फेरि बढ्न थाल्यो कोरोना, एकै दिन थपिए ५४० सङ्क्रमित
कोभिड-१९ सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ। चार दिनयता सङ्क्रमितको सङ्ख्या लगातार उकालो लागेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज १२ हजार ९९ स्वाब परीक्षण गर्दा ५४० जनामा कोरोना देखिएको छ। जसमा सात हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जनामा र चार हजार ८९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण पुष्टि भएको छ।
१८ पुसमा ७ हजार ६३१ स्वाब परीक्षण गर्दा २१६ जनामा कोरोना देखिएको थियो। त्यसपछि १९ पुसमा ३२६ जनामा, २० पुसमा ३९३ जनामा र २१ पुसमा ४३५ जनामा कोरोना देखिएको थियो।
आज कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा २३९ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या पनि आठ लाख १३ हजार १७६ पुगेको छ।