‘सगरमाथाले सबैलाई दिन सक्दैन’
सगरमाथाका कारण खुम्बु क्षेत्रमा कस्तो परिवर्तन देख्नुभयो ?
बाहिरबाट हेर्दा हिमालमा खासै कुनै परिवर्तन देखिंदैन । वातावरणीय पक्षबाट हेर्दा जलवायु परिवर्तनको असर देखिन सक्छ । सगरमाथाले खुम्बु क्षेत्रमा ठूलो सामाजिक परिवर्तन ल्याएको छ ।
पर्यटनले यहाँका मानिसको आर्थिक स्तर बढेको देखिन्छ । होटल, रेस्टुरेन्टसँगै पर्वतारोहण र पथप्रदर्शनमा लागेर धेरैले राम्रो आम्दानी गरेका छन् । पदमार्ग आसपासमा घर हुने परिवार समृद्ध भएको देखिन्छ । तर, पर्यटनको लाभ सबै क्षेत्रमा समान वितरण भएको छैन ।
खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिंदा पर्यटनमा कस्तो प्रभाव पर्छ ?
स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सडक चाहिने हो । तर, खुम्बुबाट निर्यात गर्न सकिने उत्पादन छैनन् । यहाँ उपभोग्य वस्तुहरू सस्तो मूल्यमा ल्याउन सकिन्छ कि भनेर बाटोको माग भइरहेको हो । यहाँको अर्थतन्त्रको मेरुदण्ड पर्यटन हो, त्यसैले यसलाई असर नपर्ने गरी बाटो ल्याउनुपर्छ ।
सन् १९६४ मा लुक्ला विमानस्थल निर्माण भएपछि लुक्लाबाटै पदयात्रा थाल्ने पर्यटकको संख्या बढ्दो छ । त्यसैले पर्यटनलाई सघाउने गरी लुक्लासम्म मात्र बाटो ल्याउनुपर्छ । मलाई लाग्छ, लुक्लासम्म गाडी पुग्दा खुम्बु पुग्ने पर्यटकको संख्या एक वर्षमै दोब्बर हुन्छ । यस क्षेत्रमा ठूलो संख्यामा नेपाली र भारतीय पर्यटक आउँछन् ।
खुम्बु क्षेत्र व्यवस्थापनका लागि के गर्ने ?
अहिलेको पदमार्गले पर्यटकको चाप धान्दैन । लुक्लाबाट नाम्चेसम्म ६ वटा झोलुंगे पुल छन्, तिनलाई दुईतर्फी बनाउन नयाँ पुल हाल्नुपर्छ । दूधकोशी नदीको दुवै किनारमा सम्भव भएका ठाउँमा व्यवस्थित पदमार्ग बनाउनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, लुक्लाबाट नाम्चेसम्म मालसामान बोक्न रोप–वे बनाउनुपर्छ ।
खुम्बु क्षेत्रमा ‘ओभर टुरिजम’ को समस्या पनि त आउला ?
आउँछ । अहिले खुम्बुमा मौसमले पर्यटकको संख्या नियन्त्रण गरेको छ । पटकपटक मौसम खराब हुँदा धेरै पर्यटक खुम्बु पुग्न सक्दैनन् । सडक जोडिएपछि त्यो अवस्था रहँदैन । पर्यटकको संख्या बढ्दैमा धेरै लाभ दिन्छ जस्तो लाग्दैन । अहिलेकै पर्यटकको संख्याबाट बढीभन्दा बढी आम्दानी कसरी गर्ने भन्नेमा जोड दिनुपर्छ । पर्यटकको बढ्दो संख्या व्यवस्थापन गर्नैपर्छ ।
संख्या व्यवस्थापनका लागि के गर्न सकिन्छ ?
एक पटकमा कति पर्यटकलाई खुम्बु क्षेत्रमा प्रवेश दिने भनेर संख्या तोक्नुपर्छ; हाम्रा होटल, गाइड, एजेन्सी, बजार माग लगायतका सबै पक्षलाई हेरेर ।
पर्यटक बढी आउने सिजनमा क्यारिङ कपासिटी (धान्ने क्षमता) तोक्नु अत्यावश्यक छ । सडक आएपछि त तोक्नैपर्छ । नत्र बास नपाउने, खाना नपाउने र दुर्घटनामा पर्ने जस्ता कुराले खुम्बुको समग्र पर्यटन नै बर्बाद हुनसक्छ ।
खुम्बु क्षेत्रमा गुणस्तरीय पर्यटक बढ्दा देशका सबै नागरिकले लाभ लिन सक्छन् । यहाँ आलु र फापर बाहेक अन्य कुरा फल्दैन । गुणस्तरीय पर्यटक बढेसँगै तराईको धान–गहुँ, पहाडको सागपात सबैले राम्रो मूल्य पाउँछन् । स्थानीय शेर्पाले त सेवाको मूल्य मात्र पाउने हुन् ।
पछिल्लो समय खुम्बु क्षेत्रमा हेलिकप्टर उडान निकै बढेको छ, यसले कस्तो समस्या पारेको छ ?
हरेक मिनेटमा उड्ने हेलिकप्टरले गर्दा निकुञ्जभित्र शान्तपूर्वक हिंड्दै प्राकृतिक वातावरणको अनुभव लिन्छु भन्नेलाई समस्या पारेको छ ।
अर्कातिर, कतिपयलाई छोटो समयमा सगरमाथा सहित अरु ठाउँ पनि घुम्नु छ । सगरमाथाले हरेकको इच्छा पूरा गर्न सक्दैन । यसलाई कस्तो र कसको गन्तव्य बनाउने, सरकारले निर्णय गर्नुपर्छ ।
प्रस्तुतिः शरद ओझा