कर्णालीबाट गंगा महत, चुडामणि शर्मा र पदम माझी एमालेका उम्मेदवार
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले)ले कर्णालीका तीन उम्मेदवारको टुङ्गो लगाएको छ।
कर्णालीबाट राष्ट्रिय सभाका तीन सदस्यका लागि हुने निर्वाचनमा जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझीलाइ उम्मेदवार चयन गरेको छ। प्रदेशबाट पठाएका नौ जनामध्ये केन्द्रले तीन जनाको नाम टुङ्गो लगाएको एमाले प्रदेश इन्चार्ज यामलाल कँडेलले बताए।
राष्ट्रिय सभा सदस्य नेकपा (माओवादी केन्द्र)का जीवन बुढा, नेकपा (एकीकृत समाजवादी)का ठगेन्द्रप्रकाश पुरी र नेकपा (एमाले)का कविता बोगटीको पदावधि १८ फागुनमा सकिंदै छ। त्यसअघि १२ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ।
त्यसका लागि एमालेले तीन जना उम्मेदवार चयन गरेको हो। एमालेले महिलाबाट महत, अल्पसङ्ख्यकबाट माझी र अन्य समुदायबाट शर्मालाई उम्मेदवार बनाउने भएको हो।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्। कर्णालीमा सबैभन्दा बढी मतभार माओवादीको छ।
स्थानीय तहमा माओवादीका ५२ पदाधिकारी छन् भने प्रदेश सभामा १२ सांसद छन्। स्थानीय तहको ९३६ र प्रदेश सांसदको ५७६ गरेर माओवादीको १५१२ मतभार छ।
त्यस्तै, एमालेका १३ प्रदेश सांसद र स्थानीय तहमा ४५ पदाधिकारी छन्। सांसदको ६२४ र स्थानीय तहका जनप्रतिनिधिको ८१० गरी १४३४ मतभार रहेको छ।
नेपाली कांग्रेसका स्थानीय तहका जनप्रतिनिधि ४० र प्रदेश सभा सांसद ६ जना छन्। स्थानीय तहको ७२० र प्रदेश सांसदको २८८ गरी १००८ मतभार छ।
चौथो नम्बरमा रहेको एकीकृत समाजवादीका तीन सांसद र १३ जनप्रतिनिधि छन्। जनप्रतिनिधिको २३४ र सांसदको १४४ गरी ३७८ मतभार रहेको छ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष र प्रमुख तथा उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ तोकिएको छ। सबैभन्दा बढी मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछन्।