धर्मनिरपेक्षता: बौद्ध समाजमा हुर्किएको बीउ
धर्मनिरपेक्षताको मागलाई दोस्रो जनआन्दोलन र २०७२ सालको संविधानले संस्थागत गरे पनि यसको बीउ रोप्ने काम बौद्ध समाजले ०४६ सालमै गरिसकेको थियो।
नेपालमा धर्मनिरपेक्षताको कुरा गर्दा प्रायः २०६२-६३ को जनआन्दोलन र त्यसपछि बनेको संविधानलाई जोड्ने गरिन्छ। तर, यसको बीउ धेरै अघि नै बौद्ध धर्मावलम्बीले रोपिसकेका थिए। ‘नेपाल अधिराज्यको संविधान-२०४७’ को निर्माणअघि सुझाव सङ्कलनकै वेला बौद्ध समाजले धर्मनिरपेक्षताको सवाललाई आन्दोलनको रूप दिएको थियो।
त्यही वेलादेखि नेपाली समाजमा यो एउटा अजेन्डाका रूपमा स्थापित भएको हो। राज्य धर्मनिरपेक्ष नहुँदाको प्रतिकूलता बोध गरेकैले बौद्धहरूले यो माग उठाएका थिए।
५३ वर्षे हिन्दू राज्य
नेपाल अहिले धर्मनिरपेक्ष राज्य हो। यसलाई खारेज गरी पुनः हिन्दू राज्य बनाउनुपर्ने आवाज वेलावेला उठिरहन्छ। यस्तो माग राख्नेले प्रायः नेपाल हजारौं वर्षदेखि हिन्दू राज्य रहेको तर्क गर्छन्। तर, यो बुझाइ इतिहाससम्मत छैन। यस्तोमा नेपालको धार्मिक इतिहास केलाउनु वाञ्छनीय हुन्छ।
ऐतिहासिक स्रोतसाधनका आधारमा लिच्छविराजा मानदेव (प्रथम)लाई पहिलो प्रामाणिक राजा मान्ने चलन छ। यसको खास कारण उनका सम्बन्धमा धेरै कुरा स्पष्ट उल्लेख भएको चाँगुनारायणको अभिलेख पाइनु हो। तर, पछिल्ला दिन उनीभन्दा अघिका राजाहरूबारे जानकारी दिने अभिलेख पनि भेटिएका छन्। तिनको अध्ययनबाट थाहा हुन्छ कि तत्कालीन राजाहरू आ-आफ्नो आस्था अनुसारको धर्म मान्थे। तर, राजाले मानेकै धर्म राज्यको पनि धर्म हुनु जरुरी थिएन।
सातौं शताब्दीका राजा अंशुवर्मा शैव थिए। तर, उनको योगदान बौद्ध लगायत अन्य धर्ममा पनि भेटिन्छ। पूरै लिच्छविकाल नियाल्दा राजाको व्यक्तिगत धर्म भए पनि राज्यको कुनै धर्म तोकिएको प्रसङ्ग कतै छैन।
त्यस वेला हिन्दू शब्दको प्रचलन नै थिएन। धार्मिक सम्प्रदायहरू बौद्ध, शैव, वैष्णव, शाक्त आदि नामले चिनिन्थे। यी सम्प्रदाय बेग्लाबेग्लै आस्था र विश्वासमा टिकेका थिए। राजा मानदेव वैष्णव धर्म मान्थे, तर छोरी राजकुमारी विजयवती शैव थिइन्। यो कुरा पशुपति, सूर्यघाटस्थित शिवलिङ्गको जलहरीमा कुँदिएको अभिलेखबाट स्पष्ट हुन्छ। विजयवतीले राख्न लगाएको उक्त अभिलेखमा महेश्वरको प्रशंसा गरिएको छ।
मानदेव वैष्णव भए पनि उनले बौद्ध धर्मका लागि समेत योगदान गरेको पाइन्छ। स्वयम्भूको एक अभिलेखमा ‘मानविहार’ (बौद्ध) को उल्लेख छ। त्यस्तै, गोपाल वंशावलीमा मानविहारको निर्माताका रूपमा राजा मानदेवको वर्णन छ। स्वयम्भू क्षेत्रमै मानदेवका हजुरबुबा राजा शंकरदेवको अभिलेख पाइएको छ। मानदेव र अन्य व्यक्तिले राखेका शिलालेखले उनका जिजुबाजे राजा वृषदेव बौद्ध रहेको देखाउँछन्। तिनमा वृषदेव जीवनको उत्तरार्धमा राजपाट त्यागेर बौद्ध भिक्षु बनेको उल्लेख छ।
