आधुनिक नेपाली रङ्गमञ्चका जन्मदाता
पर्दा, प्रकाश र ध्वनिका माध्यमले नेपाली रङ्गमञ्चलाई आधुनिक स्वरूप दिएका प्रचण्ड मल्लले पछिल्लो पुस्तालाई त्यो सीप हस्तान्तरण मात्र गरेनन्, थुप्रै कलाकार समेत जन्माए।
बालकृष्ण समलाई आधुनिक नेपाली नाटकका जन्मदाता मानिन्छ। नाट्य साहित्यलाई विशिष्ट उचाइमा पुर्याएका उनले नाटक लेखनसँगै त्यसलाई मञ्चन गर्ने पुस्ता पनि हुर्काए। नाट्यकर्मी प्रचण्ड मल्लको निधनसँगै समले हुर्काएको त्यो पुस्ता अन्त्य भएको छ।
८५ वर्षीय मल्लको निमोनियाका कारण २ पुसमा सिभिल अस्पताल काठमाडौंमा निधन भयो। उनी परम्परागत नाटकलाई आधुनिक लेप दिने व्यक्तिका रूपमा स्थापित छन्।
प्राध्यापक तथा नाटककार अभि सुवेदी प्रजातान्त्रिक क्रान्तिपछिको खुला वातावरण र तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनापछि नाटकको संस्थागत विकास भएको बताउँछन्। “टोल र डबलीमा देखाइने नाटकको ऐतिहासिक परम्परा भए पनि समले हाल हामीले नाटक भनेर चिनेको पश्चिमा शैली भित्र्याएका हुन्,” सुवेदी भन्छन्, “उनले नाटक लेखन, मञ्चन मात्र गरेनन्, नाटकको एउटा पुस्ता नै तयार पारे जसका एक सदस्य मल्ल हुन्।”
बाराको कलैया, बरेवामा जन्मिएका र बाल्यकाल वीरगन्जमा बिताएका मल्ललाई सानैदेखि लेखपढभन्दा नाचगानमा रुचि थियो। स्थानीय त्रिजुद्ध स्कुलको विद्यार्थी हुँदा दश वर्ष जतिको उमेरमा रामलीला नाटक हेरेपछि उनलाई रङ्गमञ्चको नशा चढ्यो। कालान्तरमा समको सङ्गतमा परेपछि उनी आजीवन नाटकमै लागिरहे।
मल्लले झण्डै तीन सय नाटकमा काम गरेका छन्। कुनैमा अभिनय गरे, कुनैमा लेखन, कुनैमा निर्देशन त अनि कुनैमा मञ्च सजाउने काम पनि गरे। उनका नेपाली रङ्गमञ्च, ऐतिहासिक नाटक सङ्ग्रह, मातृप्रेम, तिलंगा, पश्चात्ताप लगायत आधा दर्जन कृति प्रकाशित छ।
“उहाँ आफैं नेपाली नाट्य क्षेत्रको इतिहास सरह हुनुहुन्थ्यो,” नाट्य विधामा शोध गरेका शिव रिजाल भन्छन्, “आफू पनि इतिहास लेखनमा संलग्न हुनुका साथै सम र अन्य ऐतिहासिक व्यक्तिसँग काम गरेकाले उहाँ नाट्य इतिहासको धरोधर नै हुनुहुन्थ्यो।”
मल्लको पुरानो घर काठमाडौंको गुुच्चाटोलमा थियो। उनका बुबाको सरुवा बाराको परवानीपुरको कृषि फारममा भएपछि परिवारै तराई झरेको थियो। वीरगञ्जमा वेलावेला भारतबाट आउने नाट्य टोलीले हिन्दी र उर्दू भाषामा गर्ने रामलीला मञ्चन गर्थ्यो। त्यसैको रस पसेपछि उनी सबै कुरा छोडेर नाट्य क्षेत्रमै ध्यान केन्द्रित गर्न थाले। तराईबाट परिवार काठमाडौं आएपछि उनी समको सङ्गतमा पुगे।
“अब उनीबाट अर्थोक पार नलाग्ने भयो भन्ने भएपछि दाजु सुरेन्द्रमानले उनलाई समको जिम्मा लगाएका थिए,” प्राध्यापक सुवेदी भन्छन्, “आखिर उनको नाटकप्रतिको लगाव गम्भीर रहेछ र आज सबैका स्तुत्य पात्रका रूपमा हामीबाट बिदा भए।”
मल्लको अर्को विशेषता भनेको नेपालको रङ्गमञ्चलाई आधुनिक प्रारूपमा ढाल्नु हो। उनले २०२४ सालमा रसियामा नाट्य विधा पढेपछि मञ्चको महत्त्व बुझे। “अनि त्यो कुरा आफूपछिका सबैलाई बुझाए,” सुवेदीले भने। उनका अनुसार, ‘नाटक भनेको सेट अर्थात् मञ्चले भन्ने विधा हो’ भन्ने मान्यता मल्लले नै नेपाली नाट्य क्षेत्रमा स्थापित गराएका हुन्। “नेपालका थिएटर बनाउन खटिने उनै हुन्,” सुवेदी भन्छन्, “सेना, प्रहरीका मञ्च र नाचघर लगायतको परिकल्पनाकार उनी नै हुन्।”
