मन्त्री र सचिवलाई यस्ता छन् प्रधानमन्त्रीका नौ निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री देउवाले मन्त्री तथा सचिवलाई निर्देशन दिएका हुन्। उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।
छलफल कार्यक्रममा सबै मन्त्री, मन्त्रालयका सचिव तथा अन्य अधिकारी सहभागी थिए।
प्रधानमन्त्री देउवाले दिएका नौ निर्देशन:
१) जनतालाई दिने सबै सेवा छिटो र छरितो गर्ने गरी सबै तहका कार्यालयहरूलाई चुस्त बनाउने।
२) अत्यावश्यक सेवाहरू जनताको घर दैलोमा पुर्याउने सरकारको दायित्व भएकाले त्यस अनुसार काम गर्ने।
३) विकास निर्माणका परियोजनाको गति बढाउनका लागि आवश्यक झन्झट हटाउने र कानूनी समस्या भए त्यसमा पनि सुधार गर्ने।
४) कोभिड-१९ को जोखिम कायमै रहेकाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने प्रबन्ध प्रभावकारी रूपमा अघि बढाउने।
५) कर्मचारीको क्षमता वृद्धि गरेर विकास आयोजनाहरूको कार्यान्वयन पक्षलाई चुस्त बनाउने।
६) राष्ट्रिय गौरवका आयोजनाहरूको गति सन्तोषजनक नभएकाले प्रभावकारी रूपमा काम गर्ने गरी अनुगमन र मूल्याङ्कन संयन्त्र बनाउने।
७) सम्भावित लगानीका क्षेत्रहरू पहिचान गरी निर्यातलाई बढाउने गरी परियोजनाहरू अघि बढाउने।
८) स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीमा प्रोत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम अघि बढाउने।
९) जलविद्युत्, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने गरी नीति तथा कार्यक्रम ल्याउने।