राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ दलले यसरी गरे भागबण्डा
राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलले मिलेर उम्मेदवारी दिने सहमति गरेका छन्।
सोमबार बिहान प्रधानम्रन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मिलेरै उम्मेदवारी दिने सहमति गरेको राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले बताइन्। १२ माघमा राष्ट्रिय सभाका १९ सीटका लागि निर्वाचन हुँदै छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकले रिक्त १९ सीटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सीटमा सोही पार्टीलाई उम्मेदवारी दिने सहमति गरेको छ। चुनाव हुन लागेका १९ सीटमध्ये बाँकी ८ सीटमा भागबण्डा गरिएको छ।
एमाले सांसदको रिक्त हुन लागेको आठ सीटमा कांग्रेसलाई तीन, जनता समाजवादी नेपाललाई २, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई एक-एक सीट दिने सहमति भएको पौडेलले बताइन्।
यसरी, यसअघि सांसद रहेका र एमालेका सांसद् रिक्त रहेका गरी १९ सिटको भागबण्डा गर्दा कांग्रेसका ६, माओवादीका ५, एकीकृत समाजवादीका ५, जसपाका २ र जनमोर्चाका १ जना उम्मेदवार बन्ने भएका छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धनमा रहेका दलले यसअघि नै चुनावी तालमेल गर्ने आपसी सहमति गरेका थिए। निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले २० पुसको समय निर्धारण गरेको छ।