ओमिक्रोनले फोक्सोभन्दा घाँटीमा असर पुर्याउँछ: अध्ययन
कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले सङ्क्रमित व्यक्तिको फोक्सोमा कमै असर गर्ने विभिन्न अध्ययनले देखाएका छन्।
वैज्ञानिकहरूका अनुसार, यस भेरियन्टले फोक्सोमा भन्दा घाँटीमा बढी असर गराउँछ, जसका कारण धेरै व्यक्तिलाई सङ्क्रमित बनाउने सम्भावना रहन्छ। यस विषयमा गरिएका ६ मध्ये ४ वटा अध्ययन क्रिसमसको समयमा अर्थात् एक साताअघि प्रकाशन भएका थिए। जसमा ओमिक्रोन भेरियन्टले डेल्टा र अन्य भेरियन्ट जसरी मानिसको फोक्सोमा धेरै क्षति नपुर्याउने उल्लेख छ।
युनिभर्सिटी कलेज लन्डनका भाइरोलोजीका प्रोफेसर डिनान पिलएका अनुसार, ओमिक्रोनको म्युटेसनले शरीरका विभिन्न कोषिकामा सङ्क्रमण गर्न सक्दैन। यसले घाँटीमा रहेका कोषिकामा भने असर गर्छ। सोही कोषिकामा रही भाइरसले मल्टिप्लाई गरी अन्य व्यक्तिलाई छिटो सङ्क्रमित गर्न सक्छ।
बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा मुसामा गरिएको एक अध्ययन अनुसार, ओमिक्रोन भेरियन्टले उक्त मुसालाई गम्भीर सङ्क्रमण नगरेको, कमै मात्र वजन कम भएको र निमोनिया पनि गम्भीर नभएको देखिएको छ।
“यो अध्ययनलाई आधार मान्दा ओमिक्रोन भाइरस डेल्टा र वुहानबाट आएको असली भाइरसभन्दा कमै गम्भीर रहेको पाइएको छ। जनावर चाँडै निको भएको अध्ययनमा पाएका छौं,” अनुसन्धानकर्ता जेम्स स्टेवार्टले भने।
तर, कतिलाई यो भाइरसले मृत्युको मुखमा पुर्याउन सक्ने भएकाले मास्क लगाइराख्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, बेल्जियमको द नेट्स ल्याबमा हेमस्टर (ठूला प्रजातिका मुसा)मा गरिएको अध्ययनमा पनि फोक्सोमा कमै असर गरेको पाइएको छ। प्रोफेसर जोन नेट्सका अनुसार, भाइरसले मुसामा भन्दा पनि मानिसमा धेरै सङ्क्रमण गर्न सक्ने भएकाले यो भेरियन्टले घाँटीमा भने सङ्क्रमण गर्छ।
नेचर जर्नलमा प्रकाशित एक अध्ययनमा ओमिक्रोन भेरियन्टले मानिसमा भएको रोगसँग लड्ने क्षमतालाई कम गर्छ। यो अध्ययन अनुसार, दुई मात्रामा खोप लगाएका व्यक्तिको क्षमतालाई पनि यो भेरियन्टले कम गर्न सक्छ भने बुस्टर डोज लगाएकाहरूको क्षमता केही मात्रामा पुन:स्थापना भएको पाइएको छ।