राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण शुरू
राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीचको विवादका कारण रोकिएको बन्द प्रशिक्षण शुरू भएको हो। आइतबार क्यान र खेलाडीबीच भएको छलफलपछि सहमति भएको क्यानले जनाएको छ।
अगामी १५ फेब्रुअरी अर्थात ३ फागुनमा आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट हुँदै छ। त्यसका लागि क्यानले आजबाट बन्द प्रशिक्षण शुरू गरेको हो। आज बिहान ११ बजेदेखि बन्द प्रशिक्षण शुरू गरिएको छ।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँगको समन्वयमा क्यानले बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको थियो। जसमध्ये २० खेलाडी बन्द प्रशिक्षणमा आएका छन्। अन्य खेलाडी पनि आज साँझसम्म होटलमा आउने जनाइएको छ।
क्यानका अनुसार, कुशल मल्ल, शरद भेषवाकर, मोहम्मद आशिफ शेख, पवन सर्राफ, साहब आलम, मोहम्मद आरिफ शेख, भीम सार्की, जितेन्द्र मुखिया, प्रदीप ऐरी, विवेककुमार यादव, सौरभ खनाल, गुलशनकुमार झा, राजेश पुलामी मगर र किशोर महतो बन्द प्रशिक्षणमा सहभागी भएका छन्।
त्यस्तै, विनोद भण्डारी, विक्रम सोब, सागर ढकाल, नन्दन यादव, हरिशंकर शाह र सुशन भारीको पीसीआर रिपोर्ट आउन बाँकी छ। उनीहरू पीसीआर रिपोर्ट आएपछि बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन्।
क्यानले गत महीना सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो। पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कृष्णसिंह ऐरीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो। आइतबार भएको छलफलमा उनीहरूमाथि गरिएको कारबाही फिर्ता लिने सहमति भएको हो। सहमतिपछि आजदेखि बन्द प्रशिक्षण शुरू गरिएको क्यानले जनाएको छ।
प्रारम्भिक टोली:
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्शनकुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेककुमार यादव, सौरभकुमार खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल र हरिशंकर साह।