१४ हजार स्वाब परीक्षण गर्दा ९६८ मा कोरोना
कोरोनाभाइरसको सङ्क्रमण एकाएक बढेको छ। आज १४ हजार ९७१ जनाको स्वाब परीक्षण गर्दा ९६८ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आठ हजार २७२ जनाको पीसीआर परीक्षण गर्दा ५७२ जनामा र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा कोरोना देखिएको हो।
केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको छ। पाँच दिनअघि दैनिक दुई सयको हाराहारीमा सङ्क्रमित थपिंदै आएका भए पनि आज भने ९३८ पुगेका हुन्।
बिहीबार १२ हजार ९९ जनाको स्वाब परीक्षण गर्दा ५४० जनामा सङ्क्रमण देखिएको थियो। त्यसअघि १८ पुसमा सात हजार ६३१ स्वाब परीक्षण गर्दा २१६ जनामा कोरोना देखिएको थियो। त्यसपछि १९ पुसमा ३२६ जनामा, २० पुसमा ३९३ जनामा र २१ पुसमा ४३५ जनामा कोरोना देखिएको थियो।
आज थप २४ जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पनि देखिएको छ। योसँगै ओमिक्रोन सङ्क्रमण देखिएकाहरूको सङ्ख्या पनि २७ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैले ज्यान गुमाउनुपरेको छैन। आज २६२ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ७०९ पुगेको छ।
शुक्रबार देशभर दुई लाख ६३ हजार ३७१ जनालाई खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन सबैलाई आग्रह गरेको छ।