सातौं शताब्दीका राजा अंशुवर्मा शैव थिए। तर, उनको योगदान बौद्ध लगायत अन्य धर्ममा पनि भेटिन्छ। पूरै लिच्छविकाल नियाल्दा राजाको व्यक्तिगत धर्म भए पनि राज्यको कुनै धर्म तोकिएको प्रसङ्ग कतै छैन। मध्यकालमा पनि कुनै धर्मविशेषलाई राज्यको धर्मका रूपमा प्राथमिकता दिइएको पाइंदैन।
शासकले आफूलाई धर्मविशेषको संरक्षक घोषणा गर्ने चलन इस्लाम सभ्यताको हो। भारतका विभिन्न राज्यमा कब्जासँगै मुसलमान शासकहरूले आफूलाई इस्लाम धर्मको संरक्षकका रूपमा उभ्याएपछि बचेखुचेका हिन्दू राज्यले त्यसैको सिको गरेका हुन्। यस अनुसार उनीहरू ‘हिन्दूपति’ उपाधि लिन्थे। नेपालमा पहिलो पल्ट ‘हिन्दूपति’ उपाधि लिने सत्रौं शताब्दीका मकवानपुरे राजा हरिहर सेन हुन्।
यस्तै उपाधि पछि बाइसे-चौबीसे राजाहरूले पनि लिए। तर, यो उपाधि लिनुको तात्पर्य आफूहरू ‘मुसलमान होइन, हिन्दू हौं’ भनेर चिनारी दिनु मात्रै थियो। मुसलमानहरूले कुल्चेको भूमि भएकाले उनीहरू भारतीय भूगोललाई हिन्दूस्तान नभनी होच्याएर ‘मुगलान’ भन्थे।
पृथ्वीनारायण शाहले दिव्योपदेशमा नेपाललाई असिल हिन्दूस्थाना (असल हिन्दूस्तान) भनेका छन्। तर, यसको तात्पर्य यो भूमि मुसलमानहरूको हातमा छैन भन्ने जनाउ बाहेक विशेष अर्थ खुल्दैन। शाहवंशीय राजाहरूलाई खोपीमा राखेर शासन चलाउने जंगबहादुर र त्यसपछिका राणा शासकले भने आफूले मान्ने धर्म अरूले पनि मान्नुपर्ने भन्दै हिन्दू धर्मलाई विशेष स्थान दिए। यस वेला काठमाडौंको नेवार समाजमा प्रचलित बौद्ध धर्मलाई शासक अनुकूल बनाउने क्रममा धेरै मात्रामा हिन्दूकरण गरिएको थियो।
भिक्षुको देशनिकाला
परम्परागत नेपाली बौद्ध धर्मले अब हिन्दू धर्माधिकारी वा शासक वर्गको निगाहमा बाँच्नुपर्यो। हिमाली क्षेत्रमा अभ्यास भइरहेको बौद्ध धर्मलाई भने उनीहरूले बुझेनन् वा चलाउन चाहेनन्। शासकहरूकै बुझाइमा यो ‘भोटे धर्म’ नामको कुनै बेग्लै धर्म थियो। तर, केही नेवार युवा तिब्बतबाट त्यहाँको बौद्ध परम्परा अनुसार घुलुङ (भिक्षु) भएर आउँदा देशनिकाला हुनुपर्यो।
नेपाली बौद्ध समाज धर्मनिरपेक्षता पक्षधर हुनाको खास कारण राणाकाल र त्यसपछि पनि शासकहरूको अनुदारपूर्ण व्यवहार नै हो।
शासकका आँखामा त्यो ठूलै विद्रोह ठहरियो। यसरी देशनिकाला गरिएका भिक्षु भारत गई थेरवादी परम्परा अनुसार पुनः भिक्षुत्व ग्रहण गरी महाप्रज्ञा नाममा नेपाल सरहद पस्दा नेल-हतकडी सहित भोजपुर कारागारमा राखिएको थियो।
