शरणार्थी संवेदना
शरणार्थीको मामिलामा नेपाल दक्षिणएशियामै उदार मानिए पनि पछिल्लो समय उनीहरूको आवाज दबिंदै गएको भान हुन्छ।
तिब्बती शरणार्थीको जीवन र सङ्घर्षबारेको उपन्यास हो, दुङाल। तिब्बती शरणार्थी युवती र नेपाली युवकबीचको प्रेमकथाको भावभूमिमा बुनिए पनि खासमा महिला पात्र कार्चुङ मार्फत नेपालमा रहेका तिब्बती शरणार्थीको पीडा र भोगाइमा उपन्यास केन्द्रित छ। जसमा उनीहरूले भोग्नुपरेको सामाजिकदेखि राजनीतिक, कानूनी र मानसिक पीडासम्मको कथा समेटिएको छ।
आफ्नो देशबाट भागेर वा लखेटिएर अनागरिक हुनुको पीडा कम पीडादायी हुँदैन। तिब्बत चीनमा गाभिएपछि त्यहाँबाट भागेर आएका हरेक तिब्बती शरणार्थीको आ-आफ्नै कथा र व्यथा छन्। नेपालमा शरण लिएको धेरै वर्ष भए पनि वा यहीं जन्मिए पनि पुर्खाको भूमि गुमाउँदा हुने पीडा र शरण लिएको देशसँग पनि नजिक हुन नसक्दा आफूभित्रै र समाजमा हुने द्वन्द्वबारे मालिका केशरी लिखित यो उपन्यासले बोलेको छ। २७ खण्डमा बाँडिएको उपन्यासले शीर्षक झैं दुङाल अर्थात् पीरको अध्याय पस्किएको छ- शरणार्थीले भोग्ने अस्तित्वविहीनताको पीर, खुलेर जिउन नपाउनुको पीर।
विगतमा माओवादी हिंसात्मक युद्धको विषयमा पुनरुत्थान र बौद्ध दर्शनबारे सुवर्णलता उपन्यास लेखेका केशरीले तेस्रो उपन्यासमा नेपालमा कम बोलिने र लेखिने तिब्बती शरणार्थीको मुद्दा उठाउनु सराहनीय छ। हामीकहाँ राज्यको चीनसँगको सम्बन्ध र एक चीन नीतिप्रति सजग हुँदै तिब्बत वा तिब्बती शरणार्थीको विषयमा चर्चा गर्न सङ्कोच मान्ने वा हच्किने प्रवृत्ति छ। कतिसम्म भने, यी विषय र परिवेशको मर्म र महत्ता बुझेर लेख्न लेखकहरूले समेत आँट नगर्ने र ध्यान नदिने हाम्रो साहित्यिक गरीबी छ। जबकि, लेखकहरूका लागि भूगोल, सिमानाभन्दा पनि मानवताले ठूलो अर्थ राख्छ।
तिब्बतीहरूले आफ्नो देश छोडेर नेपालमा शरण लिएको ६ दशक नाघिसकेको छ। अस्तित्वको भोकप्यासले व्याकुल यी शरणार्थीका कथाव्यथा पुस्तक बाहिरै छटपटाइरहेका छन्।
नेपाली वाङ्मयमा ‘शरणार्थी साहित्य’ नगण्य सङ्ख्यामा छन्। हाम्रो देशमा भुटान, तिब्बत, बर्मा, अफगानिस्तान लगायत भूगोलका नागरिक संयुक्त राष्ट्रसङ्घबाट शरणार्थीको मान्यता पाएर वा अवैध रूपमा, ठूलो वा सानो सङ्ख्यामा बसिरहेका छन्। मातृभूमिमा अनेक जोरजुलुमपछि सुरक्षित जीवन र भविष्यको खोजीमा गन्तव्य पहिल्याएरै वा झुक्यानमा परी नेपाल आइपुग्ने यी शरणार्थीलाई सङ्घर्ष र सास्तीले पछ्याउन छाड्दैन।
