बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ : शिक्षा मन्त्रालय
सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ।
शिक्षा मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुरूप कारबाही गर्ने बताएको हो। मेडिकल कलेजले बढी शुल्क लिएको हो वा होइन बुझ्न मन्त्रालयले चिकित्सा शिक्षा आयोगबाट अनुगमन टोली पनि गठन गरेको जनाएको छ।
काठमाडौं मेडिकल कलेजका विद्यार्थी तथा विभिन्न विद्यार्थी सङ्गठनले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन्। मेडिकल कलेजले बढी शुल्क लिएको विरोधमा धर्ना दिएका छन्।
मेडिकल कलेजले एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीसँग परीक्षा शुल्कका नाममा १० हजार बढी असुलेको र थप शुल्क नतिरे परीक्षामा बस्न नदिने धम्की दिएको विद्यार्थीको गुनासो छ। विद्यार्थी आन्दोलनमा उत्रिएपछि शिक्षा मन्त्रालयले बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने जनाएको हो।