धनुषा झडप: प्रहरीले चलायो रबरको गोली, १३ जना घाइते
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच धनुषाको पोर्ताहामा झडप भएको छ। झडपका क्रममा प्रहरी सहित १३ जना घाइते भएका छन्।
जनमत पार्टीका कार्यकर्ताले राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले खुलाउन खोजेको थियो। त्यस क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए।
राजमार्गमा तनाव बढ्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ। जनमत पार्टीका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि रबरको गोली चलाउनुपरेको डीएसपी बस्नेतले बताए।
झडपका क्रममा पाँच जना प्रदर्शनकारी र आठ जना प्रहरी घाइते भएका छन्। नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सञ्जय साह घाइते भएको जनमत पार्टीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रुग्यास प्रहार गरिएको डीएसपी बस्नेतले बताए। अझै पनि पोर्ताहा क्षेत्रमा तनाव जारी छ।