शरणार्थीको मामिलामा नेपाल दक्षिणएशियामै उदार मानिए पनि पछिल्लो समय उनीहरूको आवाज दबिंदै गएको भान हुन्छ। विभिन्न बाह्य वा आन्तरिक कारण नेपालले शरणार्थी परिचयपत्र नदिंदा परिचयविहीन बनेकाहरू उच्च अध्ययन, रोजगारी तथा व्यापारबाट वञ्चित हुँदा कष्टसाध्य बाँच्न विवश छन्। तर, ती सङ्घर्ष र सास्तीको कथा सुँघ्न र लेख्न लेखकहरूमा रुचि नभएको हो वा उधिन्न गाह्रो लागेर वा काल्पनिक दुनियाँको भुलभुलैयाले व्यस्त पारेर हो, शरणार्थी साहित्य निकै सीमित छन्।
तिब्बतीहरूले आफ्नो देश छोडेर नेपालमा शरण लिएको ६ दशक नाघिसकेको छ। तिब्बतीको तीन पुस्ताले यति लामो समय यहाँ बिताइसक्दा पनि उनीहरूको अस्तित्व अहिलेसम्म देखिंदैन। अस्तित्वको भोकप्यासले व्याकुल यी शरणार्थीका कथाव्यथा पुस्तक बाहिरै छटपटाइरहेका छन्।
नेपाली आख्यानमा हालसम्म तुलनात्मक हिसाबले भुटानी शरणार्थीको बारेमा बढी लेखिएका छन्। भुटानी शरणार्थीहरूको जीवन सङ्घर्षमा आधारित रहेर कृष्ण धरावासीको शरणार्थी (२०५६), दिनेशकुमार कार्कीको हन्बेर्नो (२०७४), रमेश दियालीको छाप्रो नम्बर ५५ (सन् २०१८) लगायत उपन्यास प्रकाशन भएका छन्।
यस्तै, तिब्बती शरणार्थीहरूको बारेमा श्रीभक्त खनालको गैरआख्यान अप्ठेरो बाटो (सन् २०१७), केशरीको दुङाल लगायत एकाध पुस्तक मात्र प्रकाशित छन्। चीनको दबाब वा प्रभावका कारण नेपालमा रहेका तिब्बतीहरूको अधिकारबारे आवाज नउठाउने, उनीहरूको घरफिर्ती लगायत समस्या समाधानबारे नबोल्ने जमातमा स्वतन्त्रताका पक्षधर लेखकहरू समेत देखिनु दुःखद हो।
यही दुङालकै कुरा गर्दा पनि उपन्यासकारले तिब्बती शरणार्थीको विषयमा लेख्नु स्वागतयोग्य हुँदाहुँदै यस मुद्दामा उनको लेखकीय चेत खुलेर आउन सकेको छैन। कथामा कता-कता तिब्बती शरणार्थीप्रति सहानुभूति राखेको जस्तो त देखिन्छ, तर कुनै विवादमा पर्ने वा अमुक भयका कारण उपन्यासकार धेरै खुल्न नसकेका हुन् कि जस्तो महसूस हुन्छ। देशविहीन बनेर परिचय गुमाएका शरणार्थीको दुर्दान्त व्यथा पढेपछि यी सीमारेखाको निर्मम काइदा कानूनले क्रूद्ध पार्छ, मनमा अनायासै प्रश्न उठाइदिन्छ, यो धर्तीमा जन्मिएपछि यहाँका सबै स्रोत र भूगोलमा हामी सबैको समान पहुँच किन हुँदैन?
तिब्बतलाई चीनले सन् १९५० को दशकमा कब्जा गरेपछि तिब्बती शरणार्थीको समस्या सन् १९५९ मा शुरू भयो। तर, त्योभन्दा निकै अगाडिदेखि नै भोट (तिब्बत)सँग हाम्रो नुनदेखि सुनसम्मको सम्बन्ध हो। उनीहरूसँग आफ्नै इतिहास, संस्कार, भोगाइ, लडाइँ छ, जसको बारेमा नेपाली साहित्यले कमै बोलेको छ।
देशको हिसाबले नेपालको एक चीन नीति होला, तर स्वतन्त्रता बाहेकको शर्त नहुने साहित्यले कुनै छेकबार स्विकार्दैन। त्यसैले तिब्बती शरणार्थीको लोकतान्त्रिक अधिकार रक्षार्थ र उनीहरूको अस्तित्वको लडाइँ लिपिबद्ध गर्न पनि दुङाल जस्ता कृतिहरू अझै आउनुपर्छ।
पुस्तक: दुङाल (उपन्यास) लेखक: मालिका केशरी विधा: उपन्यास
प्रकाशक: सांग्रिला बुक्स पृष्ठः २७१ मूल्यः रु.४८४