नेपालमा के गर्दै छन् कीर्तिमानी आरोही राइनहोल्ड मेस्नर?
मृत्यु र जीवनको दोसाँधबाट जुधेर आएका राइनहोल्ड मेस्नर अहिले ७७ वर्षको उमेरमा पर्वतारोहण कलाका दार्शनिक बनेका छन्।
पाँच वर्षकै उमेरदेखि मेस्नरले इटालीको डोलोमाइस्टस्का चट्टानका ठूला पहाडमा चढ्न शुरू गरेका थिए। २६ वर्षको उमेरमा सन् १९७० मा उनले पहिलो हिमाल आरोहण पाकिस्तानको ‘नङ्गा पर्वत’ बाट शुरू गरे, जहाँ आफ्ना दाजुसँगै खुट्टाका सात औंला पनि गुमाउनुपर्यो।
त्यसपछि सन् १९७८ मा उनले एक्लै पुन: नङ्गा पर्वतको आरोहण गरे। त्यही वर्ष पिटर ह्याबलरसँगै अक्सिजनविना विश्वकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरे। सन् १९८० मा फेरि अक्सिजनविना नै एक्लै सगरमाथा चढे।
पर्वतारोहणलाई निरन्तरता दिंदै उनले लगातार विश्वका ८ हजार मिटर अग्ला १४ हिमालको आरोहण गरे। सन् १९८६ मा उनी ८ हजार मिटर अग्ला पर्वत चढ्ने पहिलो व्यक्तिका रूपमा चिनिए।
“हामी त्यस्तो ठाउँमा गयौं जहाँ हामी मर्न सक्थ्यौं, तर मरेनौं। परम्परागत पर्वतारोहण भनेकै नमर्ने कला हो,” मेस्नरले भने।
कोरोना महामारीपछि उनी पुन: नेपाल भ्रमणमा आएका छन्। उनले थपे, “मानिसको जीवनसँग हिमाललाई तुलना गर्दा यो अनन्त छ। हामी त्यही अनन्तता प्राप्त गर्न हिमालको टुप्पोमा जान्छौं। आरोहण एक व्यर्थ गतिविधि हो, जीवन जस्तै बेतुकको।”
सात महीनामै ८ हजार मिटर अग्ला १४ हिमालको आरोहण गरेका निर्मल (निम्स) पुर्जाको साहसलाई उनले प्रशंसा गरेका छन्। “मलाई अक्सिजनविना यी १४ वटा हिमाल चढ्न १६ वर्ष लागेको थियो, तर निर्मलले छोटो समयमै सम्भव गरेर देखायो। उनीप्रति मेरो ठूलो सम्मान छ। यो पछि पनि उनी माउन्ट केटुमा गएर जाडो याममा चढ्ने पहिलो व्यक्ति बने,” उनले भने।
मेस्नरले आफ्नो किताबका लागि निर्मलसँग काम गरेका थिए, जुन जर्मनीमा सार्वजनिक भइसकेको छ। उनले नेपाली आरोहीको प्रशंसा गर्दै आधुनिक प्रविधिको सहायताका कारण एक क्याम्पबाट अर्को क्याम्पमा सजिलै जान सकिएको बताए। तर, निर्मलको टोलीले आफ्नै अक्सिजन लिएर अन्य पर्वतारोहीका लागि डोरी मिलाई सहज बनाइदिएकाले पनि यो ठूलो उपलब्धि मान्नुपर्ने उनको भनाइ छश्र
पश्चिमा देशबाट आएका आरोहीलाई हिमाल चढ्न सघाउने नेपालीले बल्ल क्रेडिट पाउन थालेको मेस्नरको ठहर छ। गोर्खा भरिया र शेर्पा गाइडले विश्वका विभिन्न हिमालमा गएर सहयोग गर्दै आएका थिए।
अहिले गोर्खा तथा शेर्पा सहयोगीका रूपमा नभई आफैं हिमाल आरोहण गर्न थालेका छन्। “गएको १०० वर्षमा शेर्पाहरू आफैं आर्थिक रूपमा सबल भई आफ्नै आरोहणको व्यवस्थापन गर्न सक्ने भएकोमा म धेरै खुशी छु,” मेस्नरले भने।