उति वेला नाटकका सबै प्राविधिक ज्ञान भएका व्यक्ति मल्ल मात्रै रहेको कलाकार तथा निर्देशक मदनदास श्रेष्ठ बताउँछन्। “नाटकमा प्रयोग हुने पर्दा, प्रकाश, ध्वनि लगायत सबै विधा उहाँले नै नयाँ पुस्तालाई सिकाउनुभएको हो,” उनी भन्छन्, “त्यस्तै धेरै कलाकार जन्माउने श्रेय पनि उहाँलाई जान्छ।”
प्रज्ञा प्रतिष्ठानमा २०४१ सालदेखि सङ्गत गरेका शम्भुजीत बास्कोटा मल्ललाई कसैप्रति भेदभाव नगर्ने शान्त स्वभावका व्यक्तिका रूपमा स्मरण गर्छन्। “विजय मल्लपछि लामो समय प्रतिष्ठानको नाटक विभाग सम्हाल्ने व्यक्ति उहाँ नै हो,” उनले भने, “उहाँ सबैलाई ‘ए बाबु’, ‘ए राजा’ भन्दै काम सिकाउने, अह्राउने गर्नुहुन्थ्यो। उहाँको नजरमा सबै बराबर, न कोही सानो न कोही ठूलो।”
समले हुर्काएको पुस्ताका नाट्यकर्मी हरिप्रसाद रिमाल रेडियो नेपालमा आबद्ध भएपछि नाटक मञ्चनलाई अविराम निरन्तरता दिने मल्ल एक्ला व्यक्ति बन्न पुगेका थिए। “मल्ल रङ्गमञ्चको पुरानोदेखि आधुनिक युगसम्म अविराम यात्रा गर्ने एक मात्र रङ्गकर्मी थिए,” समीक्षक रमण घिमिरेको टिप्पणी छ, “मल्ल अभिनय मार्फत रङ्गमञ्चमा प्रवेश गरेका थिए। त्यसपछि निर्देशक भएर रङ्गमञ्चको आरोहण गर्दै मञ्च-शिल्पी भए। पछि उनी रङ्गमञ्चको प्रस्तुति र प्रविधि दुवै पक्षमा दखल राख्ने प्रतिभा हुन पुगे। रङ्गमञ्चका समालोचक र इतिहासकार पनि थिए।”
२०११ सालमा पहिलो पटक समकै लेखन तथा निर्देशनमा अमरसिंह नाटकबाट मल्लले अभिनय यात्रा थालेका थिए। जीविकाका लागि उनले २०१६ सालमा पुरातत्त्व विभागमा ‘अफिस इन्चार्ज’ का रूपमा केही समय काम गरे पनि पछि समले उनलाई प्रज्ञा प्रतिष्ठानमै ताने। २०२१ देखि २०५९ सालसम्मको ३८ वर्षमा उनले एक सय ५० नाटक निर्देशन गरे। उनी २०६७ सालमा स्थापित नाट्य सङ्गीत प्रतिष्ठानको संस्थापक उपकुलपति थिए।
सिर्जनात्मक व्यक्तित्व
छोरी मुनु मल्ल आफ्ना पितालाई सधैं व्यस्त रहने सिर्जनात्मक व्यक्तित्वका रूपमा लिन्छिन्। “फुर्सदमा प्रायः किताब-पत्रपत्रिका पढिरहनुहुन्थ्यो, बगैंचामा बोटबिरुवा स्याहार्नुहुन्थ्यो,” उनले भनिन्, “आएका पाहुनासँग नाटककै बारेमा गफ गर्नुहुन्थ्यो।”
देशभरिबाट पितालाई मानिसहरू भेट्न आउने गरेको मुनु सम्झन्छिन्। “कोही फलानो नाटक गर्दा उहाँले हामीलाई यस्तो सिकाउनुभएको थियो भन्दै आउँथे, कोही पुराना नाटकबारे सोधखोज गर्थे,” उनी भन्छिन्।
मुनुका अनुसार, मल्ल खानाको शौखीन थिए। माछा खूब मन पराउँथे। “कान्छीआमाले पकाएको माछा भनेर खूब तारीफ गर्नुहुन्थ्यो,” उनी भन्छिन्, “बुबालाई पनि राम्रो पकवान कला आउँथ्यो। मलाई उहाँले नै माछा पकाउन सिकाउनुभएको थियो।”
मल्ललाई नाटकमा समय खर्चन घरबाट पूरै सहयोग थियो। “उहाँको कामै त्यही भएपछि मैले र आमाले केही भन्ने कुरै आएन,” मुनु भन्छिन्, “देशले नै उहाँको योगदानको कदर गरेको छ। हामीले उहाँ जस्तो बाबु पाउनु भाग्यै हो जस्तो लाग्छ।”