त्यसै गरी भारतमै श्रीलंकाली बौद्ध परम्परा अनुसार भिक्षुत्व ग्रहण गरेर काठमाडौं आई धर्म-उपदेश दिएको आरोपमा सात भिक्षुलाई देशनिकाला गरिएको थियो। उनीहरूलाई विदेशी धर्ममा लागेको र समाज भाँडेको आरोप लगाइएको थियो। बौद्ध समाजमा प्रचलित ज्ञानमाला भजन गायन लगायत अन्य सानातिना गतिविधिमा समेत रोक लगाइयो। बौद्ध धर्ममा दीक्षित भएकै आधारमा दुई पल्ट देशनिकाला र जेल सजाय गरिएको यो घटना विश्व बौद्ध इतिहासकै कलङ्क हो। तर, पछि राणा शासकले नै नेपाली भिक्षुहरू स्वदेश फर्कन पाउने व्यवस्था गरिदिए।
नेपाली बौद्ध समाज धर्मनिरपेक्षता पक्षधर हुनाको खास कारण राणाकाल र त्यसपछि पनि शासकहरूको अनुदारपूर्ण व्यवहार नै हो। राजा हिन्दू भएकै कारण राज्यले धार्मिक विभेद गर्ने, सधैं दबिनुपर्ने, धर्मदर्शनका कुरामा अपव्याख्या तथा प्रतिकूल व्यवहार हुँदा पनि सहेर बस्नुपर्ने कटु अनुभव बौद्ध समाजले गरेको थियो। यसैको परिणाम- पञ्चायती व्यवस्थाको अन्त्यपछि राज्य धर्मनिरपेक्ष हुनुपर्ने माग बौद्धहरूबाट बुलन्द रूपमा आएको हो।
बहुदलीय व्यवस्थापछिको राष्ट्रिय सभामा भिक्षु अश्वघोष महास्थविरले नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुपर्ने आवाज उठाए। तर, यो मुद्दा उनको व्यक्तिगत विचार नभएर साङ्गठनिक रूपमा लामो छलफल र तयारीपछि उठाइएको हो। संसद्मा धर्मनिरपेक्षताको मागसँगै तत्कालीन सांसदहरूलाई यसबारे यथेष्ट जानकारी गराउन बौद्ध धर्म सम्बन्धी पुस्तिकाहरूको लेखन, प्रकाशन तथा वितरणको चाँजोपाँजो मिलाइएको थियो।
नेपालको बौद्ध समाज भनेको मुख्यतः काठमाडौंको परम्परागत वज्रयानी नेवार समुदाय, बौद्ध धर्म मान्ने हिमाली समुदाय र थेरवादी हुन्। यीमध्ये पनि थेरवादी सम्प्रदाय राजनीतिक रूपमा अलि जागरुक मानिन्छ। यही सम्प्रदायका प्रभावशाली भिक्षु अमृतानन्द महास्थविरले प्रतिकूल परिस्थितिमा पनि बौद्ध धर्मलाई राज्यबाट केही सुविधा दिलाउन सकेका थिए।
नेपाल संविधानतः हिन्दू राज्य बनेको राजा महेन्द्रको पञ्चायती व्यवस्था (२०१९ साल)देखि मात्रै हो। यसको मतलब नेपाल हजारौं वर्षदेखि नभएर केवल ५३ वर्ष हिन्दू राष्ट्र रह्यो।
परम्परागत जीवनमै सीमित हिमाली बौद्ध समाजसँग थेरवादीहरूको खासै सम्पर्क थिएन। उनीहरूलाई आफ्ना योजनातर्फ आकृष्ट गर्ने पहिलो प्रयास भिक्षु सुदर्शन महास्थविरले गरे। यस पङ्क्तिकारले पनि उनीसँग नजिक बसेर काम गर्ने अवसर पाएको थियो।
त्यही वेला उनले दिएको जानकारी अनुसार, त्यति वेला हिमाली बौद्ध समाजसँग धर्मनिरपेक्षता वा अन्य समसामयिक विषयमा छलफल मात्रै चलाउनु पनि ठूलो कुरा थियो। त्यही क्रममा दुई सम्प्रदायका धर्मगुरुबीच चिनजान र धर्मका विषयमा छलफल पनि गर्न भनी उनी बस्दै आएको कीर्तिपुरस्थित नगरमण्डप श्रीकीर्ति विहारमा अनौपचारिक भेटघाट आयोजना गरिएको थियो।
