ग्लोबल आइएमई ब्यांक १६औं वर्षमा प्रवेश
ग्लोबल आइएमई ब्यांक लिमिटेड १८ पुसदेखि १६औं वर्षमा प्रवेश गरेको छ।
उक्त अवसरमा ब्यांकले १५ वर्षदेखि ब्यांकमा सेवा गरिरहेका ४९ कर्मचारीलाई सम्मान गरेको हो। काठमाडौंको एभरेस्ट होटेलमा १८ पुसमा आयोजित कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले कर्मचारीलाई सम्मान गरेका हुन्।
नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले ब्यांकका अध्यक्ष ढकाललाई सम्मान गरेका थिए।ढकालले ग्लोबल आइएमई ब्यांकले उत्कृष्ट ब्यांकिङ सबैका लागि भन्ने नाराका साथ १५ वर्षमा १८ वटा ब्यांक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिशन गरेको बताए।
हाल ब्यांकको ३३.७५ अर्ब रुपैयाँ शेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन र २६९ अर्ब रुपैयाँ कर्जा लगानी छ। ग्लोबल आइएमई ब्यांकले ७६ जिल्लामा रहेका २८७ शाखा, २६३ शाखा रहित ब्यांकिङ सेवा र २५२ एटीएम मार्फत २७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
१८ पुस २०६३ मा क्षेत्रीय स्तरको वाणिज्य ब्यांकका रूपमा ग्लोबल ब्यांकको स्थापना भएको थियो।