मल खरीदमा एक अर्ब भ्रष्टाचार, कृषि कम्पनीका प्रबन्ध सञ्चालक सहित १० जना विरुद्ध मुद्दा
मल खरीदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक सहित १० जना विरुद्ध मुद्दा दर्ता गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले डीएपी मल खरीदमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ। अख्तियारले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी सहित १० जना र दुई कम्पनी विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसाल बताए।
अख्तियारले प्रबन्ध सञ्चालक भण्डारी सहित प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उपप्रबन्धक पुष्कर दिप बुढाविरुद्ध मुद्दा दर्ता गरेको छ। उनीहरूले मल खरीद गर्दा कृषि सामाग्री कम्पनी लिमिटेडलाई हानिनोक्सानी पुर्याएको र आफू समेतलाई गैरकानूनी लाभ लिने मनसाय लिई कार्य गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।
उनीहरूले एक अर्ब ५३ लाख २२ हजार ४०६ रुपैयाँ ७२ पैसा हिनामिना गरेको अख्तियारको ठहर छ। अख्तियारले दायर गरेको मुद्दामा हिनामिना भएको रकम बिगो कायम गरी सजाय गर्न माग गरिएको छ।
त्यस्तै, गलत प्रतिवेदन तयार गर्ने नेपाल इन्भाइरोमेन्टल एन्ड साइन्टिफिक सर्भिस प्रालि र त्यसका प्रबन्ध निर्देशक सलिल देवकोटा सहित कर्मचारीलाई पनि विपक्षी बनाइएको छ।
प्रालिका प्रबन्ध निर्देशक देवकोटासँगै ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरीविरुद्ध मुद्दा दर्ता गरेको हो। कृषि सामाग्री कम्पनी र प्रालिबीच सम्झौता गर्ने मनोज आचार्यको पनि संलग्नता रहेको ठहर गर्दै अख्तियारले विपक्षी बनाएको छ।
अख्तियारले मल आपूर्तिकर्ता विरुद्ध पनि मुद्दा दायर गरेको छ। सम्झौताभन्दा कम गुणस्तरको मल आपूर्ति गरेको अख्तियारको ठहर छ।
मल आपूर्तिकर्ता कम्पनी जोशी बिज हाउस प्रालि र प्रालिका कार्यकारी निर्देशक विनित जोशीविरुद्ध पनि मुद्दा दायर गरेको हो।
कम्पनीले खरीद गरेको डीएपी मल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरीद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो। कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारी र आपूर्तिकर्ता समेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी खरीद गरेको पाइएको अख्तियारका प्रवक्ता रिसालले जनाएका छन्।