएँ, जहाँ बडिमालिकाले दाजु शङ्करसँग आफूलाई टाढा पठाएर उनी चाहिं पाटनमै बसेकोमा गुनासो गर्छिन्। दाजुले बहिनीलाई त्यसको सट्टामा वर्षको एक पटक चाहिने सबै सामग्री पुर्याइदिने वाचा गर्छन्। यस कारण पनि मस्टा संस्कृतिमा उल्लेख गरिएका यी शिव, शङ्कर, धुर्का र मालिका शास्त्रीय शिव-पार्वतीका समानान्तर होइनन्।
“मस्टालाई कसैले इन्द्रका छोरा जयन्त, कसैले मरुद्गण, कसैले शिवरूप भन्ने गरेको देखिन्छ। त्यो बिल्कुल अज्ञानता हो। खस संस्कृतिलाई हिन्दूकृत गर्ने आशयबाट कथिएको झूट हो। मस्टो मान्यता शिव, इन्द्र वा विष्णुभन्दा उच्च अर्थात् हिन्दू धर्मले मानेको सर्वोच्च परमेश्वर परमात्मा ‘परब्रह्म’ भने जस्तै हो,” धरानन्यूज डटकममा चन्द्रप्रकाश बानियाँ लेख्छन्।
लोक-देवदेवीलाई त्यस्ता सम्बन्धबाट अलग राखेर छुट्टै अध्ययनतिर लाग्दा लोकधर्म, देवताको प्रकृति, स्थानीय इतिहास र सामाजिक संरचनाबारे धेरै जानकारी पाइन्छ।
शास्त्रीय र लोकदेवताको सम्बन्ध खोज्ने क्रममा हामी झन् अलमलिन्छौं र लोकविश्वासहरू मेटिंदै जान्छन्। बरु, लोक-देवदेवीलाई त्यस्ता सम्बन्धबाट अलग राखेर छुट्टै अध्ययनतिर लाग्दा लोकधर्म, देवताको प्रकृति, स्थानीय इतिहास र सामाजिक संरचनाबारे धेरै जानकारी पाइन्छ।
हिन्दूकरणको इतिहास
लामो समयदेखि मस्टो मान्दै आएको समुदाय हिन्दू धर्मको मूलधारमा प्रवेश गरिरहेको थुप्रै विद्वान्ले औंल्याएका छन्। प्रज्ञा पत्रिकामा पूर्णप्रकाश नेपाल ‘यात्री’ प्रश्न गर्छन्, “मस्टलाई पाण्डवको अवतार पनि भनियो। खापर मस्टोलाई इन्द्रको छोरा भनेको पनि सुनें। तर, यस किसिमको सम्बन्ध प्रायः बाहुन वा ठकुरीले हालेको कथामा मात्र देखिएको छ। छेत्री समूहलाई यी सब कुराको उति ज्ञान छैन। यो सबै भएको उनीहरूको अनभिज्ञताले हो कि बाहुन-ठकुरीको शिक्षित समुदायले अपौराणिक देवलाई पौराणिक रूप दिन खोजेकाले हो?”
यसको उत्तर डोरबहादुर विष्टले आफ्नो पुस्तक फेटालिज्म एन्ड डेभलपमेन्टमा दिएका छन्। दक्षिणबाट आएका ब्राह्मणहरूले मस्टो र किरात धर्मका अनुयायीलाई आफ्नो धर्मका अनुयायी बनाएको चर्चा उनी गर्छन्। “केही हदसम्म बाहुनले ल्याएको नयाँ धर्म र विद्यमान धामीमा आधारित परम्पराले सहकार्य गरे, किनकि दुवैले अर्को चाहिं धर्म आफ्नोमा मिल्न आएको माने। केही जजमानबाट जीविकोपार्जन गर्न पाएसम्म बाहुनलाई कुनै समस्या थिएन भने आफ्नो धर्मबाट पूरै नछुटाएको हुनाले धामीलाई पनि कुनै समस्या भएन।
केही महत्त्वाकाङ्क्षी खस धामीहरूले त बाहुनको दर्जा पनि लिए र आफ्नो भूमिका जारी राखे। नयाँ देउता मान्ने कुरामा कुनै समस्या थिएन, किनकि पुराना सँगसँगै नयाँ देउता पनि पुज्न सकिन्थ्यो। समयक्रमसँगै देशभरका मानिसले शिवका साथै विष्णु र अरू देउतालाई पनि मान्न थाले र हिन्दू भनेर चिनिए,” विष्ट लेख्छन्।
