मेलम्चीमा फेरि बाढी आउँछ कि आउँदैन? पत्ता लगाउन भेमाथाङमा गरियो ‘स्क्यान’
मेलम्ची नदीको जलाधार क्षेत्रमा जम्मा भएको गेग्रानका कारण फेरि थप बाढी आउन सक्ने जोखिमबारे यकिन गर्न भेमाथाङको जमीनको सतहमा ‘स्क्यान’ गरेर अध्ययन गरिएको छ।
गत असार र साउनमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो। बाढी आउँदा मेलम्ची नदीको जलाधार क्षेत्र भेमाथाङमा थुप्रिएको गेग्रानको नाप, जाँच तथा त्यस क्षेत्रको भौगर्भिक अध्ययन गर्न थालिएको छ।
आयोजनाको मुख्य ऋणदाता एशियाली विकास ब्याकं (एडीबी)ले भेमाथाङ अध्ययन शुरू गरेको हो। यसका लागि गत साता भेमाथाङ पठाइएको प्राविधिक टोली अध्ययन गरेर काठमाडौं फर्किएको छ।
एडीबीले भेमाथाङमा थुप्रिएको गेग्रानको परिणाम, त्यसको गहिराइ र भविष्यमा त्यसले निम्त्याउन सक्ने थप क्षतिको अध्ययन थालेको जनाएको छ। त्यही अध्ययनका लागि भूभौतिक विशेषज्ञ हरि घिमिरेको नेतृत्वमा १६ जनाको टोली ८ पुसमा भेमाथाङ गएको थियो।
टोलीले भेमाथाङ क्षेत्रको सतहभन्दा एक सय मिटर गहिराइसम्म जमिनको स्क्यान गरेर त्यहाँको भौगोलिक अवस्थाबारे अध्ययन गरेको छ। अध्ययनको रिपोर्ट आएपछि मात्र भेमाथाङमा थुप्रिएर रहेको गेग्रान आउँदो वर्षायाममा बग्छ कि बग्दैन भन्ने पत्ता लाग्ने अध्ययन टोलीका प्रमुख भूभौतिक विशेषज्ञ घिमिरेले बताए।
“टोपो सर्भे र जियो फिजिकल इन्भेस्टिगेशनका लागि गएका हौं, हामीले त्यहाँ जम्मा भएको गेग्रान कति बाक्लो छ भनेर नापजाँच र त्यो बग्छ कि बग्दैन भनेर अध्ययन गरेका छौं,” घिमिरे भन्छन्, “सबै डेटा लिएका छौं, अध्ययन प्रतिवेदन आएपछि मात्र त्यहाँको विस्तृत जानकारी प्राप्त हुन्छ।”
काठमाडौं उपत्यकाको मुख्य खानेपानीको स्रोत मेलम्ची आयोजना बाढी र पहिरोले क्षति पुर्याएपछि ६ महीनादेखि ठप्प छ। गत चैतदेखि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न शुरू गरिएको थियो।
पानी वितरण गरिएको तीन महीना नपुग्दै बाढीले झण्डै दुई अर्बभन्दा बढीको क्षति पुर्याएको छ। बाढीले गरेको क्षतिका कारण मेलम्ची आयोजना पुन:सञ्चालन हुने-नहुने अझै अन्योल छ।
मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्त जलाधार क्षेत्रमा गरिने भौगर्भिक अध्ययनले मेलम्ची नदीको जलाधार क्षेत्रको अवस्थाबारे जानकारी प्राप्त हुने र आगामी दिनमा अघि बढ्नका लागि थप सजिलो हुने बताउँछन्।
अध्ययन टोली २७ घण्टा हिउँमा
मेलम्चीको जलाधार क्षेत्रकाे अध्ययन गर्न गएको टोली २७ घण्टासम्म हिउँमा थुनिएको थियो। टोलीका पथप्रदर्शक सोनाम लामाका अनुसार १३ पुसमै फर्कने योजना थियो। तर, दिउँसोदेखि हिमपात भएका कारण हेलिकोप्टर नगएपछि त्यहीं बस्नुपरेको थियो। त्यही साँझदेखि भने व्यापक हिमपात भयो।
त्यहाँ बस्नका लागि गाडेका टेन्ट हिउँले पुरिएको उनी बताउँछन्। “अत्यधिक हिमपात भएपछि माथिबाट हिउँ बग्न थाल्यो। हामी बसेको टेन्ट पनि बगे, हामी भागेर ओडारमा गयौं,” लामा भन्छन्, “चार फिट जति हिउँ परेको थियो। मेरा लागि त हिमपात नयाँ थिएन, तर अध्ययनका लागि गएका अरू त आत्तिए।” लामा १६ वर्षदेखि हिमाल आरोहण गरिरहेका छन्।
साँझ ६ बजेदेखि शुरू भएको हिमपात अर्को दिन राति ११ बजे मात्र रोकिएको लामा बताउँछन्। हिमपात रोकिएपछि १५ पुस बिहान श्री एयरलायन्सको हेलिकोप्टरले उनीहरूलाई तार्केघ्याङ र काठमाडौंमा ल्याएको थियो।
अध्ययन टोली फर्किए पनि उनीहरूले लगेका सामान भने हिउँमा पुरिएका छन्। हिमपातका कारण ८० लाखभन्दा बढीका सामान तथा उपकरण पुरिएको जनाएको छ।