थप २४ जनामा देखियो ओमिक्रोन
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको थप २४ जनामा सङ्क्रमण देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा ओमिक्रोनको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जनाएकी छन्।
यसअघि तीन जनामा ओमिक्रोनको सङ्क्रमण देखिएको थियो। योसँगै नेपालमा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा कोरोना देखिएका स्वाबमा ओमिक्रोन छ कि छैन भन्ने पत्ता लगाउन थप परीक्षण हुँदै आएको छ।
यही क्रममा पुसमा सङ्कलन भएका ११४६ नमूनाको ‘एस-जिन’ स्क्रीनिङ गरिएको थियो। जसमा २५० नमूनामा ‘एस-जिन’ नेगेटिभ देखिएको थियो।
एस-जिन नेगेटिभ देखिएकामध्ये २४ नमूनाको ‘जिन सिक्वेन्सिङ’ गरिएको थियो। ती सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको प्रवक्ता डा.मिश्राले जानकारी दिइन्।
अहिलेसम्मको अवस्था हेर्दा देशभर ओमिक्रोनको सङ्क्रमण बढ्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रवक्ता डा. मिश्राले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी तथा नेपालमा हालसम्म उपलब्ध तथ्याङ्कहरूलाई आधार मान्ने हो भने नेपालमा पनि ओमिक्रोनको कारण अत्यधिक मात्रामा कोभिड–१९ का केसहरू बढ्न सक्ने सम्भावना रहेकाले सबैले थप सजगता अपनाउनुपर्ने देखिन्छ।’
ओमिक्रोन भेरियन्टले बिरामीको चाप बढ्न सक्ने जनाउँदै देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशनमा उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामग्रीहरूको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ।