बसन्त चौधरीका दुई कृति सार्वजनिक
स्रष्टा बसन्त चौधरीका दुई कृति एकसाथ सार्वजनिक भएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक समारोहका बीच कविता सङ्ग्रह तिमीविनाको म र अनेक पल और में सार्वजनिक गरिएको हो। अनेक पल और में हिन्दी भाषाको कविता सङ्ग्रह हो।
स्रष्टा चौधरीका साथै कवि तुलसी दिवश, प्रा. भुवन ढुंगाना, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र प्रकाशक मेघा चौधरीले संयुक्त रूपमा दुवै कृतिको विमोचन गरेका हुन्।
भारतीय प्रकाशन गृह वाणी प्रकाशनद्वारा प्रकाशित अनेक पल और मेंलाई कलिङ्ग लिटरेचर फेस्टिभल–२०२१ बाट सर्वश्रेष्ठ काव्य सङ्ग्रहको सम्मान प्राप्त भएको छ। मंगलबारको कार्यक्रममा उक्त सम्मानको ट्रफी तथा प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो।
तिमीविनाको मकी प्रकाशक मेघा चौधरीले नेपाली साहित्य, भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरणका लागि उक्त कृति प्रकाशन गरेको बताइन्। उनले भनिन्, “व्यवसायमा भन्दा मेरो बुबा बसन्त चौधरी साहित्य सिर्जनामा रमाएको पाउँछु।”
प्रा. भुवन ढुंगानाले तिमीविनाको म सरल भाषामा गहन अर्थ बोकेको कृति भएको बताइन्।
यी दुई बसन्त चौधरीका नवौं र दशौं कृति हुन्। चौधरीले समान रूपमा नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा कलम चलाउँदै आएका छन्।
नेपाली साहित्यमा पुर्याएको योगदान बापत उनले ‘नातिकाजी लोकप्रिय सङ्गीत प्रतिभा पुरस्कार’, ‘नइ–ईश्वरवल्लभ साहित्य पुरस्कार’ लगायत सम्मान पाइसकेका छन्।