आज मस्टा अनुयायी पश्चिम नेपालमा मात्र सीमित छन्। तर, नेपालका पहाडे ब्राह्मण, क्षेत्री, दलित र राउटे समुदाय समेतका कुलदेवता मस्टो नै थिए। मूलधारको हिन्दू धर्मको प्रभावमा ती ओझेल परेका हुन्। मेरो आफ्नै परिवारमा सोधखोज गर्दा बुबाको भट्टराई परिवार आदिमस्टो भनिने बझाङको ढँणारे मस्टोको अनुयायी भएको पत्ता लाग्यो। आमाले आफ्ना पोखरेल मामाहरू धामी भएको र आङमा मस्टो चढेपछि बल्दो कोइलामाथि उफ्रिंदै नाच्ने गरेको सम्झना गर्नुभएको छ।
हिन्दू पण्डित/पुजारीले झैं सामाजिक/धार्मिक शक्ति सञ्चय गर्ने, विभेदयुक्त नीतिनियम बनाउने र धर्मका नाममा अन्धविश्वास फैलाउने प्रवृत्तिबाट मस्टोका धर्माधिकारी पनि अछूतो छैनन्। त्यस कारण, मस्टा धर्मले हिन्दू धर्मको मूलधारको नकारात्मक पक्षबाट मुक्ति दिन्छ वा विगतमा दिन्थ्यो भन्ने मान्न कठिन छ।
पितृसत्तात्मक परम्परा
हिन्दू धर्मले नेपालको मौलिक धर्मलाई ओझेल पारेको सत्य भए पनि विष्ट र अरू अभियन्ताले मस्टालाई ‘हिन्दू धर्मका नकारात्मक पक्षबाट मुक्त, समतावादी धर्म’ का रूपमा चित्रण गर्न खोजेका छन्। जुन आफैंमा संशयपूर्ण छ। आज पनि मस्टा मान्ने समुदाय जातिवाद र छुवाछूतको समस्याले आक्रान्त छ। त्यहाँ यी समस्या झन् जरा गाडेर बसेका छन्।
महिलाका मामिलामा पनि मस्टो धर्म उदार देखिंदैन। पुरुष मात्र धामी बस्न पाउने र महिला ‘चोखो’ नहुने धारणा मस्टाका अनुयायीमा पाइन्छ। मस्टा देवता ‘कडा’ र ‘रिसाउने’ भएकाले महीनावारी बार्ने गरेको, सुत्केरी हुँदा समेत गोठमा बस्ने गरेको महिलाहरूले बताएका छन्। कुलदेवता र कुलायन पूजा पुरुषले मात्र गर्न पाउने मान्यताका कारण पनि मस्टो पितृसत्तात्मक परम्परा हो।
हिन्दू पण्डित/पुजारीले झैं सामाजिक/धार्मिक शक्ति सञ्चय गर्ने, विभेदयुक्त नीतिनियम बनाउने र धर्मका नाममा अन्धविश्वास फैलाउने प्रवृत्तिबाट मस्टोका धर्माधिकारी पनि अछूतो छैनन्। त्यस कारण, मस्टा धर्मले हिन्दू धर्मको मूलधारको नकारात्मक पक्षबाट मुक्ति दिन्छ वा विगतमा दिन्थ्यो भन्ने मान्न कठिन छ।
स्थानीय इतिहास
मस्टो धर्मका केही मौलिक विशेषता छन्। यस कारण पनि मस्टोलाई नेपालको मौलिक धर्मका रूपमा अभिलेखीकरण र अध्ययन गर्न जरुरी देखिन्छ। पहिलो कुरा त मस्टोका कथाहरूले स्थानीय इतिहास बोकेका छन्। “भिन्नाभिन्नै मस्टाका भिन्नाभिन्नै कथा छन्। यो कथा तिनको जीवनी जस्तै हो। यो जीवनी धामीले पतुरेका वेला भन्छन्। यस्ता कथामा देवले गरेका अनेकन् घटना वा चमत्कार, राक्षसहरूको विनाश, एक ठाउँबाट अर्का ठाउँमा गरेका विचरण वा यात्राको वर्णन पाइन्छ। धेरै कथा कृषि र गोठाले जीवनको पृष्ठभूमिमा आधारित छन्,” यात्री भन्छन्।
यात्रीले बझाङको ढँणारे मस्टोको धमारी (गीत) सङ्कलन गरेका छन्। यस धमारीमा दुई दाजुभाइ छुरी र पिरी बोहराको कथा छ। उनीहरूको सुँगुर हराएको हुन्छ, जुन राजाले बँदेल भन्ठानेर खाएका हुन्छन्। सुँगुर खोज्दै जाँदा मस्टाले यो रहस्य खोलिदिएपछि उनीहरू राजासँग न्याय माग्न जान्छन्। राजाले भने सुँगुर खाएको आरोप लगाएकोमा रिसाउँदै मस्टालाई अमर्यादित व्यवहार गर्छन्। बदलामा मस्टाले उनको सर्वनाश गरिदिएको कथा प्रचलित छ।
