कोशीटप्पुमा आजबाट चरा गणना
कोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना गर्न लागिएको छ। हरेक वर्ष पुसमा हुने चरा गणना यो ३५औं हो।
मानव अतिक्रमणले कोशीटप्पुमा बर्सेनि जलचरा घट्दो क्रममा छन्। सयौंको सङ्ख्यामा एकै झुण्डमा पाइने चरा अहिले स-साना झुण्डमा देखिने गरेका छन्। कोशी पन्छी समाजका अध्यक्ष सञ्जीव आचार्यका अनुसार, यस वर्षको पाँच दिने चरा गणनामा ३० जनाको समूह परिचालित छ।
कोशी पन्छी समाज, बराहक्षेत्र नगरपालिका, कोशीटप्पु लर्निङ ग्राउन्डस्, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमाली प्रकृति, कोशी पन्छी अध्ययन केन्द्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना, केटीके बेल्ट, जेडएसएल नेपाल, नेपाल पन्छीविद् संघ लगायत संस्था चरा गणनामा सहभागी भएको अध्यक्ष आचार्यले जानकारी दिए।
कोशीटप्पु वन्यजन्तु आरक्षभित्रको चरिचरनले चराको स्वर्ग भनेर चिनिने यस क्षेत्रमा यूरोपदेखि आउने चराको सङ्ख्या घट्दै गएको छ।
गणनामा कोशी नदीभित्र र बाहिरका सिमसार क्षेत्रमा गणना गरिन्छ। नदीभित्रको पूर्वी र पश्चिमी भागबाट दुई वटा डुङ्गामा १०-१० जना र बाहिरबाट १० जना स्वयंसेवकले गणना गर्नेछन्।
पन्छी अध्ययन केन्द्रका चरा गणक विमल तिम्सिनाका अनुसार, बराहक्षेत्रस्थित कोशी नदीको पुलदेखि डुङ्गाबाट दुई दिन लगाएर कोशी ब्यारेजसम्म गणना गरिनेछ। कोशी पूर्वको नदी बाहिरको क्षेत्रमा पनि शनिबार र आइतबार तथा सप्तरीतर्फ कमलपुर क्षेत्रका जलाशयहरूमा सोमबार र मंगलबार गणना गरिनेछ।
चराविद्हरूका अनुसार, साइबेरियादेखि उडेर आउने चराको वासस्थानमा मानव अतिक्रमण बढेकाले कोशीटप्पुमा कम हुँदै गएको छ। गाई, भैंसी चराउने र माछा मार्नेहरूका कारण हिमाल पारिबाट उडेर आउने चरा भारततर्फको कोशीमा ओर्लने गरेको उनीहरू बताउँछन्।