आजबाट कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिइने, क–कसले पाउने?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ।
खोप पूर्ण मात्रामा लगाएको तीन महीना नाघेका दीर्घरोगीहरूलाई अतिरिक्त मात्रा खोप दिन लागिएको हो।
मन्त्रालयका अनुसार, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू, सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी सङ्क्रमित, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथि उमेरका व्यक्तिलाई खोप प्रदान गरिने भएको हो।
यी समूहलाई पहिले ‘हेमोलोगस कोभिड–१९ खोप’ लगाएका कारण हाल यही खोप थप एक अतिरिक्त मात्रा दिन लागेको मन्त्रालयले जनाएको छ।
खोप लगाउन खोप कार्ड सहित नजिकैको स्वास्थ्य संस्थामा गई थप मात्रा लगाउन सकिन्छ। यो खोप बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई दिइने थप एक अतिरिक्त मात्रा रहेको मन्त्रालयले स्पष्ट पारेको छ।