भारतमा एकैदिन थपिए ५८ हजार सङ्क्रमित, विभिन्न राज्यमा कर्फ्यू
भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिन थालेसँगै विभिन्न राज्यमा कर्फ्यू लगाइएको छ भने आवतजावतमा कडाइ गरिएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ जनामा सङ्क्रमण पुष्टि भएको छ। कोरोना सङ्क्रमणबाट एकै दिन ५३४ जनाको मृत्यु भएको छ।
त्यस्तै, अहिलेसम्म एक हजार ८९२ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएको छ। महाराष्ट्रमा ५६८, दिल्लीमा ३८२, केरलामा १८५, राजस्थानमा १७४, गुजरातमा १५२ र तमिलनाडुमा १२१ जनामा ओमिक्रोन पुष्टि भएको छ। सङ्क्रमण पत्ता लगाउन हजारौं सङ्ख्यामा परीक्षण भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
नेपालसँग सीमा जोडिएको बिहारमा कोरोना सङ्क्रमण तीव्र देखिएको छ। अहिलेसम्म दुई हजार २२२ जनामा सङ्क्रमण पुष्टि भएको छ। पटना र गयामा सबैभन्दा बढी सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सङ्क्रमण बढेपछि रात्रिकालीन कर्फ्यू लगाइएको छ। राति १० देखि बिहान ५ बजेसम्म दुई साता कर्फ्यू लागू गरिएको छ भने कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई विद्यालय जान रोक लगाइएको छ।
कक्षा १ देखि १२ सम्मका कुल विद्यार्थीमध्ये एउटा कक्षामा ५० प्रतिशत मात्रै राखेर पढाइ गर्न पाइने व्यवस्था गरिएको छ। धार्मिकस्थल, जीम, सिनेमा हल, क्लब, स्वीमिङ हल बन्द गरिएको छ।
भारतको राजधानी दिल्लीमा सङ्क्रमण बढेपछि रात्रिकालीन कर्फ्यू लगाइएको छ। राज्य सरकारले राति १० देखि बिहान ५ बजेसम्म कर्फ्यू लागू गरेको छ। कर्फ्यूको समयमा अत्यावश्यक सामग्रीका पसल बाहेक अन्य सबै बन्द हुने बताइएको छ। दिल्लीमा एकैदिन पाँच हजार ४८१ जनामा कोरोना पुष्टि भएको छ।
अर्को राज्य कर्नाटकमा दुई हप्तासम्म बन्दाबन्दी गर्ने तयारी गरेको छ। कोरोना सङ्क्रमण बढेसँगै यहाँका सरकारले रातमा आवतजावत गर्न नमिल्ने गरी कर्फ्यू लागू गरिसकेको छ। होटल, सिनेमा हल, शपिङ मल सबैमा ५० प्रतिशत मानिस मात्र बस्ने पाउने व्यवस्था गरिएको छ।
पञ्जाबमा पनि रात्रिकालीन कर्फ्यू लागू गरिएको छ। राति १० देखि बिहान ५ बजेसम्म आवतजावत गर्न रोक लगाइएको छ। मास्क नलगाउने व्यक्तिलाई सरकारी तथा निजी सेवाबाट वञ्चित गरिने घोषणा गरिएको छ।
तिलंगनामा ८ देखि १६ जनवरीसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। बन्दाबन्दी गर्न आवश्यक नरहेकाले त्यहाँको सरकारले विद्यालय केही समयका लागि बन्द गर्न लागेको जनाएको छ।
केरलामा सभा-समारोहमा कम मानिस भेला हुन आग्रह गरिएको छ। सभामा ७५ देखि १५० जनासम्म मात्र भेला हुन पाउने आदेश जारी गरिएको छ। केरलामा हालसम्म १८१ व्यक्तिमा ओमिक्रोन भाइरस सङ्क्रमण पुष्टि भएको छ।