राष्ट्रिय सभाको निर्वाचनका लागि सुदूरपश्चिमबाट ६ जनाको उम्मेदवारी
सुदूरपश्चिम प्रदेशबाट विभिन्न दलका ६ जनाले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रले मनोनयन दर्ता गरेका हुन्।
१२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले २० पुस बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो।
प्रतिपक्षी दल नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र अन्यतर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत जयानन्द पनेरूले जानकारी दिए।
यस्तै, गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका तर्फबाट कैलालीका नारायण मिश्र, दलितमा माओवादी केन्द्रका तर्फबाट डडेल्धुराका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका हुन्।
सुदूरपश्चिममा प्रदेश सभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख १७५ जना गरी २२७ जना मतदाता छन्।
निर्वाचन अधिकृत पनेरूले २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न दिने तालिका रहेको बताए।
राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदै छन्। २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन्। बाँकी १९ जनाका लागि सात प्रदेशमा निर्वाचन हुनेछ।