कांग्रेस जिल्ला सभापतिलाई धम्क्याउने एसपी तीन महीना निलम्बित
सिराहाका तत्कालीन एसपी हिराबहादुर पाण्डे तीन महीनाका लागि निलम्बित भएका छन्।
आफ्नो सरुवा भएपछि नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई पाण्डेले ज्यान मार्ने धम्की दिएका थिए। जिल्ला सभापतिलाई धम्क्याउने एसपी पाण्डे तीन महीना निलम्बनमा परेको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए।
एउटा मुद्दाको विषयमा एसपी पाण्डे र यादवबीच केही साताअघि विवाद भएको थियो। विवादपछि यादवले एसपी पाण्डेको सरुवा गराउने धम्की दिएका थिए। त्यसको केही समयमै पाण्डेको सरुवा भएको थियो। स्रोतका अनुसार, यादवले पक्राउ परेका व्यक्तिलाई छुटाउन अनावश्यक दबाब दिने गरेका थिए।
सरुवा भएपछि आक्रोशित एसपी पाण्डेले घरमै पुगेर ज्यान मार्ने धम्की दिएको आरोप यादवले लगाएका छन्। पेस्तोल सहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले फर्काएका थिए।
आफूलाई मार्छु भन्दै एसपी पाण्डे पेस्तोल सहित घरमा आएको सभापति यादवले बताए। उनले भने, “म अर्को घरमा भएका कारणले उहाँको र मेरो भेट चाहिं हुन सकेन।”
नेपाली कांग्रेस सिराहा जिल्ला कार्यसमितिले जिल्ला प्रहरी कार्यालय सिराहाका तत्कालीन प्रमुख हिराबहादुर पाण्डेलाई फौजदारी अभियोगमा हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ।
प्रमुख जिल्ला अधिकारी कवारीले यस विषयमा अनुसन्धान भइरहेको बताउँदै थप केही बोल्न नमिल्ने बताए। उनले भने, “अनुसन्धान सकेपछि सबै जानकारी दिनेछौं।”