विकास काठमाडौं केन्द्रित भयो, अब नयाँ ठूला शहर बनाउनुपर्छ: अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन्।
बिहीबार लगानी बोर्डको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले विकास काठमाडौं केन्द्रित भएकाले अर्को शहरको आवश्यकता रहेको बताएका हुन्। उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ शहर निर्माण गर्नुपर्ने पनि बताए।
अहिलेको सन्दर्भमा कम्तीमा तीन वटा ठूला शहरको निर्माण गर्नुपर्ने उनको भनाइ थियो। “काठमाडौं शहरको नयाँ भर्सन चाहियो। दूर-दराजका ठाउँमा नयाँ काम गर्यो भने त्यहाँ शहर बन्दो रहेछ,” उनले भने, “नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौं भने विकासको अर्को नयाँ ढोका खुल्नेछ।”
अर्थमन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले पर्यटन, शिक्षा, पूर्वाधार विकास लगायत क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने बताए। उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता बृहत् योजनाहरू अघि सार्न लगानी बोर्डलाई आग्रह गरे।
त्यस्तै, उनले काठमाडौं-पोखरा-लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याए। यसका लागि अध्ययन गर्न समेत उनले निर्देशन दिए। “काठमाडौं-पोखरा, पोखरा-लुम्बिनी फास्ट ट्र्याक वा लिंक (रेलको) बनाए पनि भयो। तर, द्रुत गतिमा पुग्ने हुनुपर्यो,” उनले भने।
बैठकमा नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेल लगायतको सहभागिता थियो।