कोभिड–१९ विरुद्धको थप मात्रा खोप कार्यक्रम स्थगित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट लक्षित वर्गलाई शुरू गरेको थप मात्राको खोप हाललाई स्थगित गरेको छ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप उपलब्ध गराउन आवश्यक रहेको भन्दै थप मात्रालाई स्थगित गर्ने निर्णय गरेको जनाएको हाे।
यस विषयमा छलफल गरी माघ महीनामा जानकारी दिने सूचित गर्दै हाललाई राष्ट्रिय खोप अभियान नै द्रुत गतिमा सञ्चालन गरिने मन्त्रालयले जनाएकाे छ।
यसअघिको सूचनामा मन्त्रालयले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू, सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी सङ्क्रमित, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथि उमेरका व्यक्तिलाई खोप प्रदान गरिने जानकारी दिएको थियो।