ज्योति विकास ब्यांकले ११ प्रतिशत बोनस शेयर दिने
ज्योति विकास ब्यांकको १४औं वार्षिक साधारण सभाले बोनस शेयर सम्बन्धी प्रस्ताव पारित गरेको छ।
२३ पुसमा काठमाडौंमा सम्पन्न साधारण सभाले हाल कायम भएको चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर बाँड्ने प्रस्ताव पारित गरेको हो। ब्यांकले शेयरधनीलाई ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।
११ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् ब्यांकको चुक्ता पूँजी रु.४.२६ अर्ब पुगेको छ।
सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ। साधारण सभाले ब्यांकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।
साधारण सभाको अवसरमा ब्यांकले तम्घास, मुर्गिया र टाँडीमा तीन नयाँ शाखा कार्यालयको उद्घाटन पनि गरेको छ। योसँगै ब्यांकका शाखा कार्यालयको सङ्ख्या १०८ पुगेको छ।