झलनाथ खनालको भारतमा उपचार गर्दा राज्यकोषको साढे ५८ लाख खर्च
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि सरकारले दुई पटक गरी रु. ५८ लाख ५३ हजार राज्यकोषबाट दिएको देखिएको छ।
भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौलाको उपचार गराएका खनाललाई सरकारले उक्त रकम दिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थ मन्त्रालय विविध शीर्षकबाट भएको निकासा तथा रकमान्तर विवरणमा उल्लेख छ।
गत ७ असारमा बसेको केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो। जस अनुसार, भैपरी आउने बजेट शीर्षकबाट रकमान्तर गरी आर्थिक सहायता उपलब्ध गराइएको हो।
जनस्वास्थ्य सेवा ऐन, २०७५ ले विदेशमा उपचार गर्दा सरकारले आर्थिक सहयोग नगर्ने व्यवस्था गरेको छ। सरकारले यस्तो कानूनी प्रावधानको बेवास्ता गरी नेता खनाललाई खर्च उपलब्ध गराएको थियो।
त्यस्तै, मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार, एमाले नेता रघुजी पन्त सहितका तीन जनालाई गरी रु. २७ लाख आर्थिक सहायता गरिएको पनि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
विवरणमा पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई गत ८ कात्तिकको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार रु. १० लाख आर्थिक सहायता दिइएको उल्लेख छ। त्यसै गरी, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई पनि पूर्व प्रधानमन्त्रीले पाउने सुविधा बमोजिम कर्मचारी, सवारी साधनको तेल इत्यादि खर्चका लागि रु.७ लाख ३७ हजार आर्थिक सहायता उपलब्ध गराइएको छ।
यस्तै, मन्त्रिपरिषद्को १६ मंसीरको बैठकको निर्णय अनुसार, पूर्व मन्त्री प्रदीप नेपाल सहितका तीन जनालाई रु. ३२ लाख आर्थिक सहायता बाँडिएको छ।