कुष्ठराेगका कारण ३० वर्षदेखि जंगलमा बास
पाल्पाको निस्दी गाउँपालिकाका एक वृद्ध ३० वर्षदेखि जंगलमा बास बस्दै आएका छन्
निस्दी– ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब सात सय मिटर टाढा जंगलमा बस्छन् ।
कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले उनलाई गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजिकै पठाएका थिए ।
उमेरले करीब ८० वर्ष पुगेका सुनारीले आफू बिरामी भएपछि गाउँलेले आफूलाई हेला गर्ने गरेको गुनासो गरे । “पहिले पनि मेरो नजिक आउन र सँगै खाना खान कोही मान्थेनन्, अन्त्यमा जंगलको बास गराए”, सुनारीले गुनासो गरे ।
अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर घर बोलाए पनि गाउँलेले दुव्र्यवहार गर्ने डरले गाउँ फर्कन नसकेको बताए । सुनारी पहिले आफ्ना भाइसँगै बस्दै आएका थिए ।
बुढेसकालको शरीर जंगलको बास, पानी पर्दा र रातमा जंगली जनावर कराउँदा डरसँगै दुःख लाग्ने सुनारी बताउँछन् । अहिले भने गाउँमा हुने विवाह तथा चाडपर्वमा सहभागी हुने गरेको उनले बताए ।
सुनारी खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आएका छन् । माइक्रो ब्याक्ट्रेरियम नेप्रेइयमका कारण छालामा लाग्ने कुष्ठरोग लामो समयसम्म छालामा एकअर्काबीच छोइराखे मात्र सर्ने रामपुर अस्पतालका मेडिकल अधिकृत रामप्रसाद कोइराला बताउँछन् ।
कुष्ठरोग लागेर निको हुने भए पनि गाउँमा अझै अन्धविश्वासका कारण कुष्ठरोगीप्रति दुव्र्यवहार हुने गरेको छ ।
–पवित्रा घिमिरे