प्रदेश–२ : राष्ट्रिय सभा निर्वाचनमा २ पदका लागि ५ जनाको उम्मेदवारी
राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत प्रदेश–२ मा दुई पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ।
सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टी (जसपा)का मो खालिद सिद्दीकीले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि कुराकानी गर्दै सिद्दीकीले सबै वर्ग र समुदायको उत्थानका लागि क्रियाशील रहेको बताउँदै मतभारका आधारमा आफू नै निर्वाचित हुनेमा विश्वस्त रहेको बताए।
त्यसै गरी, अर्यालले संघीयता कार्यान्वयन र महिला अधिकारका लागि आफू सदैव प्रयत्नशील रहेकाले जित्नुपर्ने दाबी गरिन्।
प्रदेश–२ मा सत्तारूढ गठबन्धन बलियो छ। गठबन्धन अन्तर्गत कांग्रेसको २२ सय ६२ मतभार, माओवादी केन्द्रको ११ सय ९४, जसपाको २९ सय ८८ र नेकपा (एकीकृत समाजवादी)को ७५० मतभार छ।
विपक्षी दलले भने छुट्टाछुट्टै रूपमा उम्मेदवारी दर्ता गराएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट रूपा यादव र श्यामसुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका थिए। तर, सरदारको नाम प्रदेश सभाको समानुपातिक सूचीमा रहेको भन्दै निर्वाचन कार्यालयले रद्द गरिदिएको छ। लोसपाको प्रदेश–२ मा १५ सय ६० मतभार छ।
नेकपा (एमाले)बाट उस्मान अन्सारी र विना साहले उम्मेदवारी दर्ता गराएका छन्। एमालेको ९४२ मतभार छ।