चार वर्षपछि बुधबार तातोपानी नाका खुल्ने
चीनसँगको व्यापार नाका ताताेपानी नाका बुधबारदेखि सञ्चालन हुने भएको छ ।
भैँचालोले भत्काएका भौतिक संरचना दुवै देशले निर्माण गरेपछि एक हजार ४९५ दिनपछि नाका सञ्चालनमा आउन लागेको हो । नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रम आयोजना हुने छ ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, मन्त्रालयका वरिष्ठ अधिकारी, प्रतिनिधिसभाका सदस्य एवम् राजनीतिक दलका नेता सहभागी हुनेछन् ।
यस्तै चीन सरकारका तर्फबाट भाइस मिनिष्टर अफ जनरल एडमिनिष्ट्रेशन कस्टम अफ चाइना र चीनको स्वशासित क्षेत्र तिब्बतका वरिष्ठ अधिकारी तथा सम्बद्ध निकायका पदाधिकारी सहभागी हुने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् ।
बुधबार गणतन्त्र दिवससमेत परेकाले महत्वपूर्ण कार्यक्रम तय गरिएको छ । प्रजिअ चेम्जोङका अनुसार बिहान ११ बजे नेपाल र चिनियाँ अधिकारीबीच द्विपक्षीय छलफल हुनेछ । त्यस्तै १२ बजे दुई देशका उच्च अधिकारीको उपस्थितिमा तातोपानी नाका पुनः सञ्चालनमा आएको घोषणा गरिनेछ ।
रिबन काटेर नाका सञ्चालनमा आएको घोषणा गरिने र तिब्बतबाट ऊन बोकेर आउने चार कन्टेनरको स्वागत गरिनेछ । नेपालका तर्फबाट पनि दुई कन्टेनर खासा पठाउने तयारी गरिएको छ ।
खासाबाट ऊन ल्याउनका लागि आज बिहान मात्रै चार कन्टेनर त्यसतर्फ लागेका छन् । नाका पुनः सञ्चालनमा ल्याउने कार्यक्रम थप व्यवस्थित बनाउन सीमावर्ती भोटेकोशी गाउँपालिकाले समेत आवश्यक तयारी गरेको छ ।
सोही गाउँपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रम थप भव्य र आकर्षक बनाउन आवश्यक तयारी गरिएको जानकारी दिए । उनले सोमबार दश नेपाली कामदारसमेत खासा गएको जानकारी दिए ।
मितेरी पुलको काम बुधबार सकिने भएकाले पुलमुनिको अस्थायी बाटो हुँदै कन्टेनर खासा प्रस्थान गरेको हो । नाका खुलाउने अन्तिम तयारीका लागि गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालगायतको टोली यही शनिबार तातोपानी पुगेको थियो ।
नाकामा शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न र कुनै पनि प्रकारको कमजोरी नगर्न गृहमन्त्री थापाले निर्देशन दिएका थिए । नाकालाई व्यवस्थित बनाउन अध्यागमन र भन्सार कार्यालय तथा व्यवसायीले समेत आवश्यक समन्वय गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले जानकारी दिए ।
नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्सााहित भएका छन् ।
भुईंचालोपछि खाली रहेको अध्यागमन र भन्सार कार्यालय सफासुग्घर बनाई सञ्चालनमा ल्याइएको तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतको भनाइ छ ।
नेपाल हिमालयन सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले औपचारिक रूपमा नाका बुधबारदेखि खुल्ने भए पनि चार कन्टेनर अनौपचारिक रूपमा प्रवेश गरी खुलेको छ । विगतको जस्तै बजार व्यस्त हुने, रोजगारीको अवसरमा वृद्धि हुने र मुलुकले समेत त्यसबाट फाइदा लिन सक्ने उनको भनाइ छ ।
–रमेश लम्साल