पाँच लाख टन कम फल्यो धान, पाँच वर्षयताकै न्यून
धान थन्क्याउने वेला आएको बेमौसमको पानी र हावाहुरीका कारण यो वर्ष धानको उत्पादन उल्लेख्य घटेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालू आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कृषिबाली धानको उत्पादन ८.७४ प्रतिशतले घटेको हो। गत वर्ष ५६ लाख २१ हजार टन धान फलेकोमा यो वर्ष घटेर ५१ लाख ३० हजार मेट्रिक टनमा सीमित भएको मन्त्रालयको अनुमान छ।
मन्त्रालयका अनुसार, यो वर्षको धान उत्पादन पछिल्लो पाँच वर्षयताकै न्यून हो। गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइको क्षेत्रफलमा करीब चार हजार हेक्टरको सामान्य वृद्धि भए पनि उत्पादकत्वमा ८.६१ प्रतिशतले ह्रास आउँदा ३.४७ मेट्रिक टन प्रति हेक्टर कायम भएको अनुमान छ।
धान थन्क्याउने वेला ३१ असोजदेखि ३ कात्तिकसम्म आएको हावाहुरी सहितको अप्रत्याशित वर्षाले मुख्य रूपमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा धानबालीमा क्षति गरेको थियो। यसले समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ।
प्रदेशगत रूपमा गत वर्षको तुलनामा यो वर्ष गण्डकी बाहेक ६ प्रदेशमा धान उत्पादनको वृद्धि ऋणात्मक भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा ३१.४९ प्रतिशत र लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशतले धान उत्पादन घटेको छ। यद्यपि, चैते धानको उत्पादकत्व भने गत वर्षको तुलनामा ०.३२ प्रतिशतले वृद्धि भई ४.६८ मेट्रिक टन प्रति हेक्टर कायम भएको छ।
धान उत्पादनमा कमी आउँदा देशको कुल गार्हस्थ उत्पादनमा पनि असर पर्छ। देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको करीब एक चौथाइ योगदान छ।
कुल कृषि क्षेत्रमा धानको योगदान करीब १५ प्रतिशत हाराहारी मानिन्छ। यस हिसाबले कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा धानले बढीमा १ प्रतिशत हाराहारी असर पार्ने अनुमान छ।