प्रदेश २ : पाँच महीनामा ७.६ प्रतिशत बजेट खर्च
प्रदेश २ मा चालू आर्थिक वर्ष २०७८/७९ का लागि रु.३४ अर्ब १० करोड १८ लाख बराबरको बजेट विनियोजन गरिएको छ।
जसमध्ये, पहिलो पाँच महीनामा ७.६ प्रतिशत अर्थात् रु.२ अर्ब ६० करोड ५१ लाख मात्रै खर्च भएको छ। यसमा रु.१ अर्ब ७९ करोड ७८ लाख चालू खर्च भएको छ भने ८० करोड ७३ लाख पूँजीगत खर्च भएको छ।
प्रदेश २ नीति आयोगका पूर्व उपाध्यक्ष डा. हरिवंश झाले विकास खर्च गर्न सरकारको नियत नै सही नभएको बताए। “हरेक वर्ष असार मसान्तमा मात्रै खर्च गर्ने गलत प्रवृत्ति छ,” उनले भने, “यसले भ्रष्टाचार बढाउने र काम पनि गुणस्तरको हुँदैन।” भएको स्रोत समेत समयमै खर्च गर्न नसक्नु सरकारको अक्षमता भएको झाको भनाइ छ।
नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बजेट खर्च विशुद्ध राजनीतिक प्रतिबद्धतासँग जोडिएको विषय भएको बताए। उनले धेरै बजेट भौतिक पूर्वाधारको क्षेत्रलाई छुट्याइएको बताए। उनले भने, “सबै विकासे मन्त्रालय कांग्रेससँग छन्, महाधिवेशनमा मन्त्रीहरू उतै व्यस्त भएकाले खर्च हुन सकेन।” उनले अब खर्च गर्ने शैलीमा सुधार गरेर अगाडि बढ्ने वेला आएको बताए।
सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले कर्मचारी अभावका कारण बजेट खर्चमा समस्या देखिएको बताए। “सार्वजनिक खरीद ऐनमा पनि केही जटिल प्रावधान छन्,” उनले भने, “समस्या भए पनि यही स्रोत र जनशक्तिमा हामी सक्दो खर्च गर्ने प्रयासमा छौं।” बजेट खर्च नभएकोमा सरकार चिन्तित रहेको बताउँदै मन्त्री साहले आउने दिनमा यसमा सुधार हुने प्रतिबद्धता जनाए।
यसअघिका वर्षमा समेत प्रदेश सरकारले कर्मचारी अभावलाई कारण देखाउँदै समयमै बजेट खर्च गर्न सकेको थिएन। जबकि आर्थिक वर्षको अन्त्यमा आफ्ना कार्यकर्तालाई योजना बाँडफाँड गरेर खर्च गर्ने परिपाटी देखिन्छ।