मस्टा एउटै देवता नभएर ‘धेरै देवता हुन्’ भन्ने मलाई लाग्छ। यी प्रत्येक देवताको आफ्नै व्यक्तित्व र स्पष्ट प्रकृति छ। सबैको नाम मस्टा भए पनि त्यसको अर्थ आज देवताको समानान्तर हुन पुगेको छ, अर्थात् पूजित व्यक्ति/वस्तु जनाउने शब्द।
कतिपय मस्टाले समुद्री तटमा आफ्नो जन्म भएको सङ्केत गरेका छन् जुन सम्बद्ध समुदायको प्राचीन इतिहास हुन सक्छ। कुनै मस्टा पञ्जाबको जालन्धरबाट आएको इतिहास श्याम खड्काले सङ्कलन गरेका छन्। कुनै कथाले मस्टो मान्ने समुदाय उत्तर पश्चिमबाट नेपाल प्रवेश गरेको पुष्टि गर्न सघाउँछन्।
“मस्टाले प्रायः विगतको दुःख र सङ्घर्षपूर्ण यात्राको कथा सुनाउँछन्। थुप्रै मस्टाले भोटबाट आएको इतिहास सुनाउँछन् र कैलाश, मानसरोवर जस्ता ठाउँको उल्लेख गर्छन्। कतिले यस्ता कथा सुनाउँदा हिमाली क्षेत्रका खाम लगायत भाषा बोल्ने गर्छन्,” कृष्णमाया भन्छिन्। यस्ता भाषा कतिपय स्थानीयले नबुझ्ने र धामीको कैरन बुझ्न दोभाषेको मद्दत चाहिने संस्कृतिविद् सत्यमोहन जोशीको अनुभव छ।
विष्टले पनि स्थानीय मस्टो धर्म र दक्षिणबाट आएको शास्त्रीय हिन्दू धर्मबीचको द्वन्द्व देखिने एउटा कथा फेटालिज्म एन्ड डेभलपमेन्टमा सङ्कलन गरेका छन्। “गङ्गातटीय हिन्दू धर्म र अरू धार्मिक परम्पराबीचको द्वन्द्वका प्रमाण मेटिँदै छन्। त्यस्ता नौला धार्मिक अवधारणाप्रतिको शुरूआती प्रतिरोध देखाउने धेरै किस्सा कर्णाली नदी किनारका खस क्षेत्रमा भेटिन्छन्।
उदाहरणका लागि हुम्ला कर्णालीको तल्लो क्षेत्रमा पुग्ने पहिलो बाहुनको सन्ततिले आफ्ना पुर्खा र शक्तिशाली स्थानीय देउता गुरा मस्टाबीचको भेटको घटना सुनाएका छन्। ती बाहुनसँग वादविवाद गरेपछि बाहुनसँग पराजित हुनुपरेकोमा गुरा मस्टा निकै रिसाएका र चिन्तित थिए,” विष्ट भन्छन्।
मस्टाका विविध कथा र तिनका नाम समेतले ती देवताको प्रकृतिमाथि प्रकाश पार्छन्। किनकि, कतिपय मस्टाका नाम असुरसँग मिल्छन्, कतिका हिन्दू देवतासँग। त्यस्तै कतिपय मस्टा (थार्प, बुडु, कावा, ढँणार, गुरो)को शास्त्रीय भाषामा कुनै अर्थ आउँदैन। ती स्थानीय गाउँका नाममा आधारित छन्। अर्थात् यी सब धर्मको फरक-फरक विकासक्रमका उपज हुन्।
त्यसैले, मस्टा एउटै देवता नभएर ‘धेरै देवता हुन्’ भन्ने मलाई लाग्छ। यी प्रत्येक देवताको आफ्नै व्यक्तित्व र स्पष्ट प्रकृति छ। सबैको नाम मस्टा भए पनि त्यसको अर्थ आज देवताको समानान्तर हुन पुगेको छ, अर्थात् पूजित व्यक्ति/वस्तु जनाउने शब्द। तर, प्रत्येक मस्टाले आफ्नो समुदायको इतिहास र चिनारी बोक्ने हुनाले यी एकअर्काबाट नितान्त अलग छन्।
मध्य र सुदूरपश्चिममा मस्टो सञ्जाल बाहेकका लोक-देवीदेवता पनि भेटिन्छन्। जस्तै- समैजी, भागेश्वर, मालिकार्जुन, ठाकुरज्यू, आदि। यिनीहरूलाई पनि शास्त्रीय र मस्टाकै मान्यतामा समेट्ने प्रयास भइरहेको देखिन्छ। त्यसो गर्नु अगाडि यी प्रत्येक देवदेवीसँग जोडिएका मौलिकता अध्ययन गर्नु उचित हुन्छ।
(भट्टराई स्वतन्त्र पत्रकार तथा लोकसाहित्य संकलक र अनुसन्धानकर्ता हुन्। हिमालको २०७८ पुस अंकबाट।)