बलिउडको मोदी मार्ग
धर्मान्ध सत्ताको इशारामा खास धार्मिक समुदायलाई निशाना बनाउँदै सामाजिक सद्भाव बिथोल्ने मन्द विष पस्किरहेको अहिलेको बलिउड कुनै पनि समय सीमा नाघेर नेपालतिर पनि उक्लन सक्छ।
कोभिड-१९ महामारीले झण्डै दुई वर्ष मूर्च्छित फिल्म बजार (नेपाल-भारत)लाई पानी छम्किने गरी हालै रिलिज भयो, बलिउड निर्देशक रोहित शेट्टीको चलचित्र सूर्यवंशी। यसले व्यापार नभएर ओइलाएका फिल्म हल, वितरक र निर्मातासम्मलाई ब्युँतायो। लामो समयान्तरका कारण फिल्म हेर्न वैकल्पिक माध्यममा अभ्यस्त भइसकेका दर्शक कोरोनाको त्रास बाँकी नै रहेकाले हलमा नआउने हुन् कि भन्ने आशङ्का समेत मेटियो।
काठमाडौंका सिभिल मल लगायत हलमा लामै लाइन देखियो। नेपाली चलचित्र निर्माताहरूले पनि पुलकित भएर सामाजिक सञ्जालमा खुशी व्यक्त गरे। केहीले आफ्नो बजार बौराउन विदेशी फिल्मको साहरा लिनुपरेकोमा दुःख पनि प्रकट गरे।
सूर्यवंशीले व्यवसायमा बहारसँगै समाजमा फैलाएको एउटा मन्द विषबारे भने खासै बहस र चर्चा भएन। त्यो विष थियो, धार्मिक अतिवादको प्रशस्ति र एउटा खास धर्म-समुदायलाई लाञ्छित गर्ने प्रवृत्ति।
अझ् खतरनाक पक्ष- उक्त फिल्मको सफलताले दर्शकको ठूलो सङ्ख्याले प्रकारान्तरमा त्यस्तो प्रवृत्तिलाई (जानेर वा नजानेर) स्वीकार गरेको सन्देश दियो। भारतीय सञ्चार माध्यमको सानो हिस्साले यसको विरोध नगरेको होइन। तर, एउटै धर्म र सोचलाई देशव्यापी बनाउने उद्देश्य लिएको पार्टी-पोषित मिडियाको ठूलो वर्गले व्यापारिक सफलताको मात्रै बढाइचढाइ गरिरह्यो।
रोहितकै ‘पुलिस युनिभर्स’ को पहिलो भाग सिंघमको समीक्षा गर्ने क्रममा मैले त्यसलाई ‘स्टार-पोर्न’ को नमूना भनेको थिएँ। अर्थात्, यसमा कुनै स्टारको स्टारडम, हाउभाउ र शैलीलाई अतिशय बढाइचढाइ गरी त्यसैलाई फिल्मको सबभन्दा ठूलो ‘व्यापारिक तत्त्व’ बनाइएको थियो। सिंघमसँगै यसको दोस्रो भागमा पनि रोहितले अजय देवगनलाई उसै गरी प्रयोग गरे।
सिम्बामा रणवीर सिंह उही शैलीमा देखाइए। सूर्यवंशीमा यी दुईसँगै अक्षयकुमार थपिए। बजारमा चलुन्जेल यसमा खासै समस्या भएन। समस्या तब भयो जब निर्देशक आफ्ना स्टारहरूको शक्ति सहित सामाजिक सद्भाव र धार्मिक भावनामाथि हमला गर्न उद्यत देखिए।
सूर्यवंशी एउटा उदाहरण हो जहाँ तथ्यहरू लुकाइन्छ। आफ्ना कुतर्कलाई सत्य साबित गर्न तथ्य तोडमोड गरिन्छ। फिल्म शुरू हुन्छ, सन् १९९३ को बम्बई विस्फोटबाट। त्यसपछि रेल विस्फोट, भारतीय संसद्मा आक्रमण, ताज होटल हमला लगायतलाई कथाको पृष्ठभूमिका रूपमा वर्णन गरिन्छ। यसले सन् १९९२ मा बाबरी मस्जिद ढलाइएको प्रकरण र गुजरात दङ्गा लगायतलाई भने कतै उल्लेख गर्दैन।