हिमाल आरोहणमा आकर्षण बढेको छ र पर्वतारोहीहरू सगरमाथामा नेपालीले हालेको डोरी समातेर टुप्पोमा पुग्न थालेका छन्। “यसले आर्थिक उन्नति त ल्यायो, तर यो पर्वतारोहण होइन, पर्यटन हो,” मेस्नर भन्छन्।
उनी परम्परागत आरोहणको प्रशंसा गर्छन्। “परम्परागत आरोहण भनेको ज्यान जान सक्ने ठाउँमा जीवित रहने कला हो। यदि त्यस्तो ठाउँबाट खतरा हुन सक्ने सबै सम्भावनालाई हटाइयो भने त्यसलाई आरोहण भनिंदैन। यदि सुरक्षित तवरले हिमाल चढ्न र उतार्ने पूर्वाधारहरूको व्यवस्थापन गरियो भने यसलाई पर्यटन भन्नुपर्छ,” उनी भन्छन्।
हिमाल चढ्दा दिनुपर्ने रोयल्टीबाट उठेको राजस्वसँगै अब नेपालको आर्थिक क्षेत्र हिमाल आरोहणमा निर्भर भएको छ।
‘अल्पाइन स्टाइल’ (अक्सिजन र शेर्पाविना) को आरोहणले कमै मात्र रोजगारको मौका प्रदान गर्छ। तर, अल्पाइन स्टाइल आरोहण गर्दा कमै मात्र व्यक्ति हिमालमा हुने भएकाले वातावरण जोगाउन मद्दत गर्ने उनी मान्छन्।
उनले विभिन्न ठाउँ लेक्चर दिंदै, सङ्ग्रहालय तथा चलचित्रका माध्यमबाट अल्पाइन स्टाइल पर्वतारोहणको प्रचार र प्रवर्द्धन गर्दै आएका छन्। उनको नयाँ चलचित्र ह्वाइट आउटमा पनि यो कुरा उल्लेख गरेका छन्।
सन् १९७० मा आफ्ना दाजुलाई नङ्गा पर्वतमा छाडेर मर्न दिएको आरोप मेस्नरलाई सधैं लागिरहन्छ। यसको जवाफमा उनी भन्छन्, “समुद्रको सतहमा बस्ने व्यक्तिहरूले ८ हजार मिटर उचाइमा जीवन बाँच्न गरिएको निर्णयमाथि मूल्याङ्कन गर्न हुँदैन।”
उनले हालसम्म ८ हजार मिटरभन्दा बढी उचाइ भएका ३१ वटा आरोहणमा भाग लिएका छन्, जसमा १८ अरोहण सफल भए। त्यसपछि उनी राजनीतिमा प्रवेश गरे र पाँच वर्षसम्म युरोपेली संसद्का सदस्य रहे।
नेपाल भ्रमणमा आएका उनले यसपालि नाम्चेमा शुरू गरेको शेर्पा हिमाल म्यूजियमको निरीक्षण गर्नेछन्। जुन उनकै सहयोगमा निर्माण भएको हो। उनले विश्वभरका विभिन्न क्षेत्रमा सङ्ग्रहालय खोलेका छन्।
मेस्नरले जलवायु परिवर्तनका कारण पर्वतारोहण झनै खतरामूलक भएको चिन्ता व्यक्त गरे। मौसम परिवर्तन, औद्योगिकीकरण, यातायात तथा खनिज पदार्थका कारण विश्वकै वातावरण अनियन्त्रित भएको छ र यसले हिमालयलाई प्रभावित गरेको छ।
त्यस्तै, उनले आफू चढेका हिमालहरू आसपास बसोबास गर्ने व्यक्तिका लागि विद्यालय तथा अस्पताल सञ्चालन गरेर सहयोग गरिरहेका छन्।
उनले भने, “हिमाल चढिसकेपछि मैले नेपालमा बसोबास गर्ने मानिसलाई बुझ्न थालेको छु। मैले पर्यटन प्रवर्द्धन गरेर यो देशलाई केही दिन सकेकोमा निकै खुशी लागेको छ। मेरा आरोहणहरूको सफलताका लागि म नेपालप्रति आभारी छु।”
यो सामग्री अङ्ग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।