एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)ले पनि उम्मेदवारको टुङ्गो लगाएको छ।
एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनमा पाँच जना उम्मेदवार तय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। यसअघि बसेको सत्तारूढ गठबन्धनबीच भएको भागबण्डामा एकीकृत समाजवादीको भागमा पाँच सीट परेका थिए।
एकीकृत समाजवादीले प्रदेश १ मा महिलातर्फ जयन्ती राई, बागमतीमा गोमा तिमल्सिना, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरेलाई उम्मेदवार बनाएको छ। त्यस्तै, कर्णालीमा खुलाबाट उदयबहादुर बोहोरा र सुदूरपश्चिममा महिलातर्फ मदनकुमारी (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
१२ माघमा राष्ट्रिय सभाका १९ सीटका लागि निर्वाचन हुँदै छ। यसमा सत्तारूढ गठबन्धनले साँझा उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेकपा (एमाले)ले १९ वटै सीटमा उम्मेदवार चयन गरेको छ।