सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, ६ जना घाइते
सीके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको चक्काजामका क्रममा धनुषामा झडप भएको छ। झडपमा प्रहरी सहित ६ जना घाइते भएका छन्।
आतइबार मध्याह्न धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पोर्ताहामा झडप भएको हो। जनमत पार्टीका कार्यकर्ताले राजमार्ग अवरुद्ध गरेपछि प्रहरी टोली खुलाउन गएको थियो। प्रहरीले अवरोध हटाउन खोज्दा जनमत पार्टीका कार्यकर्तासँग झडप भएको हो।
झडपका क्रममा दुई जना प्रहरी र चार जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक (एसपी) जितेन्द्रकुमार बस्नेतले बताए। प्रहरीले बल प्रयोग गर्दा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया र बैजनाथ यादव घाइते भएको जनमत पार्टीले जनाएको छ।
राजमार्ग क्षेत्रमा तनाव जारी नै छ। स्थिति सामान्य बनाउने प्रयास भइरहेको एसपी बस्नेतले बताए।
जनमत पार्टीका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको उनले बताए। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी परिचालन गरिएको छ।