यसरी हिमाली बौद्ध समाज पनि धर्मनिरपेक्षताको आन्दोलनमा आइपुगेको थियो। धर्मकै सवालमा त्यति वेला चलेको विवाद, छलफल र कार्यक्रमले धेरैको ध्यान तानेको थियो। त्यसपछि नै उक्त आन्दोलनमा अन्य धर्मावलम्बीले पनि साङ्गठनिक रूपमै शनैःशनैः सहभागिता जनाउन थालेका हुन्।
त्यस क्रममा बौद्ध तथा अन्य धर्मावलम्बीले काठमाडौंमा धर्मनिरपेक्षताको माग राखी निकालेको र्याली उल्लेख्य रह्यो। तर, आवाज जतिसुकै बुलन्द भए पनि २०४७ सालको संविधानमा धर्मनिरपेक्ष राज्य स्वीकार नगरी हिन्दू राज्य नै कायम गरियो। यसपछि पनि जनजाति आन्दोलनको एउटा माग धर्मनिरपेक्ष राज्य रहिरह्यो।
नेपाल संविधानतः हिन्दू राज्य बनेको राजा महेन्द्रको पञ्चायती व्यवस्था (२०१९ साल)देखि मात्रै हो। यसको मतलब नेपाल हजारौं वर्षदेखि नभएर केवल ५३ वर्ष हिन्दू राष्ट्र रह्यो। राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको स्थापनापछि धर्मनिरपेक्षता लागू भयो।
संविधानमा देश धर्मनिरपेक्ष भए पनि व्यवहारमा भने पूर्णतः लागू हुन सकेको छैन। राज्यसत्ता सम्हालेर बसेकाहरूकै शैली धर्मनिरपेक्षता अनुरूप नहुनु प्रमुख कमजोरी हो।
‘हिन्दूत्व’ को खतरा
नेपाली समाजमा धर्मनिरपेक्षताका पक्षमा जागरण ल्याउने शुरूका हस्तीहरूमध्ये धेरैको निधन भइसकेको छ। तर, उनीहरूले नै अगुवाइ गरेको आन्दोलनले नेपाली समाजमा राज्यको कुनै धर्म नहुने मान्यता स्थापित गर्यो। राज्यलाई धर्मको मामिलाबाट पृथक् राख्नु नै धर्मनिरपेक्षता हो। कुनै धर्म सम्प्रदायसँग सरोकार नराख्ने जनसमुदाय पनि धर्मनिरपेक्षताकै पक्षधर हुन्।
संविधानमा देश धर्मनिरपेक्ष भए पनि व्यवहारमा भने पूर्णतः लागू हुन सकेको छैन। राज्यसत्ता सम्हालेर बसेकाहरूकै शैली धर्मनिरपेक्षता अनुरूप नहुनु प्रमुख कमजोरी हो। यही मौकामा भारतको वर्तमान राजनीतिमा हावी हुन पुगेको ‘हिन्दूत्व’ को राजनीति नेपालमा पनि विस्तार गर्ने अभिव्यक्ति बारम्बार आइरहन्छन्। यस्ता अभिव्यक्ति भारतीय जनता पार्टीका नेताहरू तथा भारतीय हिन्दू धर्मगुरुहरू दिइरहेका छन्। यसको अर्थ भारतमा जस्तै नेपालमा पनि धार्मिक वैमनस्य फैलाउने र धार्मिक दङ्गा गराउने हो। यस्तो योजना नेपालले वेलैमा बुझेर सचेत हुनुपर्छ।
धर्मनिरपेक्षतालाई व्यवहारमा उतार्न नसकिएकै कारण यसलाई ‘आ-आफ्नो आस्था अनुसार धर्म अवलम्बन गर्न प्रतिबन्ध लगाउने’ अर्थमा गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको छ। यद्यपि, यस्तो भाष्यलाई चिर्ने गरी उठिरहेका आवाज पनि उत्तिकै बुलन्द छन्। हिन्दू भए पनि धर्मनिरपेक्षताको पक्षमा उभिएकाहरूको ठूलो सङ्ख्याले पनि यसलाई पुष्टि गर्छ। धर्मनिरपेक्षताको आन्दोलन भलै बौद्ध समाजबाट शुरू भयो, अहिले अन्य धर्मावलम्बीको पनि उत्तिकै सरोकारको विषय बनेको छ। यही नै यो आन्दोलनको सफलताको सङ्केत हो।
(महर्जन बौद्ध धर्म अध्येता हुन्। हिमालको २०७८ पुस अङ्कबाट।)