पत्रकार तथा विश्लेषकहरू भारतीय समाजमा धर्मान्धता, धार्मिक अतिवाद र राजनीतिलाई सोझैं धर्ममा घुसाएर यसलाई अराजनीतिक बनाउने क्रमको आरम्भ बाबरी मस्जिद प्रकरणलाई मान्छन्।
कारण प्रस्ट छ, यी घटना धर्मको अर्को रङको टीका लगाएका मानिसले गराएका थिए, जसलाई आतङ्ककारी भन्न ‘फिल्ममेकर’ सक्दैनन्। आतङ्कको कुनै जात वा धर्म हुँदैन भनिन्छ। तर, ‘भाष्य’ मा यसको वर्ग पनि हुन्छ र पक्ष पनि। त्यसैले त सत्ताधारीले गर्ने आतङ्कलाई कानूनको लेप लगाइन्छ। जबकि, पत्रकार तथा विश्लेषकहरू भारतीय समाजमा धर्मान्धता, धार्मिक अतिवाद र राजनीतिलाई सोझैं धर्ममा घुसाएर यसलाई अराजनीतिक बनाउने क्रमको आरम्भ बाबरी मस्जिद प्रकरणलाई मान्छन्।
रोहितले सिंघमको दोस्रो भागमा एकजना हिन्दू गुरुलाई खलपात्रका रुपमा चित्रण गरेका थिए। तर, त्यसमा उनलाई धर्मका नाममा व्यापार चलाउने एक महत्वाकांक्षी ‘ठग’का रुपमा चित्रण गरिएको थियो। यसैले पूरै धर्म र समुदायमाथि नभई, एकजना चरित्रलाई खलनायक बनाएको थियो, जसलाई सिंघमले सजाय दिन्छ। राजकुमार हिरानीको फिल्म पिकेमा पनि एकजना सिद्धसाधु टाइपको बाबाको चरित्र खडा गरिएको थियो। पृथ्वीलोकभन्दा बाहिरबाट आएको प्राणीले भारतमा धर्मका नाममा चलेका व्यापार, अन्धविश्वास र अपराधसम्मको वर्णन गर्ने यो कथाले हिन्दूहरूको भावनामा चोट पुर्याएको भनेर विरोध पनि भएको थियो। तर, सारमा त्यो फिल्मले धर्म र धार्मिकतामाथि नै प्रश्न उठाएको थियो।*
भारतको राष्ट्रिय राजनीतिमा (लोकसभा सीटका आधारमा) निकै झिनो उपस्थिति रहेको भारतीय जनता पार्टीले हिन्दू धर्मको रक्षाका नाममा थालेको आक्रामक अभियान (लालकृष्ण आडवाणीको नेतृत्वमा भएको यही अभियानमा अयोध्याको बाबरी मस्जिद भत्काइएको थियो)ले उसलाई केही वर्षमै सत्तामा ल्याइदियो। बहुसङ्ख्यक हिन्दू भएको देशमा हिन्दूत्वकै नारा मार्फत भाजपाले ठूलो शक्ति आर्जन गर्यो।
यसले भारत जस्तो बहुभाषिक, बहुधार्मिक समाजमा तीव्र ध्रुवीकरण ल्याइदियो र अल्पसङ्ख्यकमा असुरक्षाको भावना बढाइदियो। यसबीच भएका विकास निर्माण र अन्तर्राष्ट्रिय जगत्मा प्रधानमन्त्री नरेन्द्र मोदीले बनाएको परिचयको व्याख्या धेरै हुने गरे पनि ध्रुवीकरण त्योभन्दा डरलाग्दो रहेको रिपोर्ट मिडियामा आएका छन्।
सन् २०१४ मा मोदी सत्तामा आए लगत्तै बलिउडको एउटा खेमा पूर्णतः भाजपाकरण हुन पुग्यो। सत्तासँग नजिक रहेर व्यापार चलाउने पुरानो चलन बलिउडका चतुर खेलाडीले अवलम्बन नगर्ने कुरै थिएन। तर, उनीहरूले यसलाई बिस्तारै फिल्मको विषयवस्तु नै बनाउन थाले जुन सभ्य र सन्तुलित समाजका लागि खतरनाक हो। कला र साहित्य जहिले पनि पीडित र अल्पसङ्ख्यकको आवाज सुनाउने माध्यम हुन्। यसमा पनि सत्ताधारीकै ‘प्रोपगन्डा’ ले रजगज गर्न थाले कलाचेत ध्वस्त हुन पुग्छ। बलिउड त्यसको ताजा उदाहरण बनेर देखियो।
एकातिर अक्षय कुमार, अजय देवगन, कंगना रनौत जस्ता कलाकार छन्, जो पर्दामा इतिहासका राष्ट्रवादी भनिएका पात्र खोजेर ल्याउँछन् र तिनको जयजयकार गर्छन् (जसमा धेरैजसो मुसलमानसँग लडेका हिन्दू योद्धा हुन्छन्) र अर्कातिर सामाजिक सञ्जालमा मोदीको भक्ति गर्छन्। यसबाट उनीहरू कुनै मिसनमै छन् जस्तो देखिन्छ।
एउटा खास धर्म र सम्प्रदायले आतङ्क फैलाएको भन्ने ‘भाष्य’ स्थापित गर्न बलिउडले निकै भूमिका खेलेको छ। यी फिल्म ठूला बजेट र ठूलै स्टारका हुने गर्छन्। जब धार्मिक अल्पसङ्ख्यकको पीडालाई बोक्ने साहिद, फिराद वा मुल्क जस्ता फिल्म आउँछन्, तिनको बजेट ठूलो हुँदैन न त तिनमा ठूला स्टार हुन्छन्। हेर्दा सामान्य लागे पनि बलिउडको असन्तुलन यसबाटै देखिन्छ। जब कुनै ठूलो स्टारले यस्ता विषय उठाउँछ उसलाई किनारा लगाउने प्रयास गरिन्छ, कहिले उसले बोलेको कुरा झिकेर त कहिले उसले निर्वाह गरेको चरित्रलाई लिएर।
विगत हेर्दा भारत वा नेपाल जस्ता बहुभाषा र संस्कृति भएका देशमा कला उद्योगले जहिल्यै त्यसको सन्तुलन मिलाएर समावेशी चित्र कोर्न मद्दत गर्दै आएका छन्। हिन्दू बहुल भारतीय फिल्म उद्योगमा मुसलमान र शिख कलाकारले ठूलो स्थान पाउनु यसको उदाहरण थियो। मुसलमान कलाकार युसुफ खान दिलीप कुमारका नाममा भारतीय फिल्मी अभिनयको मानक बनेका थिए।
सन् १९९० को दशकमा शुरू गरिएको आर्थिक उदारीकरणले बलिउडलाई झन् सबैका लागि खुला गर्यो। डायस्पोरामा विकसित नयाँ पुस्ता र त्यसको प्रभाव भारतीय समाजमा देखिएको समय पनि त्यही थियो। यसको मिश्रणका रूपमा एउटा नयाँ युवाको चित्र बलिउडले कोरेकै हो। मैने प्यार किया, हम आप के है कौन, दिलवाले दुल्हानिया ले जाएगें, कयामत से कयामत तक, जो जिता वही सिकन्दर जस्ता फिल्मले नयाँ पुस्ताको कथा पेश गरेका थिए। यी सबै फिल्मका मूल अभिनेता मुसलमान थिए, तर यिनका चरित्र मुसलमान थिएनन्।
लाग्न सक्छ- फिल्मको काल्पनिक कथालाई यसरी हिन्दू र मुसलमानमा वर्गीकरण गरेर हेर्नुको कुनै अर्थ छ? तर, जब एउटा धर्मको शासन चलाउने उद्देश्यले स्थापित पार्टी साँच्चिकै सत्तामा पुग्छ, जब त्यस पार्टीका नेता र सरकारको विरोधमा भएको प्रदर्शनमा उभिएको निहुँमा एउटी अभिनेत्रीलाई बहिष्कार गर्ने घोषणा गरिन्छ (दीपिका पादुकोणलाई जेएनयूमा भएको विरोधमा उपस्थित भए बापत भाजपाका कार्यकर्ताले उनको फिल्म छपाकको आईएमडीभी रेटिङ घटाइदिएका थिए।), जब अल्पसङ्ख्यकलाई खतरा महसूस भइरहेको आवाज उठाउँदा आमीर खान र शाहरूख खान जस्ता सुपरस्टारलाई पाकिस्तान जान धम्की दिइन्छ, तब यसको अर्थ हुन्छ। र, जब आख्यानमा पाइने तर इतिहासमा कतै नभएकी पात्र पद्मावतीमाथि चलचित्र बनाउँदा आफ्नो धर्ममाथि हमला भएको भनेर निर्देशकमाथि आक्रमण गरिन्छ, कलाकारको टाउको र नाकको मोल तोकिन्छ, यो प्रश्नको अर्थ छ।
समाज र राजनीतिमा आउने परिवर्तनले धेरै कुराको अर्थ परिवर्तन गरिदिन्छ। सबैभन्दा समावेशी र अल्पसङ्ख्यकको दबदबा रहेको मानिने भारतीय चलचित्र उद्योग अहिले खास धर्म र सत्ताप्रति सहानुभूति राख्नेका लागि मात्रै उपयुक्त स्थल जस्तो लाग्नु राजनीतिमा आएको त्यही परिवर्तनको उपज हो। हालै शाहरूख खानका छोरा आर्यनको मुद्दालाई पनि यसैसँग जोडेर हेरियो। शाहरूख वर्तमान सत्ता र यसले छरेको साम्प्रदायिक कीटाणुको मन्द विरोध गर्ने अभिनेता हुन्।
आफ्नै ‘करिअर’ मा भोगिरहेको असफलताका कारण समेत पछिल्लो समय मौन जस्तै रहेका शाहरूखका छोरालाई उनी रहेको क्रूजमा लागूऔषध भेटिएको भनेर गिरफ्तार गरियो। उनलाई बुबा शाहरूखकै कारण बढी सताइएको विश्लेषण भारतीय सञ्चार माध्यमले गरेका छन्। हालै त्यहाँको उच्च अदालतले उनलाई बदनियत राखेर दुःख दिइएको ठहर गरेबाट पनि यस्तो मान्न सकिन्छ।
भारतीय पत्रकार रवीश कुमारले चर्चित बनाएको ‘गोदी मिडिया’ (सरकारलाई खबरदारी गर्नुपर्ने ‘वाचडग’ को सट्टा उसैद्वारा पालित-पोषित हुने ‘ल्यापडग’) मा बदलिएका भारतीय टेलिभिजन सञ्चार उद्योग र बलिउड हरदम मोदीको बचाउमा देखिन्छन्। यसको राम्रो उदाहरण केही महीनाअघिको किसान आन्दोलन हो। सरकारले जारी गरेका कानून एकपक्षीय रहेको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका किसानलाई बदनाम गराउन ‘गोदी मिडिया’ ले हरसम्भव प्रयास गर्यो। सरकारसँग लय मिलाउँदै पत्रकार अर्नव गोस्वामीले उक्त आन्दोलनका सहभागीहरू खालिस्तानी र पाकिस्तानी भएको बताए।
जब आन्दोलन चर्किएर सरकार दबाबमा पर्न थाल्यो, तब अमिताभ बच्चन, अजय, अक्षय र कंगना जस्ता कलाकारले एकसाथ एउटै सरकारी ‘स्लोगन’ ट्वीट गरे। यसबाट के देखिन्छ भने कुनै एउटा धर्म, विचार, सम्प्रदाय, पार्टी वा सरकारप्रति वफादार भएर कलाकार/निर्माताले आफ्नो व्यापार मात्र चलाउँदैनन्, आवश्यक पर्दा उनीहरूलाई सरकारले आफ्नो पक्षमा खुलेर प्रयोग गर्छ।
जब मोदीको चुनावअघि अक्षय जस्ता स्टारले अन्तर्वार्ता लिन्छन्, तब उनीहरू मोदीको मात्रै प्रचार गरिरहेका हुँदैनन्, उनका समर्थकबीच आफ्नो पनि प्रचार गरिरहेका हुन्छन्। यस्तो अवस्थामा सानो स्वर भएका अल्पसङ्ख्यकहरूको आवाज हराउन पुग्छ। उनीहरूका कुरालाई ठूला सेलिब्रेटीले उठाउँदैनन्। किसान आन्दोलनकै बारेमा पनि जब रिहाना र ग्रेटा थनवर्ग जस्ता अन्तर्राष्ट्रिय सेलिब्रेटीले बोले, तब यही मोदी सेना तिनलाई हमला गर्न उद्यत भयो।
अभिनेत्री कंगनाले विवेक अग्निहोत्री र अनुपम खेर जस्ता चलचित्रकर्मीसँग मिलेर राजनीतिक रूपमा प्रत्यक्ष एउटा मतलाई फाइदा पुग्ने अभिव्यक्ति दिने गरेकी छन्। जब महाराष्ट्रमा शिव सेना र कंग्रेसको सरकारले उनका खिलाफ कारबाही शुरू गरे, उनले त्यसलाई ‘जिहाद’ जसरी व्याख्या गरिन्। प्रगतिशील विचार राख्ने कलाकारहरूलाई सार्वजनिक रूपमा हमला गर्न उनी पछि पर्दिनन्।
छपाकको समयमा जब दीपिका जेएनयू पुगिन्, पहिलो हमला उनैले गरिन्। सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणले बलिउडमा ड्रग्स उपभोगको संस्कृतिमाथि बहस शुरू गर्दा आफैं विज्ञ जसरी पूरै बलिउडलाई बदनाम गराउन कंगना अघि सरिन्। दीपिका पादुकोण, सोहा अली खान लगायत कलाकारलाई त्यस वेला मुम्बईको नार्कोटिक्स विभागले सोधपुछका लागि बोलायो।
१६ अक्टोबरमा द हिन्दूमा लेख लेख्दै कंग्रेस नेता एवं लेखक शशी थरुरले ‘बलिउड विरुद्ध युद्ध शुरू गरिएको भन्दै यसको बचाउमा उभिनुपर्ने’ मत जाहेर गरे। उनी लगायत थुप्रै विद्वान्ले बलिउडको तटस्थ छवि जोगाउनुपर्ने बताउँदै आएका छन्। मोदी सरकारले आफ्नो पक्षमा खडा हुने कलाकारलाई लगातार पुरस्कृत गर्दै आएको छ। बीजेपीले अनुपम खेर, प्रसून जोशी जस्ता कलाकारलाई सेन्सर बोर्ड प्रमुख बनायो भने कंगना, अजय, अक्षयलाई पद्मश्री र राष्ट्रिय पुरस्कार दिलायो।
कुनै एक वर्ग जतिसुकै ठूलो बहुमतमा भए पनि अल्पमतलाई अन्याय भयो भने समाज शान्त रहन सक्दैन। तर, अन्याय भयो भने हल्ला त हुन्छ हुन्छ। यसैले सबैको पहिचान र आकाङ्क्षा सम्बोधन गर्ने लोकतान्त्रिक सरकार सभ्य र शान्त समाजका लागि अपरिहार्य छ। यस्तो समाज निर्माणका लागि कला उद्योग, चलचित्र माध्यम र कलाकार स्वयंको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। यसलाई कलाकारहरूले बेवास्ता गर्ने हो भने त्यसले निम्त्याउने अति ध्रुवीकरणको मूल्य समाजले चुकाउनुपर्ने हुन्छ।
हामीलाई किन खसखस?
प्रश्न आउला- भारतमा जेसुकै होस्, हामीलाई किन खसखस? यसका मुख्य दुई कारण छन्। एक, हामी बलिउड फिल्म र संस्कृतिको निकै ठूलो उपभोक्ता हौं। यसको अर्थ हामी यसले प्रवाह गर्ने सन्देश, दिने प्रभावबाट मुक्त छैनौं। हाम्रो सोच र चेतलाई नजानिंदो तरीकाले बलिउडका उत्पादनले प्रभावित पार्ने गरेका छन्।
दोस्रो, हामी विचार र राजनीतिमा पनि भारतबाट अछुतो छैनौं। हाम्रा नदीनाला बग्दै भारत प्रवेश गर्छन्, तर सिनेमा, साहित्य र पत्रकारिता जस्ता ‘सफ्ट पावर’ मा भने जलधारा माछा जसरी दक्षिणबाट हाम्रातिर पौडिँदै आउने गरेको पाइन्छ। हाम्रा राजनीतिक दलहरू दक्षिणी वायुको बहावमा उड्ने गरेको हामीले पटक पटक देखेका छौं। यस कारण पनि ‘धर्मनिरपेक्ष’ भारतको सबभन्दा ‘निरपेक्ष’ मानिने फिल्म उद्योगमा देखिने विचलनले हामीलाई प्रभावित पार्छ।
संविधानसभाबाट बनेको संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्रका रूपमा परिभाषित गरेको छ। यसको अर्थ हो- नेपाल राज्यले कुनै एक धर्मलाई विशेष व्यवहार नगरी, सबैलाई समान व्यवहार गर्नेछ। राजनीतिक रूपमा धर्मबाट राज्यलाई अलग गर्ने प्रयास गरिए पनि सांस्कृतिक रूपमा नेपाली सत्ता हिन्दू धर्मबाट अलग भएको छैन।
नेपाली फिल्मले कुनै जाति र समुदायप्रति विगतमा हेय दृष्टि राखे पनि, हास्यव्यङ्ग्यका नाममा बोली, भाषा र वेशभूषाप्रति खिसिट्युरी गरे पनि त्यो धार्मिक रूपमा विद्वेष फैलाउने किसिमले आएको देखिँदैन। तर, देशमा चुनावको आगमनसँगै भइरहेको धर्मका नामको धु्रवीकरणले यसलाई असर नगर्ला भन्न सकिँदैन।
त्यस कारण पनि कला, साहित्य र सिनेजगत्ले यसबारे राम्ररी विचार गर्नुपर्ने देखिन्छ। कतै धर्मका नाममा, कतै परम्पराका नाममा एउटा विचारलाई मात्रै हाबी गराउने, अग्रगमनलाई अवरोध गर्ने र जनआन्दोलनले च्यापुमा समाएर मिल्काएकालाई स्थापित गर्ने सुषुप्त चाहनामा कलाजगत्लाई प्रयोग गर्ने प्रयास हुनेछ। बलिउडमा फैलिएको अतिवादको विष यता पनि घोल्ने प्रयास हुन सक्छ।
नदीमा कसैले विष मिसायो भने त्यो पानीले सबैलाई असर गर्छ। समाज पनि यस्तै हो। जसरी कोरोना महामारीले मानिसबीच भेद नगरी सबैलाई त्राहिमाम् बनायो, त्यसै गरी अतिवाद र धर्मान्धताले समाजलाई गाँज्नेछ। बुझ्नुपर्ने कुरा के हो भने कुनै एउटा धर्म वा जाति-समुदाय जतिसुकै ठूलो बहुमतमा भए पनि समाजको शान्तिका लागि अल्पसङ्ख्यकको आवाज सुनिनै पर्छ।
समाजलाई अशान्त बनाउन सानो समूह नै काफी हुन्छ। यो कुरा वरपरको विश्वतिर आँखा डुलाउनेले थाहा पाइहाल्छ। ‘हेटेरोजिनियस’ समाज जहिले पनि त्यो खतरामाथि उभिइरहेको हुन्छ। यो सन्तुलनलाई कायम राख्न फिल्मले आफ्ना दर्शकलाई सन्देश दिन सक्छ।
(यज्ञश पत्रकार र लेखक हुन्। हिमालको २०७८ पुस अंकबाट। *अनलाइनमा